आज माघे संक्रान्ति, सुदूरपश्चिममा कसरी मनाइन्छ ?

आज माघे संक्रान्ति, सुदूरपश्चिममा कसरी मनाइन्छ ?

१ माघ (धनगढी)
नेपालीहरुले परम्परागत रुपमा मनाउँदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति । यसलाई विभिन्न नामले पुकार्ने गरिन्छ । जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । थारु समूदायले नयाँ बर्षाका रुपमा मनाउने गर्छन् । आज हिन्दुधर्मालम्बीहरुले मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व धुमधामका साथ मनाइरहेका छन् । सबैजसो हिन्दुधर्मालम्बीहरुले विहानैदेखि नदी, तलाउ, त्रिवेणीहरुमा स्नान गरी यो पर्वको आरम्भ गरेका छन् । सुदूरपश्चिममा भने नजिक पर्ने पबित्र नदी, कुण्ड, तलाउ, कुवा वा पधेंरामा ठुल्ठुला काठका मुडाहरु जम्मा गरिएका हुन्छन् । जसलाई ठुलो चाङ लगाएर राखिन्छ । पुष अन्तिम रात त्यही नजिकै समुदाय भरिकै मानिसहरु जम्मा भएर ‘जाग्राम’ बस्छन् । आजदेखि ‘माघेत्यार’ सुरु भएको छ ।
सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले मनाउने गर्दछन् । यहाँको समुदायमा परम्परागत रुपमा यस पर्वको बिशेष महत्व छ । छुट्टै मौलिकता छ । ‘त्यार’ डोटेली भाषाको शब्द हो । जसको अर्थ चाडपर्व भन्ने हुन्छ । माघेसंक्रान्तीमा मनाईने भएकाले यसलाई यहाँको समुदायमा ‘माघेत्यार’को नामले सदियौदेखी प्रचलित छ । यहाँको समुदायमा पौषको अन्तिम रातको बिशेष महत्व हुन्छ । जसलाई माघ महिनाको स्वागतको रातको रुपमा बुझिन्छ ।


जहाँ माघेत्यारका लागि पाकेका पकवानहरु बिशेषगरी तरुल, कन्दमूल, तिल, घ्यू, चाकुबाट बनेका परिकारहरु खादै दन्त्यकथा, लोककथा, गाउँखाने कथा सुनाएर रात बिताईने प्रचलन छ । यसबाहेक भजनकिर्तन, लोक देउडा लगायतका खेलहरु खेलिन्छ ।
त्यसपछि बिहान सबेरै त्यही छेउमा रहेको मुडाको चाङमा आगो लगाएर स्नानकर्म गर्दै आगो तापेर जीउ सेक्ने प्रचलन रहीआएको छ । यसबाट हिउँदे जाडो भगाउने, बिभिन्न रोगब्याधिहरुको अन्त हुने लगायतको जनविश्वास रहीआएको पाईन्छ ।
यसैक्रममा माघको पहिलो दिन शिबालय तथा देवालयहरुमा दर्शन गर्ने तथा मेला लाग्ने पनि गर्दछन् । पछिल्ला केही बर्षयता पबित्र धाम, नदी तथा कुण्डहरुमा ‘महास्नान’ मेलाहरु समेत आयोजना हुन थालेका छन् ।
माघेसंक्रान्तीमा पबित्र स्थानमा गएर स्नान गर्नाले पुण्यप्राप्ती हुने मान्यता छ । ‘धर्मग्रन्थहरुमा माघ महिनालाई धर्मिक महिना मानिएको छ,’ पण्डित केशबराज ओझा भन्छन्,‘यसैले माघ महिनामा पवित्र तिर्थस्थलमा गएर स्नान गर्दा पुण्यप्राप्ती हुने मान्यता छ । यसमा पनि माघे संक्रान्ती, माघ शुक्लपक्ष द्वादशी र माघ शुक्ल पक्षको पुर्णिमा झन बिशेष मानिन्छ ।’
यसबाहेक माघेत्यारमा बिबाहिता छोरीहरुलाई घरमा बोलाएर मिठो मसिनो खुवाउने प्रचलन छ । माघेसंक्रान्तीकै दिनबाट पुरै माघ महिनाभरी छोरीचेलीहरुलाई भेट्न जाने, उनीहरुलाई कोशेली स्वरुप आमाको हातको पकवानहरु दिने प्रचलन पनि छ ।
यसलाई ठाउँ अनुसार ‘त्यार’, ‘माघेत्यार’ ‘त्यारमाणो’ लगायतका नामले चिनिन्छ । बिशेषगरी यो कोशेली आमाले पकाउने र दाईभाई दिन जाने प्रचलन हुन्छ ।
यसलाई छोरीचेलीको हकको रुपमा पनि लिईन्छ । यसका लागि बिबाहिता छोरीचेली बाटो कुरेर बसेका हुन्छन् । माघ एकगतेकै दिनबाट सुर्य उत्तरायण लाग्ने पनि मान्यता छ । माघेसंक्रान्तीको दिनबाट चिसो घट्दै जाने र गर्मीयाम शुरु हुने मान्यता छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।
माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ ।

विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् ।पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ ।
जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुरयाउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares