गोठालोदेखि राष्ट्रपतिसम्म

गोठालोदेखि राष्ट्रपतिसम्म

१५ माघ (काठमाण्डौ)
महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले । आगोको मुस्लोले कसैको घर छाडेन । थानी यादव र रामभत्ति यादवको मंसिर महिनामा चोथो छोरा जन्मिएका थिए । परिवारका सबै सदस्य आगो निभाउनका लागि कोही इनारको पानी तान्ने, कोही जोगिएका मालसामान बाहिर निकाल्न थाले ।
घरमा एक महिना नपुगेको बच्चा छ भन्ने कसैलाई हेक्का भएन । भाइलाई कुरेर बसेका थिए साहिँला छोरा रामसुन्दर यादव । उनी पनि आगोबाट जोगिन घर देखि अलि पर त गए तर भाइको मायाले तानिरह्यो । उनले भाइलाई आगोबाट कसरी निकाल्ने मेसो पाएनन् । उनले हार गुहार गर्न थाले । भाइ भित्रै छ बाहिर निकाल्दिनुस् ।
उनको रोदनपछि कसैलाई त्यहाँ बच्चा छ भन्ने भएछ क्यारे आगोबाट छलिँदै त्यो बच्चा भएको घर भित्र पस्यो । मंसिरको चिसो महिनामा टोकरीमा सुतिरहेको बच्चालाई बोकेर बाहिर निकाले ती मान्छेले । अनि रामसुन्दर यादवको हातमा राखीदिए ।
त्यही बच्चा कालान्तरमा नेपालको पहिलो राष्ट्रपति भए । राजनीतिक आन्दोलनका कारण २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो । मुलुक गणतान्त्रिक यात्रामा सामेल भयो । राष्ट्रप्रमुख राष्ट्रपति हुने भए । नेपालकै प्रमुख राष्ट्रपति हुने अवसर प्राप्त गरे १९९९ सालको सपहीको आगोबाट जोगिएका तिनै बालक रामवरण यादवले ।
भैंसी चराउँदै कुस्ती खेल्दै हुर्किएका यादव
राणाकालमा हुर्किएका यादव बच्चैबेलादेखि स्कुल गएका होइनन् । त्यतिबेला राणा सरकारले विद्यालय खोलेको थिएन । रामवरणको परिवार किसान । मौसमअनुसारको खेती लगाउने, वस्तुभाउ पाल्ने नै जीविकाका लागि मुख्य पेशा थियो । स्वाभाविक रुपमा बच्चैबाट यादवले पनि घरको काम गर्न थाले ।
भारतको नजिक उनको गाउँ । भारतमा भने विद्यालयहरु थिए । त्यसैको हावा नेपालको तराईंमा पनि लागेको थियो । अलि खान लाउन सक्नेहरुले गाउँमै शिक्षक राखेर पढाउने चलन थियो । सपहीमा पनि भारतमा पढेका व्यक्तिहरु पढाउन आउँथँ जसलाई सबैले गुरुजी भन्थे ।
त्यतिबेला गाउँमा औपचारिक स्कुल नभए पनि त्यसरी नै भारतबाट आएका गुरुजीहरुले गाउँकै तोकिएको स्थानमा पढाउँथेँ । मैथिलीमा पढाइ हुन्थ्यो । गणित, कखरालगायतको विषयको । तिनै गुरुजी भएको ठाउँमा पढ्न जान यादवका पिताले अह्राए । रामवरण यादव तिनै गुरुजीकोमा पढ्न जाने अनि दिउँसो फुर्सदको बेला घरमा काम सघाउन थाले । । उनको जिम्मामा गाईभैंसी चराउने काम पथ्र्याे ।
गाउँमा कखरा सिकेपछि भने घरबाट एक घण्टा पैदल हिँडेर पुग्ने ठाउँमा विष्णुप्रसाद उपाध्यायले स्कुल खोलेका थिए । त्यही स्कुलमा रामवरणले कक्षा ४ सम्म पढे । कक्षा ५ पढ्न भने जनकपुर जानुपर्ने भयो । गए पनि तर जसै फेरि गाउँमा आगलागी भयो उनी र उनका साथीहरु गाउँ फर्किए । यादवलाई कसैले पढ्न जा भनेनन् । उनले पनि आवश्यक ठानेनन् । गाईभैंसीको गोठालो र कुस्ती खेलेर बिताइदिए ४ वर्ष ।
खेल्ने समय भैंसी चरिरहेको बेलामा हुन्थ्यो । खेलिरहेको बेलामा वस्तुभाउ कहाँ पुगे के भयो के वास्ता । त्यो मौसममा सबैको बारीभरि खेसरी उत्पादन हुन्थ्यो । बारीमा वस्तुभाउ पसेर कसैको खेसरी खाइदिन्छ । त्यसपछि खेतधनीले उनीहरुलाई गाली गछर्न् । उरेन्ठेउला यादव समूहले तिनै खेतधनीलाई हात हाल्छन् । यो हल्ला गाउँभरि फैलियो । यादवका बाबु थानी यादवले छोराको नेतृत्वमा खेतधनी कुटिएको भन्दै माफी माग्नुपर्‍यो । जब यो घटना घट्यो त्यसपछि भने यादवको दैनिकी बदलियो । बिहान उठेर खाजा खाएर सयौँ गाईभैंसीको नेतृत्व गर्दै जंगल चहार्दैै हिँड्ने ठिटो अब बिहान उठेर नित्य कर्म सकेर किताब कलम च्याप्दै पाइथागोरसको हिसाबका सूत्रदेखि न्यूटनका विज्ञानका थ्योरीसम्म पढ्नुपर्ने भो ।
यही घटनापछि उनका बाबुले राजदेव शाहलाई भेटाइदिए । उनकै निगरानीको ७र८ महिनाको पढाइपछि सात कक्षाको परीक्षा दिने भए सरस्वती हाइस्कुलमा ।
विवाह हुुनुअघि भिडन्त
कक्षा सातमा पढ्न भनी जनकपुर गएका यादवको विवाहको कुरा चलेछ घरमा । त्यतिबेला विवाह हुनुअघि केटाकेटीको उचाइ नाप्ने चलन थियो । जनकपुरमा आएका आफन्तले पनि यादवको उचाइ नापे । यो सँगै यादवलाई घरबाट बोलावट भयो ।
त्यो बेलाको समय केटाले विवाह गर्न गइदिने मात्र थियो । सानै भएकोले होला कोसँग कुन दिन विवाह गर्ने अत्तोपत्तो हुँदैन्थ्यो । रमदैया भवाडी गाउँबाट विवाहको प्रस्ताव आयो । केटाको घरमा केटी पक्षका मानिसहरु गई विवाहको टुंगो लगाइयो ।
त्यो गाउँको केटीसँग विवाह हुन सकेन । कारण यादवका मामाले जिलेखादेवी यादवसँग विवाह गर्ने बताइदिएका थिए । त्यतिबेला यादवलाई पहिलो किन क्यान्सिल भयो दोस्रो किन भयो भन्ने थाहा थिएन । ‘सम्भवतः त्यतिबेला परिवार, केटीको आनीबानी, आर्थिक हैसियत पहिले टुंगो भएको परिवारको मामालाई मन परेको थिएन,’ यादवले भने, ‘त्यो विवाह क्यान्सिल भयो र अरु नै सँग विवाह भयो ।’
टीकाटाला गरिसकेपछि विवाह यसरी रद्द हुँदैनथ्यो । आक्रोशित रमदैया भवाडी गाउँकाले सपही गाउँमा आक्रमण गरे । करिब ३ घण्टा चल्यो यो भिडन्त । तर यादव परिवार टसकोमस भएन । अन्ततोगत्वा रामवरण यादवको विवाह दोस्रोपटक टीकाटाला गरिएकी जिलेखादेवीसँग भयो ।
विवाह सकेपछि यादव जनकपुर सरसस्वती हाइस्कुलमा पढ्नका लागि हिडेँ । त्यतिबेलाको चलनमा छोरीलाई खासै पढाइन्नथ्यो । ‘मधेसी मूलका छोरीलाई त पढाउँदैनथे,’ यादवले भने, ‘म पढ्दा भने पहाडी मूलका एकदुई जना छात्रा थिए ।’ २०२० सालमा एसएलसी दिएका यादव दोस्रो श्रेणीमा उत्तीर्ण भए । जसै एसएलसी पास गरे तराईतिर पढेकाहरु भारतमा उच्च शिक्षाका लागि जाने गर्थे तर यादवले भने राजधानी ताके र उच्च शिक्षाका लागि हाँकिए काठमाडौँ ।
अस्कलको पढाइ
प्लेन चढेर काठमाडौं आएका यादव झोँछेमा बस्ने भए । ‘त्यतिबेला काठमाडौंमा निकै हरियाली थियो,’ यादवले भने, ‘मैतीदेवि डिल्लीबजारतिर खासै बस्ती थिएन ।’ द्वारिकाप्रसाद मानन्धरको घरमा बसेका थिए, त्यो घरमा अरु धेरै विद्यार्थी बस्थे ।
त्रिचन्द्रकलेजमा विज्ञान लिएर पढ्ने भए । कारण ? ‘मलाई अरु पेशाभन्दा डाक्टरी पेशा इज्जतको हुन्छ पैसा पनि हुन्छ भन्ने लाग्थ्यो,’ यादवले भने, ‘गाउँमा आएका डाक्टरहरुले धेरै मानमनितो पाएको देख्दा जसरी पनि डाक्टर हुन्छु भन्ने लागिरहन्थ्यो ।’
यादव कक्षा आठमा पढ्दा नै पिता बनिसकेका थिए । उनका छोराको नाम चन्द्रमोहन थियो । काठमाडौं घरदेखि निकै टाढा । हावापानी चालचलन संस्कृति सबै फरक यादवलाई घुलमिल हुन सकस भइरहेको थियो । त्रिचन्द्रमा पढिरहेका उनी भौतिक विज्ञानमा राम्रो गर्न सक्दिन कि भन्ने सोच उनको मनमा आयो र परीक्षा दिएनन् । अस्कलमा रिपिटर क्लास भयो । त्यसैमा भर्ना भए । अस्कलको छात्रावासमा उनको बसाइ भयो । अन्ततः उनी ५६ प्रतिशत ल्याएर आइएस्सी उत्तीर्ण भए ।

उनको उद्देश्य डाक्टर पढ्नु थियो । भारतमा कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पनि पाइन्थ्यो । उनले फारम भरे । नाम निस्केन । उनी बिएस्सी भर्ना भए । एकचोटी असफल हुँदैमा हार मान्ने बानी यादवमा थिएन । लडेका पो उठ्छन् नलडेका के उठ्छन् यही भनाइ दोहोर्‍याउँदै फेरि आवेदन दिए यो पल्ट भने कलकत्तामा हुने पढाइमा उनी छानिए तर शुल्क तिर्ने गरी ।
कांग्रेसी डाक्टर
२०३५ सालमा डाक्टरी पढाइ सकिए पनि यादव र यादवका साथीहरु केही समय कलकत्ताको वागडी मार्केट भन्ने ठाउँमा क्लिनिक खोलेर बसे । ‘त्यतिबेला त्यसो गर्नुको कारण समाजसेवा र नेपालीहरुबीच संगठन बनाउनु थियो,’ यादवले भने, ‘डाक्टरी पढाइ सकिएसँगैँ म भित्रभित्र प्रजातन्त्रको सञ्चार भइसकेको थियो ।’
केही समयपछि यादव नेपाल आए । उनी नेपाल आउँदा उनका जेठा छोरा आइएस्सीको पढाइ गर्दै थिए । यादवले क्लिनिक चलाउने विचार गरे । यो विचारले साकार रुप पनि मिल्यो । उनले क्लिनिकबाट भएको आम्दानीले परिवारको खर्च सहज बनाए ।
देशको राजनीति बदलिँदै थियो । राजाले जनमत संग्रहको घोषणा गरेका थिए । यादव बहुदलको प्रचारप्रसारमा लागे । ‘त्यतिबेला हाम्रो उद्देश्य प्रजातन्त्र ल्याउनु थियो,’ यादवले भने, ‘गाउँगाउँ गएर बहुदलको पक्षमा प्रचारप्रसार गरौँ ।’
जनमतसंग्रहमा बहुदल पक्षले हारे पनि उनको क्लिनिकमा बहुदल पक्षको भीड लाग्न भने छाडेन । त्यतिबेला यादवलाई कांग्रेसी डाक्टरको ट्याग लाग्थ्यो ।
२०३८ सालमा कांग्रेसकी नेतृ लीला कोइरालाले यादवलाई फोन गरिन् र केही समयका लागि बिपीको निजी चिकित्सक बन्न आग्रह गरिन् । कोइरालाको कुरा एकै वचनमा स्विकार्दै उनी काठमाडौं हानिए र बिपीको निजी चिकित्सक भई काठमाडौंमा बस्ने भए ।
केही महिनापछि यादवलाई जेठा छोरा चन्द्रमोहनले आमा बिरामी भएको खबरसहित फोन गरे । यादवले कलकत्ता लिएर गए । जिलेखादेवीलाई ब्लड क्यान्सर भएको रहेछ । २०३८ साल चैत ९ गते जिलेखादेवीले संसार छाडिन् । कान्छा छोरा चन्द्रशेखर १५ वर्षका थिए । भने छोरी अनु सानै थिइन् ।
स्वास्थ्यमन्त्रीदेखि राष्ट्रपतिसम्म
यादव सत्याग्रह हुँदै ४६ सालको आन्दोलनसम्म निरन्तर सरकारको आँखा छलेर प्रजातन्त्रप्रति कटिबद्ध भइरहे । छोरीको जिम्मा परिवारलाई लगाएर कहिले काठमाडौंमा कहिले धनुषामा बसेर राजनीति सँगै स्वास्थ्य सेवा सञ्चालन गरिरहे । यादव गिरफ्तारमा पनि परे । तर प्रजातन्त्र प्रतिको आस्था यति मजबुत थियो कि गिरफ्तार र प्रहरीको डण्डाले गल्ने वाला थिएन ।
२०४६ साल चैत २६ गते बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । यो सँगै नयाँ संविधान बन्यो । २०४८ सालमा भएको निर्वाचनमा नेपाली कांगे्रसले २०५ सिटमा ११० सिट प्राप्त भयो । यादव धनुषा क्षेत्र नम्बर पाँचवाट निर्वा्चित भए ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । रामवरण यादव स्वास्थ्य राज्यमन्त्री भए । राज्यमन्त्री भए पनि स्वास्थ्यमन्त्रीको मातहतमा नभएकाले क्याबिनेटमा यादव नै सहभागी हुन्थे । मन्त्रालयको निर्णय गर्ने हैसियत यादवमा नै थियो ।
स्वास्थ्य राज्यमन्त्री छँदा आफूहरुले देशैभरि स्वास्थ्य संस्था निर्माणमा जग बसालेको बताउँछन् यादव । ‘अहिले जति पनि स्वास्थ्य चौकी छन्, घट्दो मातृमृत्युदर, बाल मृत्युदर पनि त्यतिबेलाकै कार्यक्रमले सफल भएका हुन्,’ यादवले भने, ‘जनताको घरघरमा स्वास्थ्य सेवा सुलभ हुनुपर्छ भन्ने ध्येयले त्यो काम गरिएको थियो ।’
अन्य क्षेत्र हेरी जनकपुरमा किन गुणस्तरीय स्वास्थ्य सेवाको अभाव होला ? भन्ने हाम्रो जिज्ञासामा यादवले भने, ‘त्यो क्षेत्रका जनता कत्तिको आर्थिक रुपमा सबल छन् भन्ने कुराले भर पार्छ । यो क्षेत्रमा गरिबी बढी छ ।’
२०५१ सालको चुनावमा यादवले पराजय भोगे तर २०५६ मा भएको चुनावमा भने जित हात पारे । यसपटक पनि उनी स्वास्थ्यमन्त्री भए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । नेपाली कांग्रेसको आन्तरिक किचलोले भट्टराई प्रधानमन्त्रीबाट बहिर्गमन भए पनि यादव भने स्वास्थ्यमन्त्रीमा यथावत भइरहेँ ।
त्यसपछि देशको राजनीतिले कोल्टो फेर्‍यो । २०५८ जेठ १९ मा राजा वीरेन्द्रको परिवारको वंश नाश भएपछि राजा भएका ज्ञानेन्द्रले शाही कु गरेर आफ्नै बाबु महेन्द्रको बाटो समाते । जसै देशमा निरंकुश शासन व्यवस्था लगाइयो । सात दल र तत्कालीन विद्रोही माओवादी मिलेर २०६२÷६३ मा गरेको आन्दोलनले २४० वर्षको राजतन्त्रको अन्त्य गर्‍यो ।
२०६४ चैत २८ गते भएको चुनावमा नेकपा माओवादीले अन्य दलले उछिन्दै पहिलो भयो । संविधानसभाको चुनावपछि २०६५ साल जेठ १५ गते मुलुक औपचारिक रुपमा गणतन्त्र यात्रामा प्रवेश गर्‍यो । राजनीतिक दलहरुबीच लामो रस्साकस्सीबीच चुनाव भयो र नेपाली कांग्रेसका उम्मेदवार यादव राष्ट्रपतिमा साउन चारमा विजयी भए ।
उनको कार्यकाल विवादमुक्त भने हुन सकेन । कटुवाल प्रकरणले केही विवादमा ल्याए पनि सात वर्ष लामो राष्ट्रपति पदमा आसीन भएका यादवले २०७२ साल असोज ३ गते संविधान जारी गरे । संविधान जारी गर्नेबेला तपाईंको मुहारमा खुसी देखिँदैनथ्यो नि?
हाम्रो प्रश्नमा यादवले भने, ‘तराई जलिरहेको थियो । म चाहन्थेँ संविधान जारी भएपछि कतै दियो कतै मुस्लो नबलोस् जताततै दियो बलोस् ।’ २०६४ पछि यादवका समकालीन छुट्टै मधेसवादी दल खोलेर लागे पनि यादवले भने मूलधारको राजनीति छोडेनन् । ‘मेरा लागि हिमाल पहाड तराई एकै हुन् ।, यादवले भने यी तीनमध्ये एक को कमी भयो भने नेपाल पूरा हुन सक्दैन ।’ नागरिकबाट

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares