जो बेलायत छाडेर गाउँमै रमाइरहेका छन्

जो बेलायत छाडेर गाउँमै रमाइरहेका छन्

४ चैत (लमजुङ)
चाउरिएका गाला । दारीजुँगा र कपाल सेतै फुलेका, यी हुन् ६९ वर्षीय बेलबहादुर गुरुङ । उनी भूपू बेलायती सैनिक हुन् । ढाकाटोपी र गल्बन्दी लगाउन रुचाउने उनी लौरी टेकेर हिँड्छन । केही वर्षअघिसम्म गोरु जोतेर हिँड्ने उनलाई बुढ्यौलीले सताएपछि बायाँ खुट्टा झम्झमाउने समस्या आएको छ । कान केही नसुन्ने भए पनि उनी फुर्तिला र हँसिला छन् । जो कसैसँग पनि उनी पल्टन र लडाइँका कुरा गर्न हिच्किचाउँदैनन् ।
उनको दिनचर्या अहिले गोरु चराउँदैमा बितेको छ । ४ छोरीको बिहेबारी भइसकेको छ । छोरा छैनन् । पत्नी शान्तकुमारीको ४ वर्षअघि निधन भयो । ‘अहिले एक्लै छु । खाना बनाइदिन छोरीहरू पालैपालो आउँछन् । नआए आफै पकाउँछु,’ बेलबहादुरले भने ।
‘बाख्रा चराउँथें । अहिले छैनन् । गोरु जोत्थें, अहिले अलि बुढो भएँ । घाँसदाउरा गर्छु । मलाई यहीँ रमाइलो लाग्छ,’ उनले भने । बिहान ६ बजेतिर उठ्ने उनी आगो फुक्ने, गोरुका लागि कुँडो पकाउनेलगायत काम गर्छन् । दशकअघि बेलायत सरकारले आवासीय भिसा सुविधासहित सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको थियो । त्यतिबेला बेलायत नजानेमध्ये बेलबहादुर एक हुन् । गाउँकै खेती किसानीमा रमाइरहे । ‘बेलायत जान सकिन्थ्यो, मलाई जान मन लागेन,’ उनले भने । पहिला आफै हलो जोत्ने गरेकोमा अहिले भने उनले अरुलाई जोत्न दिन्छन् । एक हलगोरु छन् ।
राइनास नगरपालिका–९ कुवापानीमा उनको घर छ । बेलायती सेनामा ९ वर्ष ८ महिना काम गरेर घर फर्किन बाध्य उनी अहिले वेलफेयर पेन्सन खान्छन् । बेलायत सरकारले सन् १९७० ताका गोर्खा फौजमा व्यापक कटौतीमा परेका उनी ३ सय ६० पाउन्ड बक्सिस लिएर घर फिर्ता आएका हुन् । मलाया, बोर्नियो, इन्डोनेसिया र ब्रुनाई क्याम्पेन सकिएपछि २०२६ (१९७०) मा ब्रिटिस सरकारले गोर्खा फौजमा प्यापक कटौती गरेको थियो ।
उनका अनुसार अहिले महिनाको ११ हजार पेन्सन आउँछ । २०७२ वैशाखको महाभूकम्पले घर चर्किएर बस्न नसक्ने भएपछि वेलफेयरको ७ लाख सहयोगमा २ कोठे भवन बनाएका छन् । थप १ लाख उनले खर्च गरेका छन् । गाउँ नजिकैका एकजना तामाङ गोर्खा फौजमा कार्यरत थिए । उनी गल्ला भएर आए । उक्त क्षेत्रबाट बेलबहादुरसहित २६ जनालाई छनोट गरिएको थियो । पक्लिहवासम्म ८ दिन पैदल हिँडेर गएकामध्ये १६ जनामात्रै भर्ती भए । १९६० नोभेम्बर २३ मा भर्ती भएका उनलाई ६ जिआरमा राखियो । करीब १ वर्ष तालिममा बिताए ।
‘मेरो नम्बरी गाउँमा छ होमबहादुर । डाँडाथोकमा सुकमान थियो, उनी बिते । पुरानकोटको दलबहादुर सायद अहिले बेलायतमा होला,’ उनले भने, ‘म यहीं बसें । फर्केर आएपछि अन्त जान मन लागेन ।’ तालिम लिएपछि १९६२–१९६५ सम्म मलायाको आन्तरिक तथा ब्रुनाई क्याम्पेनमा रहेर इन्डोनेसियनसँग लडेका उनीसँग एसएलआर राइफल, एलएमजी, जीपीएमजी, रकेट लन्चर, एयर ५० राइफल, टुइच मोटर जस्ता हतियार बोकेर लडाइँ लडेको अनुभव छ ।
‘बम, बारुद, गोलीसँग लडियो । धन्न हामीलाई लागेन । हाम्रो गोली बारुदले उनीहरूको कति क्षति पुग्यो थाहा भएन,’ उनले भने । ब्रुनाईबाट फिर्ता भएपछि मलायाको कुलाङमा बसेको उनले सुनाए । सिंगापुर, हङकङ पुगेको पल्टन ६ महिनासम्म चीनको बोर्डर बसेको उनी सम्झन्छन । फेरि कुलाङमा फर्किएको र त्यहीबेला बेलायत सरकारले नामरोल काट्दा आफ्नो पल्टन पनि घटाउमा परेको उनले बताए । ‘कसैलाई पेन्सन, कसैलाई बक्सिस दिएर पठायो,’ उनले भने, ‘त्यसपछि गाउँ आएर दुःखसुःख गरी बस्यौं । बेलायत सरकारले बोलाए पनि नजाने भनी गाउँमै बस्यौं ।’

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares