अब स्वास्थ्य चौकीमै अल्ट्रासाउण्ड सेवा,

अब स्वास्थ्य चौकीमै अल्ट्रासाउण्ड सेवा,

१५ माघ (धनगढी)
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा जिल्लाका स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई २१ दिने अल्ट्रासाउण्ड तालिम धनगढीमा सुरु भएको छ ।
बुधबारदेखि सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिममा दार्चुलाका ७, डडेलधुराका ६, डोटीका २ र बझाङको एक स्थानीय तहका स्वास्थ्य चौकीका नर्सिङ स्टाफहरु सहभागी रहेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक शिद्धराज भट्टले बताए । यसअघि केही स्थानीय तहकालाई पहिलो चरणमा कोहलपुरमा तालिम सञ्चालन गरिदै आएको छ ।
निर्देशनालयले प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीलाई पोर्टेबल अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराउने योजना बनाएको छ । त्यसका लागि सम्बन्धित स्वास्थ्य चौकीका एसबीए तालिमप्राप्त स्टाफनर्स वा अनमीलाई यो तालिम दिन लागिएको भट्टले बताए । ‘तालिम र अल्ट्रासाउण्ड भएपछि गाउँमै गर्भजाँच गर्न सकिने र मातृ सुरक्षामाको अवस्थामा सुधार ल्याउन सकिने छ’ भट्टले भने, ‘अहिले अन्तिम अवस्थामा मात्रै जोखिमको अवस्था जानकारी हुने भएकाले विकटमा गर्भवती तथा सुत्केरीको मृत्यु दर बढेको हो । गाउँमै समयमै मेसिनद्धारा जाँच गरेर गर्भभित्रको शिशुको अवस्था थाहा भए जोखिम न्यूनिकरण गर्न सकिने हुन्छ ।’
सामाजिक विकास मन्त्रालयका निमित्त सचिब झंकर बहादुर बिष्टको अध्यक्षतामा सञ्चालन भएको तालिम कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार शेर्पाले गरेका थिए । कार्यक्रममा बोल्दै सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले यस कार्यक्रमले दुरदराजका गर्भवती महिलाहरुको स्वास्थ्य जाँचमा ठूलो योगदान पुग्ने बताए ।

Share This
  • 539
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    539
    Shares