डाेटीमा पाठाहरूको पोस्टमार्टम

डाेटीमा पाठाहरूको पोस्टमार्टम

४ चैत (डोटी)
खोरमा रहेका बाख्राका पाठाहरू एकाएक थला परे । पेट फुलेको देखिएका ती चलमलाउनै सकेका थिएनन् । गत बिहीबार साँझ यस्तो हुँदा दिपायल राजपुरका धनबहादुर बोगटीले पाठाहरूलाई बिसञ्चो भएको चाल पाए तर तत्काल उपचारमा भने ध्यान दिएनन् ।
सेती प्राविधिक शिक्षालय दिपायलमा पशु प्राविधिक (भेटेरिनरी) विषय अध्ययन गरिरहेका विद्यार्थीहरू बोगटीकै टोलमा बस्थे । पाठाहरू एकाएक बिरामी भएको सुनेपछि विद्यार्थीले राति १२ बजे उपचारका लागि बोगटीलाई अघि लगाएर शिक्षालय पुर्‍याए । शिक्षालयका डा. नन्दलाल खत्रीले हेर्नुपूर्व नै पाठा मरिसकेका थिए । डा. खत्री र डा. खेमराज उपाध्यायको टोलीले शुक्रबार बिहान ती पाठाको पोस्टमार्टम गर्‍यो । जसबाट धेरै भात खुवाउँदा पेटमा थेग्नै नसक्ने ग्यास भरिएपछि दुइटा पाठा मरेका पत्ता लाग्यो । डाक्टरद्वयले विद्यार्थीसँगै बोगटीलाई बुझाए– बाख्रापालन गर्नेले के–के कति मात्रामा खुवाउने र के–के खुवाए तिनीहरूलाई अपच हुन्छ ।
बोगटीले त्यस दिनबाट दुईवटा पाठ सिकेको बताए । ‘पहिलो, खानपानमा मान्छेसरह नै जनावरलाई ध्यान दिन जरुरी रहेछ,’ उनले भने, ‘दोस्रो, मान्छेसरह जनावरको पनि उपचार समयमै गर्नुपर्दो रहेछ ।’ आइन्दा आफूले पालेका जन्तु बिसञ्चो भएको थाहा पाउनेबित्तिकै उपचार गर्ने उनले बताए ।
पछिल्लो समय शिक्षालय कृषि र भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थीका लागि मात्र होइन, किसानका लागि पनि सहयोगी बनिरहेको छ । तीन दशकदेखि सञ्चालित शिक्षालयमा कृषिमा जेटीए र भेटेरिनरीको पढाइ हुँदै आएको छ । दुईवर्षे कोर्सका लागि वर्षमा ४० जना भर्ना हुन्छन् । जिल्ला–जिल्लाको कोटामा र खुला प्रतिस्पर्धात्मक परीक्षा दिएर विद्यार्थी यहाँ आइपुग्छन् ।
यहाँबाट हालसम्म तीन हजार प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् । ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक ज्ञानका कक्षा हुने भएकाले विद्यार्थी स्थलगत अभ्यासमै हुन्छन् । धेरै प्रयोगात्मक कक्षा हुने भएकाले विद्यार्थीलाई लिएर शिक्षकहरू परिसर बाहिर नजिकका गाउँ पुग्छन् । किसानका खेतबारी र गोठका समस्याको निदान पहिल्याएर विद्यार्थीलाई सिकाइन्छ । पछिल्लो समय प्रयोगात्मक अभ्याससँगै शिक्षालयका शिक्षक र विद्यार्थीहरूले दिपायल वरपर स्थानीयका पशुपन्छी र खेतबारीको समेत उपचारमा सघाएका छन् ।
शिक्षालयका डा. खत्री र उपाध्यायले प्राविधिक विषयको महत्त्व समुदायलाई बुझाउने भएकाले पशुपालन गरेकाहरू सल्लाह लिन पुग्छन । डोटीका ग्रामीण क्षेत्रबाट समेत पशुपन्छी तथा जनावरमा समस्या आएपछि शिक्षालयमा पढाइरहेका दुवै डाक्टरलाई सम्झने गर्छन् । ‘पहिले मानिसको उपचार गर्नेलाई मात्र डाक्टर सम्झन्थे, हामीलाई हेर्ने नजर फरक थियो,’ डा. उपाध्यायले भने, ‘अहिले त सामान्य रोग लागे पनि हामीलाई डाक्ने धेरै छन्, अहिले भ्याइनभ्याइ छ ।’
शिक्षालयले विभिन्न अभियान पनि चलाउँदै आएको छ । हालै दिपायलको राजपुरमा कुकुरहरूको बन्ध्याकरण गरिएको थियो । ‘कुकुरको अनावश्यक संख्याले बेलाबेलामा सडक दुर्घटना हुने गरेको थियो, भुस्याहा पनि बढेका थिए,’ डा. उपाध्यायले भने, ‘हामीले सबै कुकुर समात्दै परिवार नियोजन गरेपछि अहिले त्यस्तो समस्या हटेको छ ।’ एकपटक अभियान चलाएपछि अहिले गाउँलेहरू कुकुर बोकेर आफैं परिवार नियोजनका लागि शिक्षालय पुग्ने गरेका छन् ।
शिक्षालय परिसरमा विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि चराचुरुंगी, माछा, बस्तुभाउ पालन र बेमौसमी तरकारीको पोलीहाउस पनि छ । व्यावसायिक लाभ लिने गरी पशुलाई कसरी पाल्ने र के के ध्यान दिने भनेर सिक्ने अवसर मिल्ने गरेको डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए । शिक्षालयमा पालेका टर्की चरा देखेर खड्का पनि गाउँमा चरापालनको तयारीमा छन् । मोहन शाही कान्तिपुर

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares