क्‍वारेन्टाइनमै बिरामी पर्न थाले, उपचार छैन

क्‍वारेन्टाइनमै बिरामी पर्न थाले, उपचार छैन

२२ जेष्ठ (दैलेख)
जन्डिसले थला परेपछि उपचारका लागि भारत पुगेका नारायण नगरपालिकाका ४५ वर्षीय बमबहादुर थापा उपचार नगरेरै घर फर्के । हाल जनता माविको क्वारेन्टाइनमा बसिरहेका उनलाई रोगले झन्–झन् च्यापिरहे पनि औषधी भने पाएका छैनन् ।
‘जन्डिसले पूरै शरीर पहेँलिएको छ, औषधि ल्याइदिन र उपचार गर्न जति अनुरोध गर्दा पनि कसैले सुन्दैनन्,’ उनले भने, ‘बिरामी छु, बोल्नै सक्दैन, म के गरौं ?’ क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुले पनि हेला गर्ने गरेको उनले बताए ।
नारायण नगरपालिका–२ को जनता माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइमा उनीमात्र होइन, अन्य व्यक्ति पनि विभिन्‍न स्वास्थ्य समस्या भोगिरहेका छन् । उनीहरुले औषधीमूलो भने पाएका छैनन् । थापाका अनुसार ४ जनामा झाडापखाला देखिएको छ । तीनजना व्यक्ति त बेलाबेलामा बेहोस भएर ढल्ने गरेका छन् । तैपनि कसैले चासो दिने नगरेको थापाको भनाइ छ । अर्कोतिर उनीहरुको स्वाब परीक्षणसमेत भएको छैन । विद्यालयमा गुजरातबाट आएका ८० जना व्यक्तिहरु बसिरहेका छन् ।
उनी बस्ने कोठामा अन्य २०–२५ जना बसिरहेका छन् । केही व्यक्तिले बाहिर निस्किएर मदिरा सेवन गर्ने गरेका छन् । कतिपयले बाहिरबाट पनि मगाउँछन् । यस्तो अवस्थाले गर्दा भित्र बस्नै समस्या भएको उनले बताए ।
क्वारेन्टाइनको अवस्था देखेर उनीहरु बाहिर निस्किन नखोजेका होइनन् । तर स्थानीय तहका जनप्रतिनिधिले बाहिर निस्किएमा ज्यानै मार्ने धम्की दिने गरका उनीहरुको भनाइ छ । ‘वडाध्यक्ष नै मदिराले मातेर आउँछन्, भित्रको कुरा बाहिर भनेमा बच्दैनस् भनेर धम्की दिन्छन्,’ क्वारेन्टाइनमा रहेका जगत थापाले भने, ‘यस्तो अवस्थामा कहिलेसम्म बस्ने हो, अत्यास लागिसक्यो ।’
नगर प्रमुख र उपप्रमुखलाई समस्या सुनाए पनि बेवास्ता हुने गरेको उनीहरुको भनाइ छ । क्वारेन्टाइनमा बसेको १० दिन बित्दासम्म पनि स्वाब परीक्षण भएको छैन । परीक्षणको लागि बारम्बार आग्रह गरे पनि वास्तै नगर्ने गरेका थापाले बताए । त्योभन्दा ठूलो पीडा उनीहरुले स्वाब परीक्षण नभएरै संक्रमितको जस्तो व्यवहार हुँदा भोग्ने गरेका छन् । क्वारेन्टाइनस्थलमा स्वास्थ्यकर्मी छैनन् ।
जिल्लाकै भैरवी गाउँपालिका–५ डाँडीमाडीमा रहेको क्वारेन्टाइनको अवस्था झन् बिजोग छ । त्यहाँ एउटै कोठामा २४ जनासम्म सुतिरहेका छन् । बसेको ११ दिन भए पनि स्वाब परीक्षण भएको छैन । ‘१४ दिनमा त चेकजाँच गरेर घर पठाउने भनेका थिए, अहिलेसम्म स्वाबै लगेका छैनन्,’ क्वारेन्टाइनमा बसिरहेका सन्तोष शाहीले भने, ‘यस्तै बसाइँले घर जाँदासम्म झन् बिरामी परिएला जस्तो भइसक्यो, घर कसरी जाने हो ?’ कान्तिपुरबाट

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •