स्याउ फल्ने डाँडामा गज्जबकाे नर्सरी

स्याउ फल्ने डाँडामा गज्जबकाे नर्सरी

१५ माघ (बैतडी)
०६० अघि सुख्खा फलफूल विकास केन्द्रको सुख्खा डाँडामा प्रशस्तै स्याउ फल्थ्यो । हिमपात भइरहने भएकोले उत्पादन राम्रो हुन्थ्यो । यहाँ फलेको स्याउ तराईसम्मै पुग्थ्यो । तर अहिले यहाँ स्याउ देख्न पाइँदैन । बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित केन्द्रमा अहिले फलफूलका बिरुवा उत्पादन हुँदै आएको छ ।
हिउँ कम पर्ने र परिहाले पनि केही दिनसम्म मात्र रहने भएकोले यहाँ स्याउ फल्न छोडेको कृषि प्राविधिक बताउँछन् । केन्द्रमा फलेका स्याउको स्वाद अहिले पनि सम्झनामा रहेको दशरथचन्द नगरपालिका–४ की वसन्ती क्षेत्रीले बताइन् । कुनै समय प्रतिकेजी ८ आनादेखि ६ रुपैयाँसम्ममा स्याउ किनेर खाएको दशरथचन्द–१, मुस्याचौरका देवदत्त भट्टले बताए । उनले भने, ‘निकै रसिसो, ठूला दाना भएका स्याउको माग बजारमा धेरै थियो । तर, बिस्तारै उप्पादनै हुन छोड्यो । अहिले त स्याउका बोट मात्र देख्न पाइन्छ ।’
०१९ मा बागवानी विकास केन्द्रको स्थापना भयो । पछि यसलाई फलफूल विकास केन्द्र नाम दिइयो । केन्द्रले स्याउ फल्न छोडेपछि विभिन्न फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ । कलमी र बिजुमार्फत ओखर, स्याउ, नासपती, कागती, जैतुन, कागजी बदाम, आरु, आरुबखडालगायतका बिरुवाहरू उत्पादन गरिँदै आएको छ । सुख्खा फलफूल विकास केन्द्र ओखरका बिरुवा कलमीबाट उत्पादन गर्ने नेपालको पहिलो केन्द्र समेत हो । यहाँ बदामका बिरुवा पनि पाइन्छ । अहिले देशका विभिन्न जिल्लामा यहीँबाट बिरुवा लैजाने गरिन्छ । केन्द्रमा उत्पादन भएका बिरुवाको अन्य बजारमा अत्यधिक माग रहेको केन्द्रका निमित्त कार्यालय प्रमुख वरिष्ठ
बागवानी अधिकृत डम्मरसिंह भाटले बताए । बिरुवा बिक्रीबाट लाखौंको राजस्व उठ्ने गरेको छ । गत वर्ष १२ लाख रुपैयाँका फलफूलका बिरुवा बेचेको कार्यालयले यो वर्ष २० लाखका बिरुवा बिक्री हुने अनुमान गरेको छ । भाटका अनुसार कार्यालयले फलफूलका बोटसँगै वर्षे तरकारी खेती पनि गर्दै आएको छ ।
केन्द्र आसपासका किसानले गुरुखोला, मुस्याचौर, सद्बाँझलगायत स्थानमा २४ वटा नर्सरी निर्माण गरेका छन् । उनीहरूले नर्सरीमा फलफूलका बिरुवा उत्पादनसँगै तरकारी खेती पनि गर्दै आएका छन् । केन्द्रका कर्मचारीले सहजीकरण गर्ने गरेकाले स्थानीय कृषकले निजी नर्सरी बनाएका हुन् । उनीहरूले उत्पादन गरेका बिरुवाले पनि राम्रो बजार पाएका छन् ।

Share This
  • 369
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    369
    Shares