‘धम्की आरोप भ्रामक’– सचिवालय

‘धम्की आरोप भ्रामक’– सचिवालय

९ चैत (धनगढी)
फागुन अन्तिम साता नै सरुवा भएर हिँड्ने तरखरमा रहेका सुदूरपश्चिमकाे उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपककुमार खरालद्धारा मन्त्रीले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्ने आरोप भ्रामक रहेको दावी गर्दै मन्त्री माया भट्टको स्वकीय सचिवालयले खण्डन गरेको छ ।
सचिव खरालले मन्त्रीबाट आफुलाई ज्यान मार्ने धम्की आएको दावी गर्दै प्रमुख सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा माग गरेको कुरा शनिबार सार्वजनिक गरेका थिए ।
मन्त्री भट्टको स्वकीय सचिवालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सचिव खरालले मन्त्री भट्टमाथि लगाएको आरोप निराधार र झुटो भएको बताएको हो । चालु आर्थिक बर्षको अन्तिम चौमासिक सुरु भई सक्दासम्म पनि मन्त्रालयका नियमित कामहरु अलपत्र पारेर उनी लामो समय अनुपस्थित रहँदै आएको सचिवालयको भनाई छ ।
मन्त्री भट्टका स्वकीय सचिव शेरबहादुर चन्दले विज्ञप्तीमार्फत मन्त्री र मन्त्रालयका अन्य कर्मचारीकाबीचमा भएको छलफल तथा समिक्षालाई सचिव खरालले आफुमाथि ज्यानमार्ने धम्की दिएको भन्नु हास्यास्पद मात्र नभई बदनियतपूर्ण व्यवहार भएको रहेको बताएका छन् ।
मन्त्रीले पटकपटक सचिव खराललाई नियमानुसार हुने कामहरु छिटोछरितो कार्यान्वयन गर्न मौखिक निर्देशन आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस क्रममा लामो समयको विदापछि चैत ५ गते मन्त्रालयमा हाजिर भएका सचिव खरालसंग चैत ६ गते विविध विषयको समिक्षा तथा बजेट कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको सचिवालयको भनाई छ । ‘मन्त्री, सचिव खराल र मन्त्रालयकै उपसचिव जनकराज पाध्या उपस्थित बैठकमा भएका कुराकानीलाई मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्नु सरसर झुटो र भ्रमपुर्ण हो’, विज्ञप्तीमा भनिएको छ, ‘२ जना पुरुष उपस्थित भएको बैठकमा एक महिलाले पुरुषलाई ज्यान मार्ने धम्की दिने कुरा कल्पनाबाहिरको कुरा हो ।’
सचिव खराल फागुन १४ देखि चैत ४ गतेसम्म मन्त्रालयमा हाजिर थिएनन् । विगतमा पनि यसैगरि लामो समय अनुपस्थित रहने गरेकाले मन्त्रालयका नियमित कामहरुमा बाधा पुग्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वकीय सचिव चन्दका अनुसार गत ७ महिनाको अवधिमा उनी ८८ दिन मात्र मन्त्रालयमा हाजिर भएका थिए । अहिले आएर सरूवा भएको झोकमा नियोजित रुपमा मन्त्रीमाथि मिथ्या र भ्रमपूर्ण आरोप लगाइएको उनको दावी छ ।
विज्ञप्तीमा राजनीतिक नेतृत्वले स्थायी सरकारका रुपमा रहने कर्मचारी संयन्त्रको मर्यादा, सम्मान र समन्वयबिना समृद्धिको लक्ष्य प्राप्त नहुनेमा मन्त्री स्पष्ट रहेको बताइएको छ । ‘राष्ट्रसेवक कर्मचारीलाई हतोत्साह गरेर अगाडी बढ्ने कुरा हुनै सक्दैन’ विज्ञप्तीमा भनिएको छ, ‘विद्यमान ऐन कानुको अधिनमा रही कार्यक्रमहरुको छिटोछरितो कार्यान्वयन गर्नैपर्छ ।’

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares