जहाज पर्खंदै सुदूरका विमानस्थल

जहाज पर्खंदै सुदूरका विमानस्थल

६ फागुन (धनगढी)
डोटीको दिपायल, बैतडीको पाटन भर्खरे कालोपत्र भएको छ । अछामको साँफेबगर विमानस्थल कालोपत्रे यसअघि नै भइसकेको छ् । बझाङको चैनपुर, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थल स्तरोन्नतिको प्रकया सुरु भएको छ । तर प्रदेशभर बाजुराको कोल्टी, अछामको साँफेबगर र धनगढीबाहेक हवाई सेवा छैन
डोटीको दिपायलमा साढे पाँच करोड र बैतडीको पाटन विमानस्थलमा ११ करोड रुपैयाँको लागतमा हालसालै कालोपत्र गरिएको छ । अछामको साँफेबगर विमानस्थल पोहोर साल कालोपत्र भएको थियो । बाजुराको कोल्टी विमानस्थलको धावनमार्ग तीन वर्षअघि नै कालोपत्र गरिएको हो । जिल्लाका अन्य विमानस्थल निर्माण र स्तरोन्नतिको प्रक्रिया पनि अघि बढेको छ । तर सबै विमानस्थलमा हवाई सेवा उपलब्ध छैन ।
नागरिक उडड्यन प्राधिकरणका अनुसार बझाङको चैनपुर, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थलको स्तरोन्नति गरी हवाई सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको छ । हवाई मैदान नभएको प्रदेशको एक मात्र जिल्ला डडेलधुरामा विमानस्थल निर्माणका लागि जग्गा खोजीको काम सुरु भएको छ । तर हाल बाजुराको कोल्टी र धनगढी विमानस्थलबाट मात्रै हवाई सेवा सञ्चालनमा छ ।
कोल्टीमा नेपालगन्जबाट टुइनअटर जहाजले हप्तामा दुई–तीन दिन मात्रै उडान भर्छ । ठूला विमानसमेत उडान, अवतरण गर्न सकिने १८ सय मिटर लामो पक्की धावन मार्ग भएको धनगढी विमानस्थलको हवाई सम्पर्क काठमाडौंबाहेक अन्य सहर र जिल्लासँग छैन ।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले सुदूरका पहाडी जिल्लामा रहेका विमानस्थलमा धनगढीबाट उडान भर्न सकिने बताए । ‘कालोपत्र भइसकेका विमानस्थलमा त उडानका लागि कुनै समस्या छैन,’ उनले भने ।
धनगढी विमानस्थलको गुरुयोजना
नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजु पोख्रेलले धनगढी विमानस्थललाई तीन चरणमा स्तरोन्नति गर्नेगरी गुरुयोजना तयार गरिएको बताए । उनका अनुसार जग्गाको अधिग्रहण र मुआब्जा वितरण, धावनमार्ग निर्माण र भौतिक संरचना बनाइने छ । यसको अनुमानित लागत १७ अर्ब रुपैयाँ छ । ‘हाल ७० बिघा जमिन छ, अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थलका लागि आवश्यक पर्ने थप २ सय ४४ बिघा जग्गा अधिग्रहण गरिने छ,’ उनले भने, ‘दोस्रो चरणमा २५ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग निर्माण गरिने छ । तेस्रो चरणमा अन्य भौतिक संरचना तयार हुनेछन् ।’
अहिले भएको धावनमार्गको लम्बाइ थप्न सकिने ठाउँ नभएकोले उत्तर वा पूर्वतर्फ बढाउने गरी अर्को धावनमार्ग बनाउनु पर्ने देखिएको उनले बताए । ‘हालको रन–वेलाई सवारी साधन पार्किङका लागि प्रयोगमा ल्याइनेछ,’ उनले भने, ‘टर्मिनल भवनलगायत अरू संरचना भने प्रयोगमा आउनेछन् ।’

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares