काठमाण्डौंमा एकजनामा कोरोना भेटिएको पुष्टि

काठमाण्डौंमा एकजनामा कोरोना भेटिएको पुष्टि

१० चैत (काठमाण्डौं)
काठमाण्डौंमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएका ती युवतीको टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको देवकोटाले बताए ।
उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन् । तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी टेकु अस्पताल आएकी थिइन् । संक्रमित युवतीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको उनले जानकारी दिए । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएको छ । फ्रान्समा अध्ययनका लागि गएकी १९ वर्षकी ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
उनी चैत ४ गते कतारबाट नेपाल आएकी थिइन् । यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री ढकाल तथा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले तत्कालका लागि अस्पतालका सबै सेवाहरु कोरोना भाइरसविरुद्ध केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । नियमित फलोअपमा नआउँदा असर नपर्ने बिरामीहरुलाई तत्काल अस्पताल नआउन मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै नियमित शल्यक्रिया पनि स्थगित भएका छन् । यस्तै देशभरका ५० भन्दा बढी शैय्याका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares