सीमामा खाना बाँड्न गएपछि खुला चौरमा बास

सीमामा खाना बाँड्न गएपछि खुला चौरमा बास

१५ जेठ (धनगढी)
उनी घर पुग्दा गेट र मुल ढोकाभित्रबाट चुक्कुल लागिसकेको थियो । राति अबेर भएपनि कुरेर बस्ने उनकी आमा त्यस दिन भने चाँडै सुतिसकेकी थिइन् । उनले बल गरेर ढोका ढक्ढक्याएपछि मात्रै आमाले ढोका खोलिन् । तर ढिलो भएको दिन किन ढिलो आइस् बाबु भनेर केरकार गर्ने प्यारी आमाले त्यस दिन छोरालाई एक शब्द पनि सोधपुछ गरिनन् ।
अफिसको नियमितबाहेक त्यस दिन बेग्लै काममा खटिनु पर्दा उनी थकानले लखतरान भएका थिए । थकित शरिरलाई घर पुगेर मस्तले आराम दिने मुडमा अफिसदेखि घर पुग्दासम्मको बाटो कटेको विनय शाहले पत्तै पाएनन् ।


छाेरालाइ खाना खाएनखाएको केही सोधपुछ नगिरकनै आमा ढोका खोलेर सिधै आफ्नो कोठमा पसिन् । मध्यरात भइसकेकाले विनयलाइ पनि भोकभन्दा निन्द्रा प्यारो थियो । त्यसैले आमा नबोलेकोमा विनयले त्यति ख्याल गरेनन् । सिधैं आफ्नो कोठाभित्र पसे । ओछ्यानमा पल्टने बित्तिकै उनी भुसुक्कै निदाए ।
राति अबेर सुत्ने र विहान अलि ढिलो उठ्ने विनयको आदत हो । तर दोस्रो विहानको रुटिङ भने चेन्ज भयो । मध्यरातमा सुतेपनि विहान झिसमिसेमै निन्द्रा ब्यूझ्यो । सायद हिजोको जस्तै कामको चिन्ता थियो विनयको मनमा । उनका अन्य सहकर्मीलाई पनि त्यसै भयो । ३५ जनाको निन्द्रा पनि विहानै झिसमिसेमै खुल्यो । अघिल्लाे दिन उनीहरुले मास्क ग्लाेव्स लगायत स्वास्थ्य सामग्री बाँडेर अभियान सुरु गरेका थिए ।


विनय अलि चाँडो उठेकाले छिटै फ्रेस भए । आमासँग कुरा गरेर निस्कने विचार गरेका थिए उनले । तर कुनै वास्ता नगरेपछि उनले आमालाई सोधे, ‘मुवा हजुरलाई सञ्चो छैन र ? ।’ उताबाट आमाले झर्किदै भनिन्, ‘किन चाहियो तँलाई ?, हिजो दिनभर कता गएको थिइस् तँ ?, यस्तो बेला भन्सारमा गएर इण्डियाबाट आएकाहरुलाई खाना बाँड्दै खुब सेवा गर्ने भएछस् । तँलाई आफु र आमाबाबुको ज्यानको माया छैन हँ ? ।’
छोरो इन्जिनियर । उसले कलिलै उमेरमा विश्वका धेरै देश घुमेर राष्ट्रिय अन्तराष्ट्रिय परिवेश बुझेको, देश विदेशको ज्ञान बटुलेकोमा गर्व गर्ने मम्मी त्यस दिन भने अनौठो पारामा झोक्किएकी थिइन् । छोराले कोरोनाको यस्तो कहर भएका बेला सीमामा पुगेर हजारौंलाई खाना र पानी बा“ड्दै गरेको भिडियो फेसबुकमा हेरेर थाहा पाएपछि सायद उनलाई थामि नसक्नु रिस उठेको थियो । धनगढीका विनय शाहलाई उनकी आमाले भनिन्, ‘आजदेखि घर नआउनु । १४ दिनसम्म अन्तै एकान्त बस्नु ।’ विनयले बल्ल कुरो बुझे । उनी चुपचाप टाउको हल्लाएर अघिल्लो दिनको जस्तै काममा हिँहे ।


विनय शाहलगायत पैतिस जना युवाको समूह पाँच दिनअघि देखि धनगढीको गौरिफन्टा सीमा नाकाबाट नेपाल भित्रिने दाजुभाइहरुलाई खाना र पानी उपलब्ध गराउने काममा खटिएको छ ।
भारतमा अप्ठेरामो परेर नेपाल आउन चाहने नेपालीहरुलाई सरकारले भित्रिन दिने निर्णय गर्यो । जेठ २ गतेदेखि उनीहरुलाई गौरिफन्टा सीमा नाकाबाट आउन दिइयो । सुरुकै दिनदेखि हजारौको संख्यामा नेपालीहरु दैनिक रुपमा नेपाल भित्रिन थाले ।


उनीहरु भित्रिदै गर्दा कोरोना महामारीमा संक्रमण सर्ने जोखिम त छदैथियो, त्यो भन्दा बढ्दा दर्दनाक उनीहरुले भोग्नु परेको भोकप्यासको कहर कारुणिक थियो । बालादेखि बृद्धसम्म हजारौंको संख्यामा सीमा क्षेत्रमा पुगेका नेपाली दाजुभाईहरुको चीत्कार देखेर विनयलगायत धनगढीका केही युवाहरुको मन छोयो । उनीहरुको मनमा कैलाली कञ्चनपुरका सीमामा पुगेर भारतबाट आउने नेपालीहरुलाई खाना र पानी सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।


मनले सोचेर मात्रै हुने अवस्था थिएन । दैनिक हजारौको संख्यामा आउनेहरुलाई खाना र पानी दिन ठूलै खर्चको जोहो गर्नुपर्ने आवश्यकता थियो । जुन उनीहरुको आफ्नै बुताले सम्भव थिएन ।
विनयलगायत धनगढीका पढेलेखेका चल्ताफुर्ता केही युवाहरुको समूह अलि अगाडीदेखि नै स्वम्सेवामा खटिदै आएको हो । खासगरि विपदका बेला उनी विपन्नको सेवामा खटिदै आएका हुन् । यस बेला भने मनले चाहेर मात्र सम्भव थिएन् । त्यसैले उनीहरुले एउटा जुक्ति निकाले । समस्या र समाधानको उपायबारे प्रदेश सरकारसमक्ष अनुरोध गर्ने उनीहरुले विचार गरे ।
धनगढीमा सुदूरपश्चिम फाउण्डेशन स्थापना गरेर स्थापित युवाहरुको समूह गोलबन्द भएर सामाजिक कार्य गर्दै आएका युवाहरुको समूहले दोस्रो दिन विहानै मुख्यमन्त्रीसमक्ष सीमामा भोकभोकै रहेकाहरुलाई खाना र पानी उपलब्ध गराउन प्रस्ताव ग¥यो । त्यसको व्यवस्थापनमा आफुहरुले सघाउन तयार रहेको उनीहरुको प्रस्तावलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर्ष स्वीकार गरे र काम सुरु गर्न भने । ‘मुख्यमन्त्रीज्युले लौ हुन्छ, गर्नुस् सरकारले आवश्यक सहयोग गर्छ भनेपछि हामी व्यवस्थापनमा अघि बढ्यौं,’ विनयले भने, ‘सुदूरपश्चिम फाउण्डेसनले सम्पूर्ण ध्यान सीमामा आइपुग्ने नेपालीहरुलाई शुद्ध खाना र पानी उपलब्ध गराउने योजनामा ध्यान केन्द्रित ग¥यो ।’ प्रदेश सरकारले धनगढीमा सुदूरपश्चिम फाउण्डेशन र कञ्चनपुरमा जिल्ला प्रशासनमार्फत खाना र पानी उपलब्ध गराउने योजना कार्यान्वयन गर्ने निर्णय ग¥यो ।
भरत शाहको नेतृत्वमा स्थापित युवाहरु मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद, स्वम्सेवी युवाहरु जगत कुँवर, मनोज राई, किशोर शाह, चिरञ्जीवी शाह लगायतका ३५ जना युवाहरुको समूह यतिबेला नेपाल भित्रिने नेपालीहरुलाई शुद्ध खाना र पानी उपलब्ध गराउने काममा खटिएको छ । पाँच दिनमा सात हजार बढीको संख्यालाई गौरिफन्टा सीमा नाकामै पुगेर खाना र पानी उपलब्ध गराएको फाउण्डेशनका अध्यक्ष भरत शाह बताउँछन् ।


कभर्ड हलमा उनीहरुले खाना बनाउने मेस चलाएका छन् । दैनिक हजारौलाई पुग्ने गरि उनीहरु पुलाउ प्रकारको स्वादिष्ट खाना तयार गर्छन् । प्याकिङ गर्छन् र सीमामा पुगेर वितरण गर्छन् ।
भारतका विभिन्न सहरबाट आउनेहरुको लस्कर फोटो र भिडियोमा देखेर कोठाभित्रै बसेकाहरु पनि थर्थरी काप्ने अवस्थामा उनीहरुको समीपमै पुगेर खाना र पानी बाँड्दा फाउण्डेशनका युवाहरुलाई डर नलाग्ने होइन् । तर डर भन्दा बढि सन्तुष्टि मिलिरहेको फाउण्डेशनका अध्यक्ष शाह बताउँउछन् । ‘म डेरामा बस्छु । घरबेटीले मलाई सीमामा खाना बाँड्दै गरेको देखेर घरमा नआउनु भनेका छन्’ शाहले भने, ‘घरबेटी मात्रै हैन, आफ्नै परिवारले पनि त्यति चित्त बुझाएका छैनन् ।’
त्यही भएर उनीहरु कभर्ड हलको खुला चौरमा टेन्ट हालेर बस्न थालेका छन् । उनीहरुलाई यो अभियान नसिकदासम्म घर जाने अवस्था छैन । त्यै पनि उनीहरु कसैलाई पनि चित्त दुखाई र मनमा कोरोना भाइरसको डर छैन । ‘हामीले स्वास्थ्य सुरक्षाका उपायहरु अपनायका छौं । त्यसैले डर भन्दा बढ्ता अप्ठेरोमा परेकाहरुलाई प्रदेश सरकारको सहयोगमा हामीले योगदान गर्न पाएकोमा खुसी लागेको छ,’ अध्यक्ष भरत शाहले भने, ‘केही दिन हामी खुला चाैरमा बस्नु पर्दाकाे कठिनाइ भन्दा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने अवसर हामीलाई दिएकोमा प्रदेश सरकाप्रति धन्यवाद ।’

Share This
  • 270
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    270
    Shares