‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

२८ पुस (धनगढी)
महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन ्।
आइतबार नयाँ पत्रिका टोली पुग्दा अछामको तुर्माखाँद गाउँपालिका–५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् । मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी–देउताको,’ कलाले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु ?’
खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् । श्रीमान् रोजगारका क्रममा भारतमा छन् । चाडबाडका वेला मात्रै फर्किन्छन् । निरक्षर कला महिनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन् । छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला कि भन्ने डर पनि उनमा देखिन्छ ।
धाङ्टाकै हरिकला जोशी महिनावारी भएको दुई दिनदेखि भैँसीगोठमा बसिरहेकी छन् । माटो र ढुंगाले बनेको उनको दुईतले घरको भुँइतलामा गाईभैँसी बाँध्ने गोठ छ । घरको आँगनमुनि रहेको छाउगोठ प्रहरी र गाउँपालिकाको टोलीले भत्काइदियो । यहीबीच उनी महिनावारी भइन् । तत्काल छाउगोठ बनाउन सक्ने अवस्था नभएपछि भैँसीगोठमै बस्न थालेको उनले बताइन् । ‘अहिले बनाउन सकिएन, अर्कोपल्ट महिनावारी हुँदा छाउगोठमै बस्छु,’ ४९ वर्षीया हरिकलाले भनिन् । महिनावारी भएको वेला घरभित्र बस्दा परिवारका सदस्य बिरामी हुने, गाईभैँसी मर्ने, घरभित्रै सर्पहरू देखिनेजस्ता विपत्ति आउने हरिकलाको बुझाइ छ ।
तुर्माखाँदको जस्तै छाउगोठ भत्काउने अभियान अछामका सबै स्थानीय तहले चलाएका छन् । गत मंसिरमा साँफेबगर नगरपालिकाकी पार्वती बुढाको छाउगोठमै मृत्यु भएपछि ९ पुसदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको हो । अहिलेसम्म जिल्लाभर एक हजार ६ सय छाउगोठ भत्काइएका छन् । तर, महिला हिंसाको चरम रूप छाउपडीबारे ग्रामीण महिलाहरूको बुझाइ यति रुढीवादी छ कि उनीहरू नै महिनावारी भएका वेला भित्र बस्न तयार छैनन्न् । छाउगोठ बस्नुलाई उनीहरू ‘संस्कार’ भन्ने बुझ्छन् । ‘सरकारले जसरी छाउगोठमा बस्न पाइदैन, कारबाही गर्छौँ भनिरहेको छ, त्यसरी नै धर्म, संस्कार मान्न पाइदैन पनि भनिदिनु पर्‍यो । होइन भने हामीले परम्परादेखि मान्दै आएको संस्कार मान्न दिनुप¥यो’, हरिकलाले भनिन् ।
तुर्माखाँद–५, कि अमृता जैशीको हठ पनि उस्तै छ । परिवारका सदस्यले भित्र बस्न भने पनि आफू नबस्ने उनले बताइन् । ‘महिनावारी हुँदा आँगनमा त जाँदैनौं, घरभित्र कहाँ बस्नु ?,’ उनले भनिन्, ‘ महिनावारी भएका बेला घरभित्र बस्दा देवीदेउता रिसाएर परिवारका सदस्यलाई केही भइहाले के गर्ने ?’ भत्काइएको छाउगोठ बनाउन नसके पाल टाँगेरै भएपनि बाहिरै बस्ने उनको भनाइ छ ।
घरका अभिभावक पनि महिलालाई महिनावारी हुँदा घरभित्र राख्न स्वीकार्दैनन् । स्थानीय ७५ वर्षीय हिउखर जोशीले देउता रिसाउने भएकाले महिनावारी हुँदा महिलालाई घरभित्र राख्न नसकिने बताए । ‘छाउगोठ भत्काइदिए, महिनावारीलाई भित्र राख्दा केही भइहाले के गर्ने ? देउताले बस्न दिए पो बस्न दिने हो,’ जोशीले भने ।
सानो घर भएका महिलाले घरभित्रै बसेर छाउ बार्न समस्या भएको बताएका छन् । तुर्माखाँद चामेतोलीकी अमृता बिकको खरले छाएको तीन कोठे घरमा दुई भाइको १४ जनाको परिवार बस्छ । ‘ठूलो परिवार छ, अहिले नै बस्न समस्या छ, महिनावारी हुँदा कहाँ बस्ने ? छिमेकीको घरमा जानुपर्ने अवस्था आएको छ’, उनले भनिन् ।
अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले माघ महिनासम्म जिल्लाका सबै ९० वटा वडा, फागुन १५ भित्र सबै स्थानीय तह र फागुन मसान्तभित्र जिल्लालाई नै छाउगोठ मुक्त घोषणा गर्ने गरी अभियान चलिरहेको बताए । ‘तर, कतिपय ठाउँमा भने भत्काएका छाउगोठहरू पुनः बनाउन थालिएको भन्ने सुनेका छौँ, त्यस्तो भेटिए कारवाही हुन्छ’, श्रेष्ठले भने–‘छाउगोठ भत्काएपछि कसैको घरमा बस्न समस्या भयो, अरु विकल्प भएन भन्ने पनि सुनिन्छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,विकल्पको कुरै होइन, अरुबेला जुन ठाउँमा बस्यो, महिनावारी हुँदा पनि त्यही ठाउँमा बस्नुपर्यो भन्ने हो । महिनावारीलाई सामान्य अवस्थाका रुपमा बुझ्नु पर्ने उनले बताए ।
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा भन्छन्–भत्काइएका गोठ फेरि बन्न पनि थालेका छन् ।
सरकारी तथा गैरसरकारी निकाय परिचालन गरेर छाउगोठ भत्काउने अभियान सञ्चालन भएको छ । अछाम जिल्लामा १६ सय र हाम्रो गाउँपालिकामा मात्र करिब तीन सय छाउगोठ भत्किएका छन् । तर, छाउगोठ भत्काएर मात्र यो प्रथा तत्काल अन्त्य हुने अवस्था छैन । भौतिक गोठ भत्कायौँ, तर मान्छेका मनमा भएका गोठ भत्किएका छैनन् । परम्परागत रूपमा चल्दै आएको रुढिवादी संस्कारले महिनावारीलाई अभिशाप मान्दछ, श्राप हो भन्दछ । महिनावारी भएका महिलालाई छुट्टै व्यवहार गर्नुपर्छ भन्ने संस्कार छ । त्यसैले यो तत्कालै अन्त्य हुन्छ भन्न गाह्रो छ । तर, हाम्रो प्रयास निरन्तर जारी रहनुपर्छ ।
भत्काइएका गोठ बनाएर फेरि महिलाहरू बसेको सुन्नमा आएको छ । गोठहरू निर्माण पनि भइरहेका छन् । अब पनि कसैलाई छाउगोठमा राखेमा त्यस्तो परिवारलाई गाउँपालिकाले दिने कुनै पनि सुविधा दिँदैन र सिफारिस पनि गर्दैन भनेका छौँ । किनकि, यो अमानवीय संस्कार हटाउन हामी पनि कठोर हुनुपर्ने आवश्यकता छ । सँगसँगै चेतना अभियानको पनि आवश्यकता छ, त्यसमा पनि हामीले जोड दिएका छौँ । अर्को कुरा, भूबनोटका आधारमा यताका घरहरूले पनि यो संस्कारलाई बढावा दिएका छन् ।
घरमा जम्मा दुई कोठा हुन्छन् । कहाँ खाना पकाउने ? कहाँ सुत्ने ? महिनावारी भएको वेला महिलालाई सम्मानजनक कोठा कहाँ दिने ? त्यो चुनौतीको विषय पनि रहेको छ । त्यसैले घरको संरचनामा पनि परिवर्तन ल्याउनुपर्छ भनेर हामी लागेका छौँ । नयाँपत्रिकाबाट

Share This
  • 396
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    396
    Shares