जसको कर्मलाई मिडियाले पछ्याई रहेछ..

जसको कर्मलाई मिडियाले पछ्याई रहेछ..

सुदीप थापा, १६ माघ (धनगढी)
उमेरले उनी २० बर्ष नाँघेका छैनन् । रहर गर्ने उमेर, सुन्दर र सुखी भविष्यका लागि अनेकौं सपनाहरु सजाउने उमेर । अभिभावकले डोर्याइरहनु पर्ने उमेर । तर उनी आफै समाजलाई सहिमार्गमा डोर्यायाउने ध्याउन्नमा छन् । उनको सपना र साधना आफु बन्ने, सम्पन्न हुने भन्दापनि समाज बदल्नेमा छ ।
त्यसैले त अहोरात्र दुःखीहरुकै सेवाको योजनामा घोत्लिरहन्छन् उनी । कहिल्यै मध्यरातको सुनसान शहरका चोक र गल्लीहरुको फोहर उठाइरहेका हुन्छन् त कहिल्यै दुरदराजमा एकान्त कुनाका बस्तीमा दौडधुप गरिरहेका भेटिन्छन् । कुनै बेला त उनलाई आफै राहत बोकेर दीनदुखीको घरमा पुग्ने हतारो हुन्छ ।
उनी अर्थात केपी खनाल । आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् । उनी आफू भने कहिले दालचामल बोकेर हुम्लाका गाउँबस्ती पुग्छन् । कहिले विभिन्न नाम दिएर सरसफाई अभियानको नेतृत्व गर्दै सडकमा भेटिन्छन् । कलिलै उमेरमा बेग्लै पहिचान बनाएका उनै केपी जसलाई हिजोआज पत्रकारका नजरमा छन् । सञ्चार माध्यमहरुले दिनरात पछ्याई रहेका हुन्छन् उनलाई । हुन पनि छोटै समयमा आमनागरिकको नजरमा उनी प्रशंसायोग्य पात्र भएर स्थापित भएका छन् । पछिल्लो समयमा त उनी सरसफाई क्षेत्रमा नक्षत्रै भइसके ।
गत बर्ष उनले दुर्गम बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण सम्पन्न गरे । त्यसका लागि उनले कम्ती मिहिनेत गरेनन् । उनले हात थाप्दा देशविदेशमा बस्ने नेपालीहरुले पत्याए । लाखौं रकम जुटाएर त्यहाँ उनले अनाथाश्रम निर्माण सम्पन्न गरेर बेग्लै परिचय दिए । ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने उनको मर्म धेरैका लागि स्पर्शी भयो ।
भर्खर जुँगाको रेखी बस्ने उमेरका केपी खनाल । अछामको रामारोशनमा जन्मिएका उनी कैलालीको लम्कीमा हुर्केबढे । १२ कक्षासम्मको शिक्षा त्यहींबाट पूरा गरे । अहिले गाउँलेको सहारामा नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा अध्ययरत छन् । उनलाई अहिले धेरैले ‘कान्छो सामाजिक अभियन्ता’ को रुपमा चिन्दछन् । धेरैजसो काममा कतिपयले उनलाई नै सम्झन्छन् । हुन पनि अहिलेको स्वार्थी समाजमा यस्ता युवा जसले सामाजिक रुपान्तरणका लागि आफुलाई समर्पित गरेका छन् । अहोरात्र दुस्खीहरूकै सेवाको योजनामा खटिरहेका छन् उनी ।
झण्डै तीन बर्षअघि, त्यसबेला त उनी अहिलेको जसतो चल्ताफूर्ता र अनुभवी पनि थिएनन् । अहिलेजस्तो धेरैले चिन्न पनि चिन्दैनथे । दसैंतिहारको बेला थियो । उनी उमेरका बालबालिका र भर्खरका युवाहरू त दसैंतिहारमा मख्खै परेर रमाइरहेका हुन्थे । तर उनले भने दसैंको मुखैमा खाद्यान्न लिन बाजुरा आउँदै गरेका हुम्ला श्रीनगरका एक युवाको पहिरोमा परी बाटैमा मृत्यु भएपछि घरपरिवार भोकै बस्नुपर्ने अवस्थामा रहेका परिवारका लागि सहयोग जुटाउन फेसबुकमा ‘भोकै छ हुम्ला’ अभियान सुरु गरे । सहयोगी हातहरूलाई अपिल गरे ।

‘थुप्रैले सहयोगको प्रतिबद्धता जनाए, केहीले चामल दिए, केहीले साबुन, केहीले दाल–तेल अनि केहीले नगद’ केपीले गएको तिहारका बेला सञ्चालन गरेको अभियान सम्झँदै भने, ‘साता दिनमै २५ परिवारका लागि पर्याप्त दालचामल र तेल साबुन जुट्यो ।’
त्यही खाद्य सामग्री बोकेर उनी आफै हुम्लाको श्रीनगर पुगे । त्यहाँसम्म पुग्न खेप्नु परेका अनेक हण्डर अहिले पनि उनको मनमस्तिष्कमा ताजै छन् । धनगढीदेखि बाजुरा सदरमुकामसम्म ढुवानी गर्न सहजै हुने भए पनि त्यहाँबाट कम्तीमा चार दिन खच्चडबाट बोकाउनुको विकल्प थिएन । झोलीगुन्टा बोकेर टंक बिष्ट र काँसीराम बजगाईं दुई साथीलाई लिएर उनी १० दिनको कठिन यात्राका लागि धनगढीबाट निस्किएका थिए ।
धनगढीबाट हिँडेको पाँचौं दिनमा उनको टोली हुम्लाको श्रीनगर पुग्यो । त्यहाँ पुग्दा स्थानीयले उनलाई मायाका साथ स्वागत गरे । २२ परिवारका लागि ५०५० किलो चामल र दाल, तेल, साबुन हस्तान्तरण गरिसकेपछि फर्किने बेला विपन्न हुम्ली परिवारले गहभरि आँसु झार्दै ‘हाम्लाई कहिल्यै नबिर्सनु होला है’ भनेको अहिले पनि झल्झल्ती सम्झन्छन् उनी । ‘घर फर्कंदासम्म तिहार गइसकेको थियो । तर हुम्लीले दिएको मायाले तिहारको सम्झनै भएन,’ उनले भने ।
हुम्लाको अभियान सकेर फर्किने बेलासम्म स्नातक तहका भर्नाहरू खुलिसकेका थिए । उनको पढाइको भने टुंगो थिएन । भर्ना हुन आवश्यक खर्च थिएन उनीसँग । एक दिन लम्की बसपार्कमा डुल्दै गरेका बेला लम्कीचुहा नगरपालिका–२ का वडाध्यक्ष विष्णु ढकाल आफ्नो छोरालाई काठमाडौं पठाउन आएका बेला भेटिए । ‘अनायासै ढकालले मलाई तिमी पनि मेरो छोरासँगै काठमाडौं जान्छौ त भनेर सोधे, मैले हुन्छ नि भनें,’ खनालले सम्झँदै भने, ‘वडाध्यक्षज्यूले आफ्नै छोरासँग बस्न खान मिलाई दिनुभयो ।’
काठमाडौंमा उनी नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा भर्ना भए र दैनिक कलेज जान सुरु गरे । काठमाडौं खाल्डोमा पुगेकै पहिलो दिन राजधानी भएर पनि त्यहाँ ब्याप्त धूवाँधूलो र फोहरमैलाले उनको मन कुँडियो । पढाइसँगै सामाजिक अभियान गर्नुपर्छ भन्ने सोच पलायो उनमा । कैलालीमा रहँदै ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्मले अघि बढेका केपीले काठमाडौंमा पाइला टेकेको हप्ता दिनमै ‘क्लिन काष्ठमण्डप’ अभियान सुरु गरे ।
आजकाल उनी केन्द्रीय राजधानी काठमाण्डौं र देशका विभिन्न सहरका सडक चोकमा झाडुसहित सरसफाई अभियानहरु चलाउदै आएका छन् । जुँगाको रेखी पनि राम्ररी नबसेको युवाकै नेतृत्वमा सयौं युवाहरू झाडु लिएर फोहर उठाउँदै गर्दा थपडी बजाउनेको संख्या बाक्लिदै गएको छ । स्वम्सेवी रुपमा अभियान सञ्चालन गरिरहेका उनलाई बढिभन्दा बढि संख्यामा युवालाई राष्ट्र निर्माणका अनेक अभियानहरुमा जोड्ने उनको ध्येय छ । ‘म बदलिन्छु र मेरो देश बदलिन्छु’ भन्ने भावना जनजनको मनमा स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य भएको उनी बताउँछन् ।

Share This
  • 5.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5.3K
    Shares