देशभर शिक्षक दरबन्दी मिलान शुरु

देशभर शिक्षक दरबन्दी मिलान शुरु

१४ माघ, (काठमाडौ)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्रिपरिषद्बाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि २०७६ पास भएसँगै मन्त्रालय शिक्षक पुनर्वितरण शुरु गरिएको हो ।
कार्यविधिमा दरबन्दी पुनर्वितरण गर्दा साविकमा रहेका प्राथमिक विद्यालय, निमावि, मावि र उच्च माध्यमिक तहलाई आधार मानेर पुनर्वितरण गर्ने जनाइएको छ ।
कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएर स्थानीय तह, पालिका, प्रदेश र जिल्लामा बढी भएका शिक्षकको पुनर्वितरण हुने लागेको हो । शैक्षिकसत्र २०७७ सँगै सबै तहमा पुनर्वितरण हुने गरी काम शुरु गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए । १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुनेछ ।
बढी भएका पालिकाबाट कम भएका पालिकामा, कम भएका जिल्लाबाट अर्को जिल्लामा र बढी भएका प्रदेशबाट कम भएका प्रदेशमा दरबन्दी मिलान गर्ने प्रक्रिया बुधबारबाट शुरु हुने जनाइएको छ।
दरबन्दी वितरण गर्दा सरकारले उपलब्ध गराएको प्रावि, (महिला शिक्षा परियोजना समेत), निमावि, मावि र उच्च माविको दरबन्दी, राहत अनुदान कोटालाई समेत गणना गर्ने, शिक्षक आवश्यकताको पहिचान गर्दा स्थानीय तहमा वित्तीय हस्तान्तरण प्रयोजनका लागि जिल्ला शिक्षा समितिले विद्यालयमा बाँडफाँड गरेको दरबन्दीलाई आधार मानेर जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको देशैभरको प्राथमिक तहको बचत हुन आउने दरबन्दी, निमावि र मावि तहमा मिलान गर्ने उल्लेख छ ।
हाल देशैभर प्रावि तहको दरबन्दी बढी देखिएको छ । देशभर करिब ५५ हजार शिक्षक अपुग रहेको तथ्यांक यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रावि तहमा काम गरेका शिक्षकलाई योग्यता र वरिष्ठताको आधारमा निमावि तहमा पठनपाठन गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
मन्त्रालयले हिमालमा ४०, पहाडमा ४५ र तराईका लागि ५० विद्यार्थी अनुपातको आधारमा दरबन्दी पुनर्वितरण गर्ने तयारी गरेको छ । प्रदेशभित्रको अर्को जिल्लामा दरबन्दी मिलान गर्दा जिल्ला शिक्षा इकाइको समन्वयमा प्रदेश मन्त्रालयले गर्ने छ ।
शिक्षक पुनर्वितरण गर्ने बढी अधिकार स्थानीय र प्रदेश सरकारलाई दिएको छ । बढी (पुल) मा रहेको दरबन्दी स्थानान्तरण गर्दा सम्भव भएसम्म रिक्त रहेको राहत अनुदानलाई प्राथमिकता दिने, राहत अनुदानलाई स्थानान्तरण गर्दा खुद पुल दरबन्दी बाँकी भएमा रिक्त दरबन्दीलाई स्थानान्तरण गर्ने, खुद पुल दरबन्दी पुनर्वितरण गरेको वा गरिने स्थानीय तहमा स्वेच्छिक रुपमा जान चाहने शिक्षकका लागि निवेदन आह्वान गरी उपयुक्तता हेरी स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेको छ ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares