बाजुरामा नेकपाभित्र शक्ति संघर्ष चुलिने संकेत

बाजुरामा नेकपाभित्र शक्ति संघर्ष चुलिने संकेत

बाजुरामा नेकपाको कार्यालय गठन, सचिवालय, विभागहरु, निर्वाचन क्षेत्र, पालिका संगठनसहित जिल्ला कमिटीमा सदस्यहरु मनोनयनमा देखिएको सिनारियोसंगै नेकपा बाजुराको राजनीतिक तथा सांगठनिक शक्ति संरचनामा नयाँ कोर्स तथा शक्ति संघर्षका नयाँ बाछिटाहरु आरम्भ हुने संकेत देखापरेका छन् ।
यसअघि पूर्व नेकपा माओवादीका नेताहरुले तुलनात्मक रुपमा एकतावद्ध भएको संदेश र रणनीति अख्तियार गर्दै आए । उनीहरु पूर्व नेकपा एमालेका नेताहरुबीचको रडाकोको बीचमा नपर्ने तर जमेर दर्शक बन्ने नीतिमा थिए । आगामी दिनमा पनि सम्भवतः त्यही रणनीति उनीहरुले फ्लो गर्ने छन् । उनीहरुलाई उपल्लो तहबाट निर्देशन पनि त्यही थियो ।
यता पूर्व एमालेका नेताहरुकै बीच चरम गुटबन्दी तथा शक्ति संघर्ष जारी थियो । त्यो केन्द्रदेखिकै लाइन र ऐजेण्डाले पनि काम गरिरहेको हो । बुधबार गरिएको संगठनमा पुर्णता दिने क्रममा विकसित संरचना, केही असन्तुलन, केहीलाई नसुहाउदोगरि लगाइएको पाखाले आगामी दिनहरु अझ पेचिला बन्न सक्नेछन् । त्यसक्रममा शक्ति संघर्षको खेल झन चर्कोगरि सतहमा देखिने अनुमान गर्न कठिन छैन । किन कि त्यसता प्रसस्त संकतेहरु देखिएका छन् । संरचनागत शक्ति सन्तुलनको अवस्थामा हिजोको भन्दा कोही माथि र कोही तल पनि पर्न सक्ने संकेतहरुपनि संगसंगै विकसित भएर जवरजस्त आएका छन् ।
किन कि एकातिर बुधवार गठित संरचना निर्माणमा को हावी रह्यो भन्ने कुरा बुझ्न कठिन छैन । अर्कोतिर बाजुरा नेकपाभित्रको आगामी राजनीतिको अनुमान गर्न कुन दृष्टिकोण र योजनाका साथ पछिल्ला घटनाक्रमहरु वा संरचनागत प्रतिनिधित्व विकास भइरहेका छन् ? सदस्यहरुको मनोनयन तथा जिम्मेवारीको चरित्र के रह्यो भन्ने कुराको जरैमा पुग्ने प्रयत्नपछि साधारण अनुमान गर्न त्यति धेरै कठिन हुन्न ।
अब स्वभाविक रुपमा कार्यालय संरचनाले पुरै बाजुराको नेकपालाई चलाउने छ । अर्थात निर्णायक संरचना त्यही हो । त्यसभित्र पूर्व एमालेका ४ र पूर्व एमाओवादीका ३ जनाको प्रतिनिधित्व छ । पूर्व एमाओवादीका प्रतिनिधिहरु विगत झै आगामी दिनमा पनि कतै पनि नलहसिने रणनीति अख्तियार गर्ने छन् । अर्थात पूर्व एमालेका नेताहरुबीचको संघर्षको बीचमा उनीहरु आफुलाई पार्ने छैनन् । तथापी उनीहरुभित्रै पनि केही असन्तुष्टिका स्वरहरु नसुनिएका भने हैनन् । तर ती त्यति मजबुत देखिन्नन् । यसर्थ विगतलाई हेर्दा आगामी दिनमा पनि उनीहरु सबैसंग ठिक्क को रणनीतिमा लाग्नेछन् ।
यता अध्यक्ष कालीबहादुर शाहीले संघीय सांसद लालबहादुर थापालाई च्याप्ने देखिएको छ । गगन रावलले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई साथ दिने छन् । र जनक कुमार बोहराले प्रदेश अध्यक्ष कर्ण थापालाई डटेर काँध थाप्ने प्रष्टै देखिन्छ । अर्का कार्यालय सदस्य लालबहादुर ओली सम्भवतः तटस्थ रहने योजनामा छन् । किन कि एउटा सत्य के हो भने कार्यालयमा आएका सदस्यहरु जिल्ला कमिटिमा जसतो कसैको कृपाले नभई पद्धतिले आएकाहरु छन् । त्यसैले पनि यही पेरिफेरिमा नेकपाभित्रको राजनीति घुम्ने देखिन्छ । र अहिलेसम्मको अवस्था हेर्दा प्रकाश शाहप्रति लोयल देखिदै आएका पूर्व एमाओवादीतर्फबाटका कार्यालय सदस्यहरुकै निर्णायक रोल रहने छ । अर्थात उनीहरु जता ढल्क्यो उतै बहुमत हुने छ । साथै यस हिसावले अबको शक्ति सन्तुलन अस्थिरता, ऐजेण्डावेस पनि हुनसक्ने छाँट देखिन्छ । कार्यालय सदस्य बाहेक सचिवालयमा रहेका पुरबहादुर रावतलगायतका केही नेताहरुको भूमिका पनि जवरजस्त हुनेछ ।
यस बाहेक शीर्ष नेताहरुबीच कस्तो सम्बन्ध विकास हुन्छ भन्ने कुराले पनि प्रभाव पार्ने छ । जिल्ला इन्चार्जसमेत रहेका लालबहादुर थापा र प्रदेश अध्यक्ष थापाबीच यसअघि कायम रहेजस्तो ‘अविश्वास र बाध्यता’ को राजनीति अब एउटै बुँदा झर्न सक्छ । कि त अविश्वास बढेर टकरावमा जान सक्ला वा केही समय बाध्यताकै रुपमा पनि रहिरन सक्ला । अर्का नेता प्रकाश शाहले अख्तियार गर्ने रणनीति जान्न अझै केही समय पर्खनै पर्नेछ ।
सचिवालय र जिल्ला कमिटीको संरचनाले पनि अर्थ नराख्ने भन्ने हुदैन । अहिलेकै बिन्दुबाट सचिवालय र जिल्ला कमिटीमा ल्याइएकाहरु थोरै बाहेक धेरैजसो कुनै न कुनै नेताको कृपाबाट आएकाहरु हुन् । आगामी दिनमा उनीहरुलाई शीर्ष नेताहरुले आफुतिर झन धेरै च्याप्न खोज्ने छन् । आजकै बिन्दुबाट विष्लेषण गर्दा पनि आम कार्यकर्ताहरुले एकतावद्ध र सुदृढ नेकपाको चाहना राखिरहेका भएपनि तत्काल त्यो सिनारियो नदेखिनु तितो यथार्थ हो । त्यसक्रममा पनि नेकपाभित्रको कोर्सले कोल्टे फेर्नसक्ने संकेतहरुको अनुमान गर्न सकिन्छ ।
सचिवालय गठन र विभागहरुमा ल्याइएका प्रतिनिधि तथा जिल्ला कमिटिमा मनोनित गर्दाको अवस्था हेर्दा पनि नेताहरुले हदैसम्मको रुग्णता देखाएका छन् । नेताहरुको ब्रम्ह्रले आफु अनुकुल नठानेका कार्यकर्ताहरुलाई बेस्सरी मुक्याएर पर धकेलेका छन् । कतिपय कार्यकर्ताका लागि न्याय मरे सरह भएको छ । नेताहरु यतिधेरै साँघुरो चित्तका देखिए कि मार्तडीकै कुरा गर्ने हो भने मानबहादुर कार्की, धर्मराज पाध्याय, जंग बिकहरुलाई बेहिसाव कर्नरमा पारिएको छ । उनीहरुमध्ये कम्तीमा एकजनालाई त अवश्य सम्बोधन हुर्नै पर्ने थियो । तर भएन । मीनबहादुर बिष्टको अत्तोपत्तो राखिएन । के उनी राजनीतिबाट बाहिर भइसकेका हुन् ? वा उनको उपादेयता खत्तम भइसक्या हो ? नीरबहादुर शाही लगायतका पुराना कार्यकर्ता र तमाम महिला कार्यकर्ता जो दिनरात पार्टीकै लागि खटेका छन् । उनीहरुलाई पाखा लगाउनुको औचित्य के ? यी र यस्तै प्रश्नहरुले नेकपालाई आगामी दिनमा गिजोलिरहने छ । यस्तो प्रवृति र मनस्तिथीको परिणाम शक्ति संघर्ष बढ्दै जाने निश्चित छ । एउटा तथ्य के हो भने कसैलाई साफ पार्ने दुराभावना राजनीतिमा जहिल्यै सफल भइरहला भन्ने हुदैन । कहिले काही ठिक उल्टो नजिता पनि आइलाग्छ । बाजुरामा नेताहरुले त्यो ख्याल गरेको देखिन्न । नरेश रोकाया, शुरेश बिक, चेतन अयडी, हिरेन्द्र बाँनियालगायतले बुधबार सामाजिक सञ्जालमार्फ सार्वजनिक गरेका टिप्पणीहरुले पनि आफैमा गहिरो अर्थ झल्काइरहेको छ । र अवस्था बुझ्न सकिन्छ ।
यसरी अन्तरसंघर्षमा रुमल्लिदै गर्दा सत्तामा रहेको नेकपाले आफ्ना चुनावी घोषणापत्रहरु बिर्सन सक्ने जोखिम पनि उत्तिकै छ । विगतको तुलनामा विकासका योजनाहरु प्रसस्तै भित्रिएका भएपनि २ बर्षको अवधिलाई हेर्दा रणनीतिक तथा दिगो विकासको मार्ग उनीहरुले समातेको देखिन्न । आगामी ३ बर्षपनि उनीहरु व्यवस्थित श्रोत परिचालनमा ख्याल नगरे नेकपाबाट आम जनताले सोचेजस्तो लाभ नपाउने सक्ने खतरा पनि उत्तिकै विकास हुन सक्छ ।
अर्जुन शाह
लेखकका यी व्यक्तिगत विचार हुन् ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares