बालविवाहले बिचल्ली

बालविवाहले बिचल्ली

११ माघ (धनगढी)
बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीकी जानकी सार्की अहिले २२ वर्ष पुग्नै लागिन् । १६ वर्षको हुँदा विवाह गरेकी उनका ४ वर्ष र ३ वर्षका २ छोरा छन् । ९ कक्षामा पढ्दै गर्दा परिवारले विवाह गरिदियो । घरको दबाबले विवाहपछि पढाइ छोडिन् । घरबार सुधार्नकै लागि पढाइ छाडे पनि जानकीले सोचे जस्तो भएन । रक्सी र गाँजाको कुलतमा फसेका श्रीमान्ले यातना दिइरहन्थे ।
सासुससुराले सम्झाउनुका साटो उल्टै छोरालाई उक्साउँथे । उनी सामान्य प्रतिवाद पनि गर्न सक्दिन थिइन् । कुटाइ सहन नसकेर उनी धेरै पटक भागेर माइती पुग्थिन् । अबदेखि यसो गर्दैनौं भन्दै फकाएर घर ल्याउँथे । तर घर आइसकेपछि यातनाको रुप अझै चर्को हुन्थ्यो ।
‘यति धेरै यातना दिए कि म सम्झिन पनि चाहन्नँ,’ जानकीले भक्कानिँदै भनिन्, ‘यस्तो पीडा सहनुभन्दा त मर्नु बेस भनेर धेरै पटक पासो लगाउन गएँ । तर बालक छोराहरूको माया लागेर मर्न सकिनँ ।’ अति भइसकेपछि उनी अहिले घर छोडेर सदरमुकाम खलंगामा डेरा लिएर बसेकी छन् । उनी सम्बन्धविच्छेदको प्रक्रियामा छिन् । ‘आमाबुबाको वचन काट्न नसकेर सानैमा विवाह गरेँ,’ उनले भनिन्, ‘त्यही दिन मेरो जीवन नरकमा धकेलिएको रहेछ । अहिले पछुतो लाग्छ ।’ बैतडीकै दोगडाकेदार गाउँपालिका–८ की पार्वती बिष्टको पीडा पनि उस्तै छ । १५ वर्षको उमेरमै उनको विवाह भयो । एउटा छोरा पनि जन्मियो । तर, नेपाल प्रहरीमा कार्यरत श्रीमान्ले प्रहरीमै जागीरे अर्की महिलासँग विवाह गरेर घरै आउन छोडे । घरकाले पनि उनलाई हेला गर्न थाले । अहिले उनी माइतीमा बस्छिन् । सानैमा विवाह गराइदिएर आफ्नो जीवन बर्बाद भएको उनको गुनासो छ ।
बझाङको खप्तडछान्ना गाउँपालिका–७ की सत्य चौहानको कथा र पीडा भने उनीहरूको भन्दा फरक छ । १४ वर्षको उमेरमा छिमेकी गाउँका देव चौहानसँग उनको माया बस्यो । भागेर विवाह गरिन् । जिन्दगी ठीकै चल्दै थियो । श्रीमान् एसएलसी पास गरेर पढ्नका लागि धनगढी गए । यतिन्जेल उनका २ वटा छोरी जन्मिसकेका थिए । जब श्रीमान् दशैं बिदामा घर फर्किए, उनको व्यवहार परिवर्तन भएको थियो । ‘कुनै न कुनै बहाना बनाएर कुट्न थाले । घर छोडेर जा भन्न थाले,’ उनले भनिन् । श्रीमान्ले अर्कै केटीसँग सम्बन्ध बनाइसकेको र आफूलाई घरबाट निकाल्न त्यसो गरेको उनले थाहा पाइन् । सासुससुरा पनि छोराकै पक्षमा उभिए । माइतीको शरणमा पुगेकी उनले त्यहाँबाट पनि साथ पाइनन् । उनी अहिले सदरमुकाममा बस्दै आएकी छन् ।
सानैमा विवाह गरेका कारण अलपत्र परेका माथिका महिलाहरू उदाहरण मात्र हुन् । अलपत्र परेपछि आश्रय र न्याय खोज्दै बेसहारा जीवन बिताउनेहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । सुदूर पहाडका सदरमुकामका सुरक्षित महिला आवास गृह पीडितहरूले भरिएका छन् । प्रहरीमा उजुरीका चाङ छन् । बालविवाहले बिचल्लीमा परेका दर्जनौं महिला सदरमुकाम क्षेत्रमा निम्न स्तरको मजदुरी गरिरहेको भेटिन्छन् । केही वर्ष पहिले अभिभावकले दबाब दिएर बालविवाह गराउँथे । अहिले सानैमा भागेर प्रेमविवाह गर्नेको संख्या उल्लेख्य रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
‘बझाङको सदरमुकाममा मात्र यस्ता महिलाहरू ४०र५० जना छन् । जिल्लाभरि त एक हजारभन्दा बढी होलान्,’ महिला सुरक्षा गृहकी पूर्व प्रमुखसमेत रहेकी अधिकारकर्मी सीता सिंहले भनिन् । सानैमा विवाह हुँदा श्रीमतीहरू निरक्षर र अर्धसाक्षर हुने उनले बताइन् । पुरुषहरू सहरतिर पढ्न जाँदा उतै पढेलेखेकी केटीसँग विवाह गर्ने र पहिले विवाह गरेको श्रीमतीमाथि हिंसा हुने गरेको उनको बुझाइ छ ।
परिवार र समाजले समेत नराम्रो नजरले हेर्ने भएकाले धेरै महिलाहरू अलपत्र पर्ने गरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । ‘अदालतले न्याय दिएकाहरू पनि परिवारको डरले घर जान सकेका छैनन्,’ उनले भनिन् । पछिल्लो ३ वर्षमा महिला अधिकार मञ्च बझाङमा मात्र बहुविवाहका कारण हिंसामा परेको भनेर ३५ जनाले निवेदन दिएका छन् । बालविवाह गरेका १७ जनाले हिंसा भएको भन्दै निवेदन दिएको मञ्चकी अध्यक्ष जयन्तीले बताइन् ।
दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती एैरी कार्कीले बालविवाह मात्र रोक्न सकिए महिलामाथिको आधाभन्दा बढी हिंसा आफै हट्ने जनाइन् । उसो त सुदूर पहाडका जिल्लामा बालविवाह रोक्न विभिन्न अभियान पनि चलेका छन् । स्थानीय तहले पनि जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउँछन् । तर अझै बालविवाहको अवस्था भयावह छ । बैतडीमा कतिले बालविवाह गरेका छन् भन्ने एकिन तथ्यांक कुनै निकायसँग छैन ।
स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार गर्भजाँच गराउन आउनेहरूमा ७० प्रतिशतभन्दा बढी २० वर्षमुनिका छन् । आर्थिक वर्ष २०७३र७४ मा ५७६ जना, २०७४र७५ मा ४०७ जना २० वर्ष नपुगेका बालिका गर्भवती जाँच गर्न आएको स्वास्थ्य कार्यालयको अभिलेख छ । गत आर्थिक वर्षमा पनि यहाँ ३३९ जना २० वर्ष मुनिका बालिकाहरू गर्भवती भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म १११ जना बालिका गर्भवती भई स्वास्थ्य संस्थामा पुगेका छन् । सरकारले महिलाको विवाह गर्ने उपयुक्त उमेर २० वर्षपछि तोकेको छ ।
पढाइमा असर
सानैमा विवाह गरेका धेरैजसोले विवाहपछि पढाइ नै छोडिदिने गरेका छन् । पढाइलाई निरन्तरता दिन चाहनेहरूको पनि पहिले र विवाहपछिको सिकाइ उपलब्धि निकै न्यून हुने गरेको शिक्षकहरू बताउँछन् । विवाहित छात्राले पढाइभन्दा बढी घरधन्दाबारे सोच्ने गरेको बझाङको तल्कोट गाउँपालिकामा रहेको हिमालय माध्यमिक विद्यालयकी शिक्षिका जानकी बिष्टले बताइन् । देवेश्वरी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कवि महरले विवाहपछि छात्राहरू विद्यालयमा कमै उपस्थिति हुने बताए । यस विद्यालयमा मात्र ५०र६० जना विद्यार्थीहरूले विवाह गरेको र उनीहरू ७ देखि १० कक्षाका विद्यार्थी रहेको महरले जानकारी दिए । कान्तिपुरबाट

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares