अग्निलाई सभामुख, शिवमायालाई मन्त्री

अग्निलाई सभामुख, शिवमायालाई मन्त्री

०६ माघ (काठमाण्डौं)
नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार राति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक संवादपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा स्रोतका अनुसार सचिवालय बैठकको सुरुवातमै ओलीले ‘हामीले सभामुखको टुंगो लगाएका छौँ, तपाईंहरूको धारणा बुझ्न र निर्णय गर्न बैठक बोलाएका हौँ’ भनेका थिए । त्यसपछि अर्का अध्यक्ष प्रचण्डले ‘अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने हामी दुई अध्यक्षबीच सहमति बनेको छ । यसमा तपाईंहरूको सुझाब के छ ?’ भनेर प्रस्ताव अगाडि बढाएका थिए । लगत्तै, अरू नेताहरूले ‘तपाईंहरूको सहमतिमा प्रस्ताव आएको भए हाम्रो समर्थन छ’ भनेका थिए ।
यसअघि सापकोटाको नाम टुंगो लगाएर बालुवाटारबाट आफ्नो निवास खुमलटार फर्किने क्रममा प्रचण्डले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिबारे जानकारी गराएका थिए । पार्टी एकीकरणअघिको भागबन्डाअनुसार नै सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने विषयमा प्रचण्डलाई नेपालले पनि साथ दिँदै आएका थिए ।
ओली र प्रचण्ड दुवैले निकट विश्वासपात्र नेतालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका थिए । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्को हिउँदे अधिवेशनबाट पारित गराउनुपर्ने र विपक्षीहरूको आक्रामक प्रस्तुतिलाई पनि झेल्ने पात्र खोजी गरिरहेका ओली अनुकूल व्यक्तिलाई सभामुख बनाउने योजनामा थिए । ओलीको पहिलो रोजाइमा अनुभवी सुवास नेम्वाङ थिए । तर, प्रचण्डले आफूमाथि चर्को दबाब रहेको र पूर्वभागबन्डाका आधारमा पूर्वमाओवादी समूहले नै सभामुख पाउनुपर्ने अडान राखेका थिए । उनको अडानलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसँगै सचिवालय सदस्य वामदेव गौतमले पनि समर्थन गर्दै आएका थिए ।
पछिल्लो निर्णायक छलफलमा प्रचण्डले ओलीका मुख्य दुई चासो सम्बोधन गर्न आश्वस्त पार्दै सापकोटालाई सभामुखमा निर्णय गराउन मनाएको नेकपा उच्च स्रोतले जनाएको छ । नेकपाले उम्मेदवारी टुंग्याएसँगै सोमबार डाकिएको प्रतिनिधिसभा बैठकबाटै सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ । सोमबार बिहान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दर्ता गराएमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ । सोमबार नै कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठक सञ्चालन र कार्यसूचीबारे निर्णय गर्नेछ । नेकपामा सभामुखबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक तीनपटक सूचना टाँसेर स्थगित भएको थियो ।
उपसभामुखको व्यवस्थापन गर्न ओली–प्रचण्ड सकारात्मक
पार्टी निर्णय कार्यान्वयनका लागि सोमबार बिहानसम्म राजीनामा दिएमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको उचित व्यवस्थापनका लागि अध्यक्ष ओली र प्रचण्ड सकारात्मक देखिएका छन् । उनलाई सहरी विकास वा कानुन मन्त्रालयको जिम्मेवारी दिन दुवै अध्यक्ष तयार रहेको नेकपा स्रोतले जनाएको छ । महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको व्यवस्थापन त कुनै ठूलो कुरै होइन, राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह र अपेक्षा मात्र हो ।’ प्रचण्डसँग सहमतिलगत्तै ओलीले बालुवाटार बोलाएर उपसभामुख डा. तुम्बाहाङ्फेलाई राजीनामाका लागि आग्रह गरेका थिए । तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई निर्णय चित्त नबुझेको भन्दै सभामुखमा बढुवा नगर्नु र राजीनामा गर्नुपर्ने लिखित कारण चाहिने पुरानै अडान दोहोर्‍याएको उनीनिकट स्रोतले जनाएको छ । नयाँ पत्रिकाबाट

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares