कस्तो बन्नुपर्छ स्मार्ट सिटी ?

कस्तो बन्नुपर्छ स्मार्ट सिटी ?

काठमाडौँ । दुई वर्षअघि एकजना बेलायती अनुसन्धानकर्ता जुनिपरले सिंगापुर, बार्सिलोना, लन्डन, सान फ्रान्सिस्को र ओस्लोलाई विश्वका उत्कृष्ट ५ स्मार्टसिटीको रुपमा घोषणा गरे । त्यही समयमा अर्को सर्वेक्षण पनि गरियो जसले विश्वका उत्कृष्ट २५ शहरको सूची सार्वजनिक ग¥यो । त्यसमा न्युयोर्क, लन्डन, पेरिस, सिंगापुर, टोकियो, सिउलदेखि भारतको पुने, भुवनेश्वरसम्मका शहरसमेत सामेल थिए ।
नेपालमा पनि काठमाडौँ उपत्यकाभित्र चारवटा र उपत्यका बाहिर ४० शहरलाई व्यवस्थित शहर बनाउने योजना अघि बढिरहेको छ । ती शहरमध्ये काठमाडौँका ४ शहरहरुलाई ‘स्मार्ट सिटी’ भनिएको छ । काठमाडौँ बाहिरका शहरहरुलाई ‘नयाँ शहर’ नाम दिइएको छ । अहिले काठमाडौँ उपत्यकाका ४ शहरहरुको डीपीआर तयार भई अन्तिम स्वीकृतिको पर्खाइमा छ । उपत्यका बाहिरका शहरहरुमध्ये पनि केही शहरको डीपीआर बनिसकेको र केहीको बन्ने क्रम चलिरहेको छ ।

एकछिन जुनिपरको अनुसन्धानतिरै फर्कौँ । उनले पाँचवटा शहरलाई उत्कृष्ट घोषणा गर्न मुख्यतया ५ आधार लिए । ती आधारहरुमा ग्रिड टेक्नोलोजी, लाइटिङ सिस्टम, ट्राफिक व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग, इन्टरनेटको पहुँच र प्रयोग, स्मार्टफोनको प्रयोग, कम्युटर एप्लिकेसनको प्रयोगको अवस्था लगायत समावेश थिए ।

अनुसन्धानमा पहिलो नम्बरमा रहेको सिंगापुरले २०१४ देखि नै आफूलाई विश्वकै पहिलो स्मार्ट राष्ट्र बनाउने लक्ष्य लिएर अघि बढेको छ । अहिले सिंगापुरका सबै टापुहरुमा क्लोज सर्किट (सीसी) क्यामेरा र सेन्सर जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापन, प्रदुषण र मानवीय गतिविधिहरुको सुक्ष्म निगरानी गर्छ । यतिसम्म कि यदि कोही व्यक्ति सार्वजनिक स्थानमा धुम्रपान गरिरहेको छ तर त्यो अरु कसैले देखेको छैन भने पनि ऊ कारबाहीबाट बच्न सक्दैन किनकी सेन्सरले उसको सबै गतिविधिको सूचना पठाइरहेको हुन्छ ।

सिंगापुरले स्मार्ट सिटीको व्यवस्थापनका लागि एप्लिकेसनको प्रयोग गर्दै आएको छ । ‘भर्चुअल सिंगापुर’ नामक एपमार्फत् सिंगापुरले ट्राफिकको अवस्था, शहरको प्रदुषणको अवस्थाजस्ता विभिन्न तथ्याङ्क संकलन गरिरहेको हुन्छ । ती सूचनामध्ये आवश्यक सूचनाहरु सार्वजनिक गरिन्छन् भने कतिपय गोप्य नै रहन्छन् । यही एप्लिकेसनमा नयाँ नयाँ सुविधाहरु थप हुँदै गइरहेको छ ।

दोस्रो नम्बरमा रहेको बार्सिलोना शहरले पनि ट्राफिक व्यवस्थापनमा सेन्सरको व्यापक प्रयोग गरेको छ । सो शहरमा स्मार्ट सडक बत्ती र वाइफाईका साथै हावाको गुणस्तर र आवाजको मापनका लागि सेन्सरको प्रयोग गरिएको छ । यो शहरको अर्को मुख्य विशेषता भनेको स्वच्छ ऊर्र्जाको प्रयोग र नवीकरणीय दिगो ऊर्जाको स्रोत पनि हो । त्यहाँ खडेरी पर्दा सिँचाईका लागि कृत्रिम वर्षा गराउनसमेत सेन्सरकै प्रयोग हुन्छ ।

लन्डन शहर भने प्राविधिक क्षमताको कारण उत्कृष्ट ५ शहरमा अटाएको हो । सो शहर विश्वमै ‘टेक हब’को रुपमा स्थापित भएको अनुसन्धानको दाबी छ । तर, त्यहाँ स्वच्छ ऊर्जाको प्रयोग गर्न नसकेको स्वीकारोक्ति पनि गरिएको छ । सो शहरको यातायात नेटवर्क विस्तारका लागि बेलायत सरकारले एक दशकभित्र सडक पूर्वाधारमा ४ अर्ब पाउण्ड खर्च गर्ने घोषणा गरिसकेको छ ।

उता, उत्तर अमेरिकाको सामुन्द्रिक किनारमा रहेको सन फ्रान्सिस्को शहर खाडी क्षेत्रकै पहिलो र विश्वकै चौथो नम्बरको स्मार्टसिटीमा प¥यो ।  यो क्षेत्र अगाडि आउनुको कारण भने नगद र मानवरहीत (क्यासलेस कन्ट्याकलेस) भुक्तानी प्रणाली हो । यो क्षेत्रमा यातायात नेटवर्क पुरानो छ तर यसको उपलब्धता पनि एकदमै राम्रो छ । यो कारणले पनि सो शहरलाई माथि आउन सहयोग पुग्यो ।

ओस्लो शहर ऊर्जा बचत र नवीकरणीय ऊर्जाको प्रयोग मार्फत् सबैभन्दा कम हरितगृह उत्सर्जन गर्ने शहर भएको अनुसन्धानको दाबी छ । सोही कारण यो शहर पाँचौँ उत्कृष्ट शहरको रुपमा उदाएको हो । अनुसन्धानमा कुन शहरले ऊर्जालाई प्रभावकारी रुपमा उपयोग गरेको छ र त्यसको स्रोत के हो भन्ने अध्ययनसमेत गरेको थियो । 

उल्लेखित ५ शहरको आफ्नो छुट्टाछुट्टै विशेषता छन् । यहाँ एउटाको विशेषता अर्कोसँग मिल्दैन । उत्कृष्ट भनिएका २५ वटा शहरहरुमै तुलना गर्ने हो भने पनि सबैमा आ—आफ्नै विशेषता भेटिन सक्छन् । तर सबै शहरले आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने क्षमता राख्नुपर्छ भन्ने चाहिँ जुनिपरले गरेको अनुसन्धानको निष्कर्ष छ ।

विश्वमै प्रतिस्पर्धात्मक शहर बनाउन भने लागि केही विशेष गुण हुनुपर्छ । त्यहाँ कुनै पनि प्रकारको प्रदुषण हुन हुँदैन । पर्याप्त सुरक्षा चाहिन्छ तर सुरक्षाको नाममा व्यक्तिको स्वतन्त्रता र गोपनीयतालाई ध्यान दिनु पर्छ । यातायातको पर्याप्त सुविधा चाहिन्छ तर यातायात साधनहरुले प्रयोग गर्ने इन्धन स्वच्छ र नवीकरणीय हुनुपर्छ । शहरले हरितगृह उत्सर्जन गर्ने गतिविधि गर्नु हुँदैन । भुक्तानी प्रणालीमा आधुनिकता चाहिन्छ, हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग पनि हुनुपर्छ ।

कस्ता बन्नेछन् नेपालका स्मार्टसिटी ?

नेपालमा बन्न लागेका स्मार्टसिटी विश्वका शहरहरुजस्तै सुविधाजनक हुन्छन् भन्ने त छैन । तर व्यवस्थित शहरका आधारभूत मापदण्डलाई यसले आत्मसात गर्ने योजना बनाएको छ । अहिले योजना बनाइएका उपत्यकाभित्र र बाहिरका शहरमा सडक पूर्वाधार, विद्युतको आपूर्ति, पर्याप्त खुला ठाउँ र शहरी सौन्दर्यलाई ध्यान दिने योजना बनाइएको छ । ती शहरहरुमा त्यस्तो भौतिक सुविधाहरुको विस्तारको काम आयोेजनाले नै गरिदिन्छ ।

‘काठमाडौँमा बन्न लागेका स्मार्टसिटीहरुमा सबै घरहरुमा एम्बुलेन्स, दमकल लगायत आपतकालीन सेवा उपलब्ध हुनसक्छ । पर्याप्त खुला ठाउँ हुन्छ । पोल र तारले शहरलाई कुरुप बनाउँदैन, विद्युत तथा टेलिफोनका तारहरु भूमिगत हुन्छन् । सम्भावित जनघनत्व अनुसार सडकको चौडाई हुन्छ, प्रत्येक चोकमा ट्राफिक बत्ती हुन्छ,’ काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रवक्ता सुवासचन्द्र अर्याल भन्छन्, ‘तर महत्वपूर्ण कुरा भनेको चाहिँ यो शहर बनेपछि देशभरका शहरहरुलाई थप व्यवस्थित गर्ने आधार पनि बन्छ । मान्छेहरुले सो शहरसँग आफू बस्दै आएको शहरको तुलना गर्न थाल्छन् र आफ्नो शहरलाई पनि त्यस्तै बनाउनतिर लाग्छन् ।’

तर भएका शहरहरुलाई नै व्यवस्थित बनाउँदै जान नसक्ने पनि होइन । नेपालमा त्यसरी शहरहरुलाई व्यवस्थित गर्दै जाने प्रक्रिया पनि विगतदेखि नै सुरु भएको हो । केशव स्थापित काठमाडौँ महानगरपालिकाको मेयर हुँदा कलंकीको सडक विस्तारमा लिएको अग्रसरतापछि नेपालमा सडक नेटवर्क विस्तारको आयाम थपिएको हो । त्यसअघि माइतीघरको अनधिकृत भवनहरु हटाएर खुला मण्डला बनाउने प्रयास पनि व्यवस्थित शहरको निर्माणको एउटा जग हो । बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सडक विस्तारको गतिले एक प्रकारले तीव्रता पायो । काठमाडौँमा विस्तारले तीव्रता पाएसँगै यो क्रम देशभर फैलियो । 

त्यस्तै, काठमाडौँका नदीहरुलाई सफा र ढल निकासरहित बनाउने अभियान काठमाडौँ उपत्यकाका सभ्यता संरक्षणको अर्को महत्वपूर्ण खुड्किलो हो । काठमाडौँमा विद्युतीय बस चल्नु, जलविद्युत्को माग बढ्नु र पेट्रोलियम पदार्थको माग घट्नु पनि दीगो र व्यवस्थित शहरीकरणतर्फको यात्रा नै हो ।

त्यसो भनिरहँदा अहिले बन्न लागेका स्मार्टसिटीको महत्वलाई नजरअन्दाज गर्न भने मिल्दैन । प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखाली पनि भएका शहरलाई व्यवस्थित बनाउनु र व्यवस्थित शहर निर्माण गर्नुमा धेरै भिन्नता रहेको बताउँछन् । खोखाली भन्छन् ‘नयाँ शहर बनाउँदा त्यहाँ सबै योजनाहरु व्यवस्थित र योजनाबद्ध हुन्छन् तर भएका शहरलाई व्यवस्थित गर्न खोज्दा त्यहाँ कतिपय योजनाहरु पूरा गर्न नसक्ने अवस्था आउन सक्छ ।’

‘स्मार्टनेस’ आफैँमा एउटा निरपेक्ष विषय होइन, त्यसैले कुनै शहर स्मार्ट हो कि होइन भनेर छुट्याउने स्पष्ट आधार पनि छैन । तर आधारभूत मानवीय आवश्यकता पूरा गर्नसक्ने र वर्तमान शहरी संरचनामा शहरबासीले पाएको सुविधाभन्दा उत्कृष्ट सुविधा दिनसक्ने शहरलाई नै ‘स्मार्टसिटी’ भन्नु उपयुक्त हुने पूर्वाधार क्षेत्रका विज्ञहरु बताउँछन् ।

अब्राहम मस्लोले आवश्यकतालाई ५ वटा श्रृङ्खलामा व्याख्या गरे । त्यसमध्ये भौतिक र शारीरिक आवश्यकता एउटामात्रै छ, बाँकी सबै मानसिक वा मनोवैज्ञानिक आवश्यकताहरु नै छन् । शारीरिक आवश्यकता एउटा चरणमा पूरा हुन सक्छ तर मानसिक आवश्यकताहरुको श्रृङ्खला असीमित छ । त्यही असीमित आवश्यकताहरुलाई व्यवस्थित गर्दै जाने विषय लोकतन्त्र, समतामूलक समाज र दीगो विकासको अवधारणासँग जोडिएको छ । नेपालमा हुँदै गरेका योजनावद्ध शहरी पूर्वाधारहरुको विकासले पनि देशले लिएको दीगो विकासको लक्ष्यलाई आत्मसात भने गर्नुपर्छ । रातोपाटी


Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares