प्रदेश सरकारले प्रेस नियन्त्रण गर्न खोजेको आरोप

प्रदेश सरकारले प्रेस नियन्त्रण गर्न खोजेको आरोप

सुदीप थापा, १४ माघ (धनगढी)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले प्रेस स्वतन्त्रता नियन्त्रण हुनेगरि कानुनको तयारी गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दर्ता गराएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ माथि प्रदेशसभामा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।
विधेयकमाथि सुरु भएको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भारत खड्काले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए । उनले भने, ‘मन्त्री आफै बोर्डको अध्यक्ष हुने कुरा उचित होइन । नियमन र नियन्त्रण अलगअलग कुरा हुन् ।’ राजपा सांसद मालमती रानाले संघीय कानुन नआउदै प्रदेशमा यो विधेयक ल्याउनु उचित नभएको बताइन् । विषयगत समितिमा विधेयकका प्रावधान सम्बन्धमा गहन छलफल हुनुपर्नेमा कांग्रेस सांसद खड्काले जोड दिए ।
बैठकमा बोल्ने सत्तारुढ दलका सांसदहरुले भने दर्ता भएको विधेयकका प्रावधानमा कुनै कमीकमजोरी भए विषयगत समितिमा छलफलको चरणमा सच्याउन सकिने बताए । ‘अहिलेको जमानामा प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै कदम कसैले चाल्न सक्ने अवस्था होइन’ सांसद पूर्णा जोशीले भनिन्, ‘विधेयककै प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भनेर उल्लेख भएकोले अन्य प्रावधानहरुमा कुनै बद्नियत राखेको छ भन्ने शंका गर्नु हुन्न । अझ पनि विषयगत समितिमा परिस्कृत गर्न सकिन्छ ।’

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares