काजकिरियामा किशोरी

काजकिरियामा किशोरी

१३ माघ (धनकुटा)
सेतो पहिरनमा तीन पुस्ते परिवारका सदस्य बसेका छन् । जसमा १६ वर्षीया नातिनीदेखि ६८ वर्षीय हजुरबुवासमेत छन् । धनकुटाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी विद्यता काजकिरियामा रहेकी छिन्। आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा उनी बसेकी छिन्। वार्षिकीको लागि पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा शनिबार सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएको थियो ।
आइतबार आमाको वार्षिकीको लागि तयारीमा रहेका परिवारजनले छोराकोसमेत ज्यान गएको खबर सुनेर विछिप्त बने। उनी पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको पारिवारिक स्रोतले जनायो। अकल्पनिय खबरले मर्माहत बनेको मृतकका बाबु(विद्यताका हजुरबुबा) शान्तबहादुरले आँसु झार्दै बताए ।
सुरुमा अशुभ खबर सुनेका उनले घरपरिवारका सदस्यलाई त्यस्तो खबर कसरी सुनाउने भन्ने सकस भएको सुनाए। ‘जे आइहाल्छ त्यो भोग्नैपर्ने,’ उनले भने, ‘आखिर नातिनीले आफै काजकिरियामा बस्छु भनेपछि सबैले स्वीकार गर्यौं। उनी पत्नीको निधन भएको वर्ष दिन नपुग्दै छोरालाई गुमाउनु पर्दा शोकमा डुबेका छन्।
बुबाको निधनको खबरपछि खप्न गाह्रो भएपनि सम्हालिएको विद्यता बताउँछिन्। पोखरामा बुबा आमाका साथका रहेकी उनी हजुरआमाको वार्षिकीको लागि आमासँग गाडीमा घर फर्कंदै थिइन्। बाबु र भान्जा दाजु मोटरसाइकलमा र आमा छोरी गाडीमा आउँदै गर्दा घटना भएको उनले बताइन्। पढेर जागिर खाएर बुवाको सपना साकार पार्ने उनले सुनाइन् ।
बाबुको निधन भएपछि शोकमा डुबेको परिवारलाई सान्त्वना दिँदै छोरी विद्यताले आफैं बाबुको काजकिरीया गर्न जिद्दि गरेको छिमेकी शान्तिराम गौतमले बताए। ‘उनको अठोट र समझदारीलाई देख्दा हामी अचम्मित भयौं,’ उनले भने, ‘सबैलाई मनाएर उनी काजकिरियामा बसेकी छिन्। बबाको निधनले सुरुमा निकै विछिप्त बनेकी उनी आफै सम्हालिँदै सबैलाई सम्झाइबुझाइ गरिन्। उनलाई साथ दिन हजुरबुबा शान्तबहादुरसमेत छन्। पोखरामा व्यापार व्यवसाय गर्दै आएका कुँवर नेकपाका नेतासमेत थिए। उनी पोखरामा वाणिज्य संघको सदस्यसमेत रहेको परिवारले बतायो। कान्तिपुरबाट

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares