जो जीवनभर आइसोलेटेड छन् !

जो जीवनभर आइसोलेटेड छन् !

सुरबहादुर परियार

लकडाउन, आइसोलेसन, क्वारेन्टीन । एक्काइसौ शताब्दीमा आएको कोरोना भाइरसको विश्वव्यापी महामारीले जनजिब्रोमा झुण्ड्याई दिएका शब्द हुन् यी । आइसोलेनकाे अर्थले सामाजिक दुरी कायम गर, अलग्गै बस भनिरहेकाे छ। किन कि सबैलाई कोरोनाको त्रास छ, त्यसैले उनीहरु परिवारमै पनि भन्दैछन्, ‘नजिक नआऊ, अलि टाढै बस है ।’
झण्डै महिना दिन पुग्नै लाग्दा आइसोलेसनमा बस्नु पर्दाको पीडा धेरैले बुझ्दै छन् । सामाजिक दुरी कायम गर्नुपर्दाको अप्ठेरो बल्ल महसुस गर्दैछन् । तर यस्तै अप्ठेरो मान्नेहरुले कहिल्यै सोचेनन् सायद, जसले जन्मेदेखि मृत्युपर्यन्त पनि आइसोलेटेड भएर बस्नु पर्यो ।
मलाई सानै उमेरदेखि मेरा आमाबाबाले छिमेकीको घर जान कहिल्यै प्रोत्साहन गर्नु भएन । जब म हुर्किदै गए, अलिअलि कुरा बुझ्ने उमेरमा पुगेँ, अनि मैले थाहा पाए म त तथाकथित दलित भएकोले मेरा बाबाआमाले मलाई सामाजिक दुरी र आइसोलेसनमा राख्नु भएको रहेछ ।
मेरा बाबाआमालाई पनि म जसरी आइसोलेसन र सामाजिक दुरी बनाउने रहर थियो होला तर बाबाआमाका लागि बाध्यताका पहाड भएर होला । गाउँघरमा भनिन्छ नि ‘ज्युदाका जन्ती मर्दाका मलामी’, तर दुर्भाग्य हामीले यो अवसर कहिल्यै पाएनौं ।
मलाई लाग्थो जातिय विभेद पढे लेखेहरुले गर्दैन् । तर पढेरलेखेर मात्र जातिय विभेद घट्ने रहेन छ । मानिसको सोच र व्यवहारमा रुपान्तरण हुन जरुरी त्यो बेला थाहा पाए जब शिक्षामा विएफ स्कीनरको भनाई पढन् थाले । शिक्षा भनेको व्यक्तिको व्यवहारमा आउने परिवर्तन हो । तर मलाई पढाउने गुरु अंग्रजी शिक्षामा एमए पढेका भए पनि उनले जातिय विभेदमा असहजता प्रकट गरे ।
कक्षा ११ मा एक दिन म टिउसन पढ्न मेरो शिक्षकको घरमा गएँ । मेरा गुरुले गैर दलित विद्यार्थीलाई घरको पुजा कोठामा टियुसन पढाई रहनु भएको थियो । जव म पनि पुगेँ, उहाँले हामी सबैलाई घरको छतमा लिएर जानु भयो । पुजा कोठामा ढुगाको देबि रिसाउने मेरो गुरुलाई पिरोलेको रहेछ । त्यसैले उहाँले घरको छतमा पढाउनु भयो । तर म जिउँदो चेलाको आत्मा कति दुख्यो होला मेरा गुरुलाई कतै महसुस गर्नु भएन ।
त्यसपछि मैले टिउसन पढन छोडे । साच्चिकै त्यो वर्ष माता सरसंग रिसाउनु भएको रहेछ । उहाँले टिउसन र कक्षमा पढाएका ८० जना विद्यार्थीहरु सबै फेल भए, तर म लगायत ६ जना मात्र पास भयौं ।
त्यो घटनाबाट मैले मेरा बाबाआमाले किन मलाई सामाजिक दुरी बढाउनु भएको रहेछ भन्ने थाहा पाएँ । त्यो दिन मैले आइसोलेसनको वास्तविक अर्थ थाहा पाएँ । म सामाजिक दुरी घटाउन खोज्थे, तर सबै भन्दा अगाडी जातिय विभेदको पर्खाल आउथ्यो । त्यसैले सार्वजनिक जीवन बाहेक कहिले पनि सामाजिक दुरी घटाउन सकिएन । सामाजमा बसेर पनि आइसोलेसनमा बसेका जस्तो भएर होला कोरोना विरुद्धको सामाजिक दुरी र आइसोलेसन खासै अप्ठेरो महसुस लाग्नेको छैन । आज कोरोनाको विरुद्धको महामारीमा सामाजिक दुरी र आइसोलेसन बस्दा म पास भईसकेको अव्वल मान्छे पो रहेछु जस्तो लागिरहेको छ ।
सामाजमा एक आधा महिना आइसोलेसन र सामाजबाट दुरी कायम गर्न केही महामानवहरुलाई यतिबेला छटपटी भएकाको देख्छु । तर यो सामाजमा दलित समुदाय तीन हजार बर्षदेखी छोइछिटोसम्मको सामाजिक दुरी र आइसोलेसनमा बस्दै आएका छन् । यति लामो समय समाजबाट टाढिएर बस्नुपर्दा यस समुदायले कस्तो पीडा महसुस गर्यो होला भन्ने कुरा यही समाज जो अहिले बाध्यताले आफ्नै परिवारसंग पनि टाढिएका छन्, उनीहरुले कहिल्यै सोचेनन् सायद । जातिय विभेदले सामाजमा कति अग्लो पर्खाल खडा भएको छ भन्ने कहिल्यै ख्याल गरेनन् ।
अहिले लकडाउनको निर्देशन तोड्यो भनेर राज्यलाई चिन्ता छ । नेपालले ३९ वटा मानवअधिकार सम्बन्धी कानून र जातिय विभेद विरुद्धको संवैधानिक तथा कानूनी व्यवस्था कहिले कार्यान्वयन गर्ला ? । ०६३ सालमा जातिय छुवाछुत मुक्त घोषणाको कार्यान्वयन कहिले होला ? ०६८ सालमा जातिय विभेद तथा छुवाछुत कसुर सजाय ऐन ०६८ र मुलुकी फौजदारी संहिता ०७४ मा जातिय विभेद विरुद्धको कानूनी व्यवस्था छ । तर कार्यान्वन कहिले हुन्छ दलितका लागि ?
शासन सत्तामा बसेकाहरुले आफ्ना परिवारलाई फाइदा हुने सति प्रथा र दुउकी प्रथा उपल्लो जातिय कहलाउनेहरुले आफ्ना लागि उहिल्यै उन्मुलन गरे, तर जातिय विभेदको अन्त्यका कुरा गर्नमै ठिक्क छ । बरु सामाजमा चेतनाले विस्तारै जातिय विभेद अन्त्य हुन्छ भनि कुतर्क गर्नेहरु धेरै छन् । तर देउकी र सती प्रथा अन्त्य घोषण हुँदा नेपालमा साक्षरता १० प्रतिसत भन्दा कम थियो । कसरी सम्भव भयो त्यो बेला सती प्रथा र देउकी प्रथा अन्त्य समाजबाट ?
त्यसको मुल कारण शासकहरुको प्रतिवद्धता नै हो । नेपालमा जातपातका आधारमा नीचउचको भावना अन्त्य ०२० मुलुकी ऐन हँदै हालसम्म संविधान र कानूनले निषेध गरेको छ । तर पनि सामाजमा दलितलाई जातिय विभेद र आइसोलेसनमा पार्ने काम हुँदा शासनसत्तामा रहेकाहरु मुक्त दर्शक भएर बसेका छन । डा. भीमराव आम्वेडकरले भन्नु भएको छ, व्यवस्था जति सुकै खराव भए पनि तर शासन गर्ने मान्छे अशल छन् भने त्यो व्यवस्था राम्रो हुन्छ । तर व्यवस्था अशल तर शासन गर्ने खराव छन् भने जनतालाई खराब नै हुन्छ ।
एक आधा महिना लकडाउन हुँदा सरकारबाट राहत माग्नु परेको छ तर दलितलाई तीन हजार बर्षदेखि सामाजबाट अलग्याएकाहरुलाई आरक्षण दिने कुराको पनि बिरोध हुन्छ । सरकारी सेवामा प्रवेश तथा राज्यका निकायमा पुगेको कसैले विरोध गर्दैनन् । तर दलितले प्रयोग गरेको १३ प्रतिशत आरक्षणमा सबैले सवैको आँखा पर्छ ।
राज्यका न्यायिक निकायमा दुई चार जातको उपस्थिती सतप्रतिसत छ । तर उनीहरु नै अहिलेको सामावेशीको घोर विरोधी छन् । छाउपडी कुप्रथाका विरुद्धमा सिंगो सामाज र देशका सबै तह र तप्का मिलेर गाउँगाउँमा अभियान पुर्याएको देखिन्छ । तर जब जातिय विभेद मानवता विरुद्धको अपराधको अन्त्यको कुरा आउँछ, तब समाज विभाजनको कुरा अगाडी तेस्र्याइन्छ । ठुलावडा भनाउँदाले अर्ति दिन थाल्छन् सामाज भाड्नु हुन्न भनेर । किनकी जातिय विभेद विरुद्धमा हाम्रो आवाज डगमगाउँछ । अनेक प्रकारले जातिय विभेद विरुद्धका व्यवहारिक स्वरहरु दवाउने प्रयास सुरु हुन्छ । त्यसैले आज पनि जातिय विभेद अंहकार बाँकी रहेका बेला अहिलेको आइसोलेसन त के आइसोलेसन ! परियार नेपाल सरकार कानुन सेवाका शाखा अधिकृत हुन्

Share This
  • 399
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    399
    Shares