गच्छदारको ओरालो यात्रा

गच्छदारको ओरालो यात्रा

२३ माघ (काठमाडौँ)
१३ पटक मन्त्री बारम्बार मन्त्री । कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सार्वजनिक उपमा नै बनेको छ– सदाबहार मन्त्री । ०७४ को निर्वाचनपछिका दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा सही देखिन्छ । ०४८ सालदेखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीतिक यात्रामा बुधबार भने धक्का लागेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ ।
अख्तियारले पछिल्लो पटक मुद्दा चलाएका राजनीतिक नेतामा गच्छदार ‘हाइप्रोफाइल’ हुन् । कांग्रेसमा उनी उपसभापति र संसदीय दलको उपनेतासमेत छन् । गच्छदारसँगै भ्रष्टाचार मुद्दामा परेका पूर्वमन्त्रीमा डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन् । श्रेष्ठ नेकपा मालेका र जोशी पुनर्ग्ठित नेकपा संयुक्तका नेता हुन् । सिधा रेखाबाट शक्तिमा टिक्न सकिँदैन भन्ने मान्यता राखेरै गच्छदार सधैं शक्तिको वरिपरि हुन्थे । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका उनी १३ पटक मन्त्री बने । पाँच पटक त उपप्रधानमन्त्री नै भए । उनले जहिल्यै रोजेकै मन्त्रालय लिन्थेरपाउँथे । गृह, भौतिक, जलस्रोत उनका मुख्य रोजाइ हुन्थे । ०४८ सालदेखि निरन्तर चुनाव जित्ने नेता शेरबहादुर देउवा र गच्छदार हुन् ।
०६४ देखि ०७४ सम्मको कालखण्डमा गच्छदार सत्ताको साँचो नै बनेका थिए । त्यसअघि उनी नेता रिझाएर प्रभावशाली मन्त्रालयका साथ मन्त्री बन्थे । .०४८ सालमा पहिलो पटक उनलाई तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए । त्यसपछि गच्छदार कोइरालाका प्रियपात्र बन्न पुगे । कोइरालाको किचन क्याबिनेटमा त्यतिबेला मुख्य चार नेताको हालीमुहाली थियो । जसलाई एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) नामले चिनिन्थ्यो । ती चार नेतामध्ये खड्काको निधन भइसकेको छ । उनले पनि भ्रष्टाचार मुद्दामा सजाय भोगेका थिए । जोशीले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । अर्का नेता केसी कांग्रेसको सक्रिय राजनीतिमा छन् । देउवा प्रधानमन्त्री बनेपछि गच्छदारले कोइराला कित्ता छाडेका थिए । पार्टी विभाजन हुँदा उनी देउवा नेतृत्वको तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा थिए ।
०६४ को पार्टी एकीकरणपछि उनी लामो समय कांग्रेसमा रहन सकेनन् । संविधानसभाको निर्वाचनअघि कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरममा पुगे । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । पार्टी विभाजित गराएरै माधव नेपाल नेतृत्वको सरकार गठबन्धनमा उनी सामेल भए ।
त्यसपछि धेरैजसो कालखण्डमा गच्छदार सत्ताको साँचो बनेर चर्चामा छाइरहे । जब ०७४ को संसदीय चुनावमा वाम पार्टीहरू गठबन्धन बनाएर होमिए, गच्छदार आफ्नो राजनीतिक अस्तित्व बचाउन आफूले नेतृत्व गरेको पार्टीलाई कांग्रेसमा विलय गराए । पार्टीको महाधिवेशनको मुखमा गच्छदार भ्रष्टाचार मुद्दामा परेपछि त्यसको धक्का पार्टी सभापति देउवालाई समेत परेको छ । १३ औं महाधिवेशनबाट देउवालाई सभापति बनाउन कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मुख्य हात थियो । पछिल्लो समय सिटौलाले छाडेपछि देउवालाई गच्छदारको दरिलो साथ मिल्दै आएको थियो । तत्कालीन फोरम लोकतान्त्रिक समूहका नेता तथा कार्यकर्तालाई पार्टी संरचनामा झन्डै २० प्रतिशत हिस्सा दिइएको थियो । १४ औं महाधिवेशनमा देउवाका लागि त्यो ठूलो बल थियो । गच्छदारले भने आफू उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना राख्दै आएका थिए । ‘यो घटनाले पार्टी्भित्र ठूलो हलचल ल्याएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘खासगरी सभापति देउवाका लागि सेटब्याक भएको छ ।’

Share This
  • 109
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    109
    Shares