इयरफोनले खोल्यो भेद

इयरफोनले खोल्यो भेद

४ चैत (कञ्चनुर)
उनले बाबुआमाको हत्या गरे । त्यसपछि निकै पर भीरमा पुगेर पन्जा र हँसिया मिल्काए, रगत लागेको आफ्ना लुगा घर पुगेर डढाए । बाटामा कतै चेकजाँचमा नपर्दा दम्पती हत्यामा आफ्नो संलग्नता नखुल्ने ठानेर ढुक्क भएका उनलाई घटनास्थलमा आफ्नो मोबाइलको इयरफोन छुटेको हेक्का नै थिएन ।
हत्याका घटनामा अपराधीले आफ्नो संलग्नताको कुनै न कुनै प्रमाण छाडेकै हुन्छ । त्यो पत्ता लगाए घटनाका वास्तविकता पत्ता लगाउन गाह्रो नपर्ने अपराध अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । गत फागुन १४ को रात शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा एक दम्पतीको घाँटी रेटेर हत्या भएको थियो । सूत्र भेटेपछि प्रहरीले दुई साता नबित्दै हत्यारा पत्ता लगाएको छ । अपराधीसम्म पुग्ने प्रमाण बन्यो मोबाइलको इयरफोन ।
गत फागुन १५ मा ५२ वर्षीय जयबहादुर भण्डारी र २२ वर्षीया धनादेवी घरभित्र मृत फेला परेका थिए । उनको हत्याको आरोपमा २६ वर्षीय छोरा भरत पक्राउ परेका छन् । भरतसँगै प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेको हो ।
अंशबन्डा र सम्पत्ति बाँडफाँटलगायतका कारण दुई वर्षदेखि जयबहादुर र उनका छोराहरूका बीचमा विवाद थियो । भरतकी आमाको मृत्युपछि जयबहादुरले दुई वर्षअघि ३० वर्ष कान्छी धनादेवीसँग विवाह गरेका थिए । उनले दोस्रो विवाह गरेदेखि नै परिवारमा अंशबन्डाको किचलो बढेको थियो । भरत र उनका भाइ जगदीशलाई कलुवापुरको अंश नदिने भन्दै भण्डारी दम्पतीले घरबाट निकाले । धनादेवीले पनि कलुवापुरसँगै पहाडको समेत अंश नदिने भनेर धम्क्याउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । फागुन १५ मा जयबहादुर सुत्ने कोठामा र धनादेवी भान्साकोठामा मृत फेला परे । धनादेवीको टाउकामा पनि चोट थियो । उनको घाँटीमा मोबाइलको इयरफोन पनि झुन्डिएको भेटिएको थियो । त्यही हेडफोनले प्रहरीलाई हत्यारासम्म पुर्‍याएको हो ।
प्रहरीका अनुसार डडेलधुराको अमगरगढी नगरपालिका–२ जुगेना बस्ने भरत फागुन १३ मा मोटरसाइकलको लाइसेन्स ट्रायल दिन महेन्द्रनगर आएका थिए । त्यही दिन उनी भीमदत्त नगरपालिका–१० तिल्केनीमा बहिनीको घरमा बास बसेका थिए । दोस्रो दिन ट्रायल दिएर उनी मोटरसाइकलमै घर फर्कन हिँडे । कैलालीको अत्तरिया पुगेपछि उनी फेरि कञ्चनपुरतिरै फिरे । साँझ मदिरा सेवन गरेर साढे ८ बजे कलुवापुरस्थित बुबाको घरमा पुगे । घरमा पुगेपछि सुरुमा बुबासँग कुरा गरे । बुबा सुत्न गए । त्यसपछि भान्सामा रहेकी सौतेनी आमा धनादेवीसँग कुरा हुँदा विवाद भएपछि ढुंगाले टाउकामा हिर्काए । अचेत भएपछि हँसियाले घाँटी रेटेर आमालाई मारे । त्यस क्रममा आफ्नो इयरफोन आमाको घाँटीमा अल्झिएको चाल पाएनन् । त्यसपछि सुतेकै अवस्थामा बुबालाई त्यही हँसियाले रेटेर मारे । हँसिया समात्दा उनले हातमा पन्जा लगाएका थिए । दुवैको हत्यापछि उनले पन्जा र हँसिया झोलामा हालेर राति नै घरबाट निस्किए ।
भीमदत्त राजमार्गमा पर्ने कैलालीको भासु भीरमा पुगेर पन्जा र हँसिया फालेपछि फागुन १५ को बिहान जुगेनास्थित घर पुगे । रगत लागेका कपडा जलाए । रातको समयमा रगत लागेका लुगामै मोटरसाइकलमा डडेलधुरा पुग्दासम्म पनि कहींकतै प्रहरीको जाँच र सोधपुछमा नपर्दा उनी ढुक्क थिए । झलारीदेखि डडेलधुरासम्म आधा दर्जनभन्दा बढी ठाउँमा सुरक्षा टोलीको सडकमै उपस्थिति हुने भए पनि उनीमाथि कसैको ध्यान गएन ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा लगातारको अनुसन्धान फेल हुँदै आएको प्रहरीलाई यो घटनामा हत्यारा पत्ता लगाउन ठूलो नैतिक दबाब परेको थियो । शुक्लाफाँटा नगरप्रमुख दिलबहादुर ऐरसहित स्थानीयले जिल्लाका प्रहरी प्रमुखलाई भेटेर घटनालाई गम्भीरताका साथ लिँदै छिटो हत्यारा पत्ता लगाउन माग गरेका थिए । जिल्लाले डीएसपी रवीन्द्र पौडेललाई अनुसन्धान अधिकृत तोक्यो । घटनास्थलमा अपराधीको गन्ध पत्ता लगाउन धनगढीबाट कुकुर ल्याइयो । ‘आमाको घाँटीमा मोबाइलको इयरफोन अल्झिएको रहेछ,’ एसपी मुकुन्द मरासिनीले भने, ‘त्यसैले हामीलाई अभियुक्तसम्म पुग्न सहज बनायो ।’ धनादेवीको घाँटीमा अल्झिएको इयरफोन र भरतले प्रयोग गरेको मोबाइल एउटै कम्पनीको रहेको पत्ता लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि प्रहरीसँगको प्रारम्भिक बयानमा उक्त इयरफोन आफ्नै भएको र हत्या आफूले गरेको भरतले स्विकारेका पनि छन् । ‘घटनास्थल सुरक्षित राख्न सकेकै कारण हामी चाँडै हत्यारासम्म पुग्न सफल भएका हौं,’ एसपी मरासिनीले भने, ‘यति लामो बाटामा रातको समयमा मोटरसाइकल लिएर हिँडेको युवकमाथि कहीँकतै चेकजाँच नहुनु एउटा ठूलो कमजोरी हो भन्नुपर्छ ।’ आइतबार पक्राउ परेका भरतविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला अदालतबाट सात दिनको अनुसन्धान म्याद थप गराएको छ । कान्तिपुरबाट

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares