प्रदेशको राजधानी र नामका लागि मतदान तयारी

प्रदेशको राजधानी र नामका लागि मतदान तयारी

४ चैत (जनकपुर)
प्रदेश सभाको पहिलो बैठक बसेको झण्डै २५ महिनापछि २ नम्बर प्रदेशको राजधानी र नामबारे मंगलवार प्रदेश सभामा मतदान हुँदैछ ।
राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नामबारे फरक–फरक धारणा छ । नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।
राजपा र समाजवादीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।
सांसद राजेश्वरप्रसाद शाह लगायतले मध्य मधेश राख्नुपर्ने बताएका छन् । सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् ।
नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुइतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।
पहिलो चरणको मतदानमा दुइतिहाई नपुगे दोस्रो चरणमा मतदान हुनेछ । प्रदेश सभाको बैठक लम्बिने भएकाले सांसदका लागि दिवा खानाको व्यवस्था सचिवालयले गरेको छ ।
सकेसम्म मंगलवारै नाम र राजधानी टुंगो लगाउने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदान हुनुअघि समाजवादी, राजपा, नेकपा र कांग्रेस छलफलमा जुटेका छन् ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares