काेराेना कहर-‘मानवताको चेत फर्काउने अवसर’

काेराेना कहर-‘मानवताको चेत फर्काउने अवसर’

भीमबहादुर खड्का

गएको केही दशक अनौठो प्रकारले गुज्रयो विश्व । खासगरि अनेक प्रकारका शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति राष्ट्रहरुले आफुलाई केन्द्रित गरिरहे । दुनियाभर हेपचेपको राजनीति चलिरह्यो । तर अकस्मात शक्ति राष्ट्रहरु मात्रै हैनन्, सम्पूर्ण मानवजातीलाई नै समयले यस्तो अनौठो मोडमा ल्याइपुर्याएको छ कि जहाँ एउटाले मात्रै लडेर पार लाग्ने अवस्था रहेन । एकलाइ अर्काेकाे सहयाेगकाे खाँचाे छ ।
यति बेला समग्र विश्व डगमगाईरहेको छ । कारोना भाइरसको आतंकले विश्वभर उत्पात मच्चाई दिएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या हजारांैमा पुगेको छ । संक्रमित हुनेको संख्या बढेको बढ्यै छ ।
यतिबेलाको महासंकट दोस्रो विश्वयुद्ध पश्चातको जस्तै रहेको भनिएको छ । परिस्थिती यति धेरै बिग्रदैछ कि विश्वबजार ध्वस्त हुने आशंका गरिदैँछ । मानिसहरुको आवतजावत बन्दप्रायः भएको छ । व्यापार, व्यवसाय, उद्योग, धन्दा ठप्पप्रायः हुन थालिसकेका छन् । स्कुल, कलेजलगायत विश्वविद्यालयहरु बन्द हुन थालेका छन् । एकपछि अर्को देशले आफ्नो मुलुकलाई लकडाउन गर्दैछन् ।
सारा संसार दुःख, कष्ट, पीडा र शोकमा डुबिरहेको छ । एकातिर मानिसहरु आफ्नै मृत्यु हुने डरले ग्रसित छन् भने अर्कोतिर आफन्तको मुत्युको पीडा र बेदनाले छटपटाईरहेका छन् । दुःख, कष्ट, पीडा र बेदनासहितको डर र त्रासले मानिस विश्वभरी सुरक्षित स्थान र उपाएको खोजी गरिरहेको छ । धन र सम्पत्तिले कोहीपनि जोगिन सक्ने अवस्था छैन, यदी उसले बाँच्ने निश्चित उपाय पालना गरेन भने । विश्वलाई एउटा परिवार मान्ने हो भने परिवारका सम्पूर्ण सदस्यहरु कुनै न कुनै रुपबाट पीडित छन् र कष्ट भोगिरहेका छन् र आतंकित छन् ।
अघिपछि कोही आफन्त वा परिवारका सदस्य विरामी परे सबैले स्याहार गर्छन् । तर कोरोनाले त्यस्तो कहर ल्यायो, जसले परिवारकै सदस्य विरामी भए नजिक गएर स्याहार गर्नुको साटो दुर भाग्नु पर्ने अवस्था आइलागेको छ । मानवजातीका लागि यो भन्दा विषम परिस्थिती अहिलेको सताव्दीमा सायदै आउला ।
विभिन्न नयाँ प्रयोग र अनुसन्धान भइरहेता पनि भाइरसको रोकथाम र नियन्त्रण गर्ने औषधी अहिलेसम्म पत्ता लागिसकेको छैन । खाली थप फैलिन नदिने उपायहरुको प्रयोग भइरहेको छ । विश्व बन्द हुने अवस्थामा छ । के धनी के गरिब सबैको दुर्दशा एउटै देखिन्छ । सर्वसाधारणदेखि उच्च ओहोदामा बस्ने मानिसहरु कसैलाई पनि यो रोगले छोडेको छैन । सबै धर्म सम्प्रदायका मानिसहरुको पीडा र कष्ट एउटै छ । सबै प्रताडित नै देखिन्छन् । तर उमेरको हिसावले उमेर ढल्केका भन्दा तुलनात्मक हिसाबले बालबच्चा र जवानहरुमा बाच्ने आशा बढी भएको हुनाले डर र त्रासको हिसाबले केही भिन्नता अवश्य होला, समग्रमा सबैको अवस्था संकटबाट जोगिने र बाँच्नका लागि उत्तम विकल्पको खोजी नै गर्नु रहेको छ । अनि, विश्वको संकट कुन हदसम्म अगाडी जान्छ भन्ने कुरामा पनि एकमत छैन । किनभने संकट चुलिदै गइरहेको छ ।
विनास, संकट, विपत्ति, पीडा र कष्टले मानव समुदायलाई भविश्यका लागि सुनौलो संसार निर्माण गर्ने अवसर प्रदान गरिरहेको हुन्छ । यस्तो परिस्थितिमा मानिसले आफु र संसारलाई नयाँ किसिमले बुझ्ने, ज्ञान प्राप्त गर्ने र मानवहीतका निम्ति केही सिर्जना गर्ने बाटो पत्ता लगाउँदछ । यति बेला विश्व मानव समुदायका लागि ठीक त्यही परिस्थिति सिर्जना भइरहेको छ ।
यस महासंकटबाट विश्वले धेरै ज्ञान र सीप सिक्ने अवसर प्राप्त गरेको छ, जुन विश्वशान्ति, भाईचारा, सुखी र समृद्ध संसार निर्माणमा प्रयोग हुन सक्दछ । आज धनी र गरिब दुबै राष्ट्रहरु महामारी र संकटको चपेटामा रहेको हुँदा दुबै खाले देशहरुले पनि एकले अर्कोलाई सम्मान गर्ने र समानहितका लागि सोच्ने ज्ञान र अवसर प्राप्त गरेको छ ।
त्यसै गरी एक अर्को धर्म संस्कृतिको सम्मान र रक्षा गर्ने र मानवहीतको लागि त्यसको प्रयोग गर्ने ज्ञान प्राप्त भइरहेको छ । असल धर्म र संस्कृति चाहे त्यो जुनसुकै देश र सम्प्रदायका मानिसहरुले अभ्यास गरिरहेका हुन, त्यसको सम्मान र प्रयोगले विश्वमा सुखर शान्ति निर्माण गर्न बाटो खोल्न विश्व मानव समुदायलाई फेरि एकचोटी सचेत बनाउन सक्दछ । यो महासंकट माथिको विजयले सुख, शान्ति र समृद्धिसहितको समानता र न्यायपूर्ण विश्व निर्माणमा योगदान पुर्याउन अवश्य सक्नु पर्दछ ।
मानिस आज कोरोनाको कारण मुत्युको मुखमा पुगिरहँदा अनि डर र त्रासले जीवन बाँचिरहँदा उसमा केही न केही जीवनको अर्थबोध अवश्य नै हुनेछ । यो संकट लम्बिदै गयो भने मानिस भित्ररहेको इगो, घमण्ड र मानिसले मानिसमाथि गरिरहेको विभेद, अनि धनी देशले गरिब देशमाथि गर्ने विभेदको पनि समीक्षा गर्न बाध्य पार्न सक्दछ । किनकी यो संकट र महामारी मानव निर्मित नभई प्राकृतिक हो । जब प्राकृतिक संकटको सामना सबैले गर्नु पर्दछ त्यहाँ सेवा, दया, करुणा र एक अर्काप्रति सम्मान र आदरभाव प्रकट हुन्छ । आज विश्व यही अवसरमा रहेको आभास भएको छ । सबैलाई सचेत हुन र एकले अर्कोलाई सहयोगको लागि विश्व मानव समुदायले याचना गरिरहेको छ ।
सावुन पानीले हातधुने, भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने लगायतका विधि र उपायले मानिस जोगिने हुनसक्छ । किनभने हालसम्म यसको पूर्ण उपचारको लागि कुनै औषधी र खोप पत्ता लागेको छैन । यतिबेला सुरक्षित हुन र यसबाट बच्न सबैले उपायको खोजी गरौ । यस्तो मानवीय संकटमा एक अर्कालाई सहयोग गरौ । मानिसलाई थपदुःख र कष्ट दिएर कालो बजारी र कालो धनआर्जन गर्ने बाटोमा नलागौं । जतिधन सम्पत्ति थुपारे पनि यो रोगले कसैलाई छोड्नेवाला देखिदैन । सरकारले यस सम्बन्धमा जारी गरेका नीति, नियम र सुझाव सल्लाहको पालन गरौ । डाक्टरको सल्लाह मानौं । आफु पनि बचौ अरुलाई पनि बचाँऊ । मानव सेवाका लागि कार्य गर्ने यो उत्तम अवसर हो । यो महासंकटको सबै मिलेर समना गरी विजय प्राप्त गरौ । न्यायर समानतामा आधारित सुखी, शान्त र समृद्ध समाजको निर्माणमा योगदान गरौ ।यो महासंकटको विश्व परिवारले एकजुट भई विजयप्राप्त गरेमा नयाँ संसारको निर्माण गर्नपनि बाटो अवश्य खुल्ने छ । सुखी– २२२ (SUKHI-222)ले परिकल्पना गरेको समाज निर्माण हुनेछ ।
लेखकः विगत डेढ दशकदेखि सामाजिक विकासको क्षेत्रमा कार्यरत हुनुहुन्छ । khadka.bhim20@gmail.com

Share This
  • 167
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    167
    Shares