मन्त्री शाह हरेक महिना मतदाताको घरदैलोमा

मन्त्री शाह हरेक महिना मतदाताको घरदैलोमा

१३ फागुन (धनगढी)
बडिमालिका नगरपालिका २ कि ५५ बर्षीया गौरी बडुवाल भैसी दुहेर गोठबाट बाहिर निस्कदै थिइन् । आँगनमा टुप्लुक्क आइपुगेका आन्तिरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई देखेर उनी छक्क मात्र परिनन्, गोबर लत्पतिएको आफ्नै कपडा हेरेर लजाइन पनि । ‘खबरै नगरी आउनु भयो त ? हामी त यस्तै छौ’ जिब्रो टोक्दै उनले भनिन् ।’
निर्वाचन जितिसकेपछि सुदूरपश्चिमका आन्तिरिक मामिला तथा कानुन मन्त्री शाह महिनामा एक पटक गृह जिल्ला बाजुरा पुगेर विभिन्न गाउँवस्तीमा छलफल, अन्तरक्रिया गर्दै आएका छन् ।
यसै साता गाउँघरमा एकाएक आइपुगेपछि गौरी मात्र हैन, बाजुराको ग्रामिण बस्तिका सर्वसाधारण छक्क परे । चुनाव जितेर गएपछि वा पदमा पुगेपछि मतदाता र गाउँलेलाई चटक्क बिर्सने गरेको आरोप नेताहरुलाई लाग्दै आएको हो । तर मन्त्री शाहले भने पदमा पुगेपछि पनि गाउँवस्ती र जिल्ला जान छाडेका छैनन् । त्यसैले उनीसँग जिल्लावासी खुसी रहेको महिला अगुवा कल्पना साउँदले बताइन् । मन्त्री शाहले मार्तडी, बुढीगंगा, तोली र कैलाशमाण्डौका विभिन्न गाउँका सर्वसाधारणसँग छलफल भेटघाट गरेका हुन् ।
बुढीगंगा नगरपालिका १० सिगाडाका वडा अध्यक्ष धर्मराज जैशी भन्छन्, ‘नेताहरु चुनावका बेलाबाहेक अघिपछि जनतालाई बिर्सन्छन् भन्ने लागेको थियो । तर मन्त्री शाह जिल्लामा आइरहने र गाउँलेका सुखदुखसँग अन्तरक्रिया गरिरहने भएकाले उनीसँग गुनासो गर्नेहरु भेटिदैनन्, ।’ मन्त्री शाहले स्थानीय जनप्रतिनिधि र जनतालाई राखेर गाउँका समस्याका समाधानका उपायबारे निरन्तर छलफल गर्ने गरेको त्रिबेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारले सुनाइन् ।
बाजुराको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका मन्त्री शाह हालै एक सातासम्म गाउँवस्तीमा मतदाताहरुसँग भलाकुसारीमा ब्यस्त रहे । ‘मेरा लागि सबैभन्दा ठूला जनता हुन्’ मन्त्री शाह भन्छन्, ‘जनताबाट टाढा हुने कुरै भएन । विकासका लागि प्रयास गर्ने, गाउँलेका सुखदुख बुझेर सकेको सहयोग गर्ने, विकासमा उनीहरुका मागहरु पुरा गर्ने कोसिस गर्दै आएको सबैले देखेकै छन् । त्यसैले म महिनाको एक पटक जिल्ला पुग्ने कोसिस गरिरहेको हुन्छु ।’ उनले प्रदेश सरकाबाट आएका योजनामा छिटोछरितो गुणस्तरी काम गर्न स्थानीय समूदायले निगरानी गर्नुपर्ने बताए । ‘सबैको साझा प्रयासबाट गुणस्तरीय विकास गर्न सकिन्छ’ मन्त्री शाहले भने, ‘बजेटको समस्या छैन । गुणस्तरी र दिगो विकासका योजना बनाउन लाग्नुपर्छ ।’
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतले प्रदेश कानुन निर्माणको चरणमा रहेकाले चाँडै शान्ति सुरक्षाको जिम्मेवारी पनि प्रदेशमै आउन लागेकाले त्यसपछि शान्ति सुरक्षाका योजनामासमेत प्रभावकारी ढंगले काम गर्न सकिने मन्त्री शाहको भनाई छ । केही ठाँउमा प्रहरी चौकी स्थापना भइसकेको, अझै स्थापनाका लागि पहल गर्ने उनले बताएका छन् । बडिमालिका खबरबाट लिइएको सम्पादित समाचार

Share This
  • 249
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    249
    Shares