पहिलो खेप स्वास्थ्य सामग्री आइपुग्यो

पहिलो खेप स्वास्थ्य सामग्री आइपुग्यो

१७ चैत (धनगढी)
सरकारले चीनबाट ल्याएको विभिन्न स्वास्थ्य उपकरण तथा सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका लागि पहिलो खेप सोमबार धनगढी आइपुगेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ती सामग्री धनगढीको गेटा विमानस्थलमा ल्याइएको हो । ती सामग्री कोरोना भाइरस संक्रमण रोकथामका लागि हो ।
सुदूपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशका ९ वटै जिल्लाको आवश्यकतालाई मध्यनजर गरी पहिलो खेपमा सामग्री आइपुगेको बताए । ‘अहिले प्राप्त भएका स्वास्थ्य सामग्रीहरु कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ‘थप सामग्री छिटै आपूर्ति हुने स्वास्थ्य सेवा विभागबाट आश्वासन प्रप्त भएको छ,’ उनले भने।
डा. अवस्थीका अनुसार सोमबार प्राप्त भएका स्वास्थ्य सामग्रीहरुमा गाउन, एन ९५ मास्क, सर्जिकल मास्क, थर्मो्मिटर र ग्लब्स छन्। ‘प्रदेशका सबै स्थानीय तहलाई पुग्नेगरी १ सय थर्मो्मिटर माग गरेका थियौं,’ डा. अवस्थीले भने, ‘१० वटा मात्र आयो, त्यस्तै गाउन १ हजार ३० थान, एन ९५ मास्क ९ सय ६० थान, ग्लब्स २० हजार थान र सर्जिकलमास्क १० हजार थान रहेको छ।’
डा. अवस्थीले प्रदेश सरकारले पनि आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री खरिद गर्ने तयारी गरिरहेको बताए। उनले कोरोना भाइरस संक्रमणको शंका रहेकाहरुको स्वाब परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पिसिआर मेसिन खरिद प्रकृया सुरु भएको जानकारी दिए। ‘यस्तै चीनबाट आएका ४ वटा पिसिआर मेसिनमध्ये एउटा सुदूरपश्चिम प्रदेशलाई उपलव्ध गराइने स्वास्थ्य सेवा विभागबाट आश्वासन दिइएको छ,’ डा. अवस्थीले भने । ती सामग्रीहरु बुधबारदेखि सुदूरपश्चिमका ९ वटै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने तयारी सुरु भएको डा. अवस्थीले जानकारी दिए।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares