उनी भक्कानिइन्, जब मनकारीहरु सहयाेग सामग्री बाेकेर घरमै पुगे

उनी भक्कानिइन्, जब मनकारीहरु सहयाेग सामग्री बाेकेर घरमै पुगे

१ जेठ, (धनगढी)
घर भित्रबाट काकीले उनकाे ह्ववील चेयर धकेल्दै आँगनमा पुर्याइन् । कलकलाउँदाे ज्युडाल, २२ बर्षकाे उमेर । तर विडम्बना उनी ह्ववील चेयरकाे सहाराबिना भित्रबाहिर पनि गर्न सक्दिनन् । तीन बर्षअघि उनी घाँस काट्न रुखमा चढेका बेला रुखबाट खसिन् । त्यहीबेला उनकाे ढाडमा गहिराे चाेट लाग्याे । अहिले उनकाे कम्मरभन्दा मूनिकाे भाग चल्दैन् । भाइ बहिना र आमा छैनन् उनका । छाेरीकाे घटना भएकाे केही महिनामै आमालाइ गाेरुले हानेर घाइते बनायाे । त्यही चाेटले उनकाे निधन भयाे । ७० बर्ष उमेरका उनका बुवा विरक्तिएर भारत गएका छन् । पुर्ण अशक्त उनै टीकाकुमारी पुरीलाइ सहयाेग सामग्री लिएर सुदूरपश्चिम फाउण्डेशनका अध्यक्षसहितकाे समूह टीकाकाे आँगनमा पुग्दा उनी भक्कानिइन् । वेसहाराले सहारा पाएकाे अनुभूति भयाे सायद उनलाइ । फुलबारी घर भई हाल गौरीगंगा नगरपालिकामा बस्दै आएकी पूर्ण अशक्त २२ वर्षीया टीकाकुमारी पुरीलाई चामल, तेल, नुनलगायत खाद्य सामग्री सहयोग गरिएको हाे ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी काठमाडौँ निवासी सिञ्जा रावत, सुदूरपश्चिम फाउण्डेसन र नेपाल पारा ओलम्पीक कमिटी सुदूरपश्चिमको आर्थिक सहयोगमा बिहीबार एक क्वीन्टल चामल, १० किलो दाल, ३० प्याकेट नुन, २० प्याकेट तेल, नुहाउने र लुगा धुने साबुन २०(२० प्याकेट तथा ४० प्याकेट कपडा धुने सोडा सहयोग गरिएको सुदूरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहले हस्तान्तरण गरेका हुन् । पूर्ण अशक्त टीकालाइ सानाेतिनाे सहयाेग गर्न पाएकाेमा खुसी लागेकाे अध्यक्ष शाहले बताए ।
तीन बर्षअघि रुखबाट लडेर ढाड भाँचिदा स्नातक तहमा अध्ययनरत पुरी पूर्ण रुपमा अशक्त छिन् । हाल गौरीगंगा नगरपालिकाको मंगलपुरस्थित आफ्ना काकाको घरमा बस्दै आएकी उनलाई बिहीबार घरमै पुगेर फाउण्डेशनका अध्यक्ष भरत शाह र किशोर शाहले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
लकडाउनले समस्या भएका बेला प्राप्त खाद्यान्नले केही राहत पुग्ने उनले बताइन् । शारीरिक रुपमा पूर्ण अशक्त पुरीलाई यसअघि पनि दिसापिसाबमा सहयोग पुग्ने तथा व्यक्तिगत सरसफाइमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल पाराओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वाँरले बताए ।
२०७४ बैशाखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको ढाड भाँचिएको थियो । उनकी आमा, बुवा भारतमा मजदुरी गर्छन । ‘बैशाखमा मेरो घटना भयो, त्यही असोजमा गोरुले हानेर आमा बित्नु भो ।’ टीकाले भनिन्, ‘भएको जग्गाजमिन उपचारमा सकियो, मेरै लागि ७० वर्षको बुवा भारतमा मजदुरी गर्दै हुनुहुन्छ ।’
परिवारमा अरु कोही नभएपछि काकाको घरमा आश्रय लिएर बसिरहेको उनले बताइन् । कम्मरको नशा भाँचिएकाले उनको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनी ह्वील चियरको सहारामा हिँड्डुल गर्छिन् । ‘हातले काम गर्नसक्छु, बसेर हातले गर्ने काम गर्ने काम पाइए आत्मनिर्भर बन्न सक्थेँ ’ उनले भनिन् ।

Share This
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares