रगत अभाव हुन थाल्यो

रगत अभाव हुन थाल्यो

४ चैत (काठमाण्डौं)
कोरोना भाइरस संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रमका साथै रक्तदाताको संख्या कम भएपछि रगत अभाव हुन थालेको छ । बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रहरूलाई अप्ठेरो पर्न थालेको छ ।
रक्तदान कार्यक्रम निकै न्यून भएपछि मागअनुसार रगत उपलब्ध गराउन गाह्रो भएको हो । उपत्यकामा रगत कम मात्रामा संकलन भइरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रमा दैनिक दुई सयदेखि तीन सय ५० युनिटसम्म रगतको माग आउने गरे पनि हाल दुई सय युनिट मात्रै संकलन भइरहेको छ । पर्याप्त रगत नहुँदा बिरामीको माग पूरा गर्न नसकेको निर्देशक डा. मणिता राजकर्णिकारले बताइन् ।
‘रगत संकलन गरिने कार्यक्रममा मानिसको भीड हुन्छ, त्यसैले पनि रक्तदाता कम आउँछन्,’ उनले भनिन् । रगतको माग पूरा गर्न नसकेपछि केन्द्रले बिरामीकै आफन्तको रगत परीक्षण गरी उपलब्ध गराउँदै आएको छ । पूर्व्निर्धा्रित रक्तदानका कार्यक्रम पनि स्थगित भइरहेको राजकर्णिकारले बताइन्  ।
केन्द्रले उपत्यकाका एक सय ५० अस्पतालमा रगत वितरण गर्छ । संकलित रगत ए र ओ पोजिटिभ समूहका मात्रै छन् । यी समूहका रगत पाइए पनि अन्य समूहका रगत पाउन निकै कठिन छ । केन्द्रले अभाव देखाए पनि त्यस्तो अवस्था नआएको नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले दाबी गरे । ‘रक्तदाता र रगतको कमी होइन,’ उनले भने, ‘दाता र रगतलाई व्यवस्थापन गर्न नसक्दा समस्या देखियो ।’
व्यवस्थापन गर्न सके रगत अभाव र त्यसको भयावह स्थिति कहिल्यै नआउने उनको भनाइ छ । ‘हामीकहाँ दैनिक १२ जना बिरामी आउँछन्’ उनले भने, ‘२० युनिटसम्म रगत संकलन गरेर दिइरहेका छौं । त्योभन्दा पनि बढी रगत संकलन गर्न सक्छौं ।’ रेडक्रस शाखा भक्तपुरका अनुसार रगत संकलन गर्न कार्यक्रम गरे पनि रक्तदाताकोउपस्थिति न्यून छ । भक्तपुरमा सातामा पाँच सय पाउन्ड रगत संकलन हुने गरे पनि हाल तीन सय पाउन्ड संकलन हुने गरेको शाखा प्रमुख मनोजकुमार थापाले बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •