संसार हेर्ने धोको

संसार हेर्ने धोको

१६ फागुन (बझाङ)
साइपाल गाउँपालिकाकी दृष्टिविहीन एक किशोरीले उपचार पाउन सकेकी छैनन् । जिल्लाको अन्तिम मानव बस्तीको रुपमा रहेको साइपाल गाउँपालिका–४ धुलीकी पिउली कुमारी रोकाया आर्थिक अभावमा उपचारबाट वञ्चित भएकी हुन् ।
दुई वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी उनी अहिले १४ वर्षकी भइन् । झाडापखालाबाट सिकिस्त भएकी उनले दुई महिनापछि तंग्रिँदा आँखाको ज्योति गुमाएको बुबा गंगारामले बताए । ‘हामीले त अब बाँच्दिन भनेर माया मारिसकेका थियौं,’ उनले भने ‘बाँच्न त बाँची, तर आँखा देख्न नसक्ने भई ।’
छोरीले दृष्टि गुमाएपछि गंगारामले थुप्रै पटक स्थानीय वैद्य र धामी झाक्रीकहाँ पुर्‍याएर उपचारको प्रयास नगरेका पनि होइनन् । ‘भएको जग्गा जमिनसमेत बेचबिखन गरेर मन्दिरमा बोका चढाएँ । जति गर्दा पनि निको भएन,’ उनले भने । अत्यन्तै कमजोर आर्थिक अवस्था भएका र निरक्षर रोकाया परिवारले छोरीको सुविधायुक्त अस्पतालमा उपचार गराउन सकेनन् । पीउलीले १४ बर्षसम्म अन्धकारमा जिन्दगी बिताउनु पर्‍यो । गाँउका जान्नेसुन्ने र स्थानीय स्वास्थ्यकर्मीहरूले सुविधायुक्त अस्पतालमा उपचार गरे उनको आँखाको ज्योति फर्कने सल्लाह त दिन्थे, तर गंगारामसँग उपचार गराउन खर्च जुटाउने उपाय थिएन ।
गत वर्ष गाउँपालिकाले २५ हजार सहयोग गरेको थियो । त्यसैमा केही रकम ऋण खोजेर उनले छोरीलाई गेटा आँखा अस्पताल पुर्‍याए । २०७५ पुसमा उनको दुवै आँखाको शल्यक्रिया पनि भयो । तर चिकित्सकले उनलाई निरन्तर दुई वर्षसम्म महिनाको एक पटक अस्पतालमा आएर फलोअप उपचार गरेपछि मात्र दृष्टि फर्कने बताए ।
बझाङको साइपालदेखि धनगढी आउन जान ५० हजार जति खर्च लाग्ने भएकाले गंगारामलाई त्यो सम्भव भएन । केही महिनासम्म धनगढी गएर जँचाए । तर डाक्टरले भनेअनुसार निरन्तर गर्न नसकेर बीचैमा छोडेका छन् । ‘दुई तीन महिनासम्म गाउँले दाजुभाईले चन्दा उठाएर पैसा जुटाएर दिए । तर लामो समयसम्म चलेन ।
‘अहिले अँध्यारो र उज्यालो छुट्याउन सक्ने त भएकी छे,’ गंगारामले भने, ‘सधैं धनगढी जान पैसा भएन । गाउँमा कसैले ऋण पत्याउन सक्ने मेरो हैसियत पनि छैन । त्यसैले उपचार छोडेको हुँ,’ खर्च अभावका कारण उपचार रोकिएको भए पनि छोरीले गर्ने प्रश्नले बेचैन हुने गरेको उनले बताए । ‘बुवा आमाको अनुहार कस्तो छ ? रातो कस्तो हुन्छ ? गाडी कस्तो हुन्छ ? भनेर सोधी राख्छे,’ उनले भावुक हुँदै भने, ‘यसलाई संसार हेर्ने रहर छ । गरिबीले मैले बाबु हुनुको कर्तव्य पूरा गर्न सकेको छैन । कोही किन्ने मान्छे भेटिए मेरै किड्नी बेचेर पनि यसको उपचार गर्ने थिएँ ।’ उपचार सम्भव भए पनि खर्च व्यहोर्न नसकेकाले मनकारीहरू समक्ष उनले सहयोगको लागि अनुरोध गरे । कान्तिपुरबाट

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares