आहा नयाँ लाप्राक

आहा नयाँ लाप्राक

१९ पुस (काठमाण्डौ)
बारपाकबाट हानेको २०७२ को भूकम्पको धक्काले नजिकैको लाप्राक बस्तीमा रहेका पाँच सय ७३ घरधुरी गल्र्यामगुर्लुम ढले। घर मात्र ढलेनन्स घरभित्र, आँगन, बारी, वनपाखामा रहेका २४ जना चेपिएर, पुरिएर मरे, २५ जना घाइते भए। मान्छे मात्रै मरेनन्, गाउँमाथिबाट ठूलो पहिरो झर्‍यो। दायाँबायाँ, तलमाथि, चारैतिर पहिरो झर्‍यो। पाक्दै गरेको गहुँबारी बगेर स्वाट्टै चेर्बु खोलामा पुग्यो ।
मरेकाहरू त मरे, ज्यूँदा भएकाहरू पनि त्रासैत्रासमा मरेसरह भएर बाँच्नु पर्‍यो। गोलो झरेपछिको बारुलाझैं गाउँलेहरू तितरबितर भए। कोही रिन्जिलुङ, कोही गुप्सीपाखा, कोही भूमिडाँडा, तुम्साङतिर छरिए ।
अधिकांश गाउँले गुप्सीपाखामा टहरो बनाएर बसे। गुप्सीपाखा भूकम्पको केन्द्रबिन्दु बारपाकबाट लाप्राक जाने बाटोमा पर्छ। यसलाई मोटरबाटोले छोएको छ। तर लाप्राक गाउँसम्म मोटरबाटोको सुविधा थिएन। लाप्राकको पुरानो गाउँ पुग्न यहाँबाट एक घण्टा ओरालो झर्नुपर्छ। त्यसैले राहत तथा उद्धारमा खटिएका एनजीओकर्मीहरू गुप्सीपाखासम्म मात्र पुग्थे। सहयोगदाताहरू गुप्सीपाखासम्म मात्र आउने भएपछि अन्यत्र छरिएका गाउँले पनि गुप्सीपाखामै केन्द्रित हुन थाले ।
त्यति बेला लाप्राकीहरू पुरानो थलोमा बस्न सक्ने अवस्थामा थिएनन्। २०५६ सालमा गाउँमाथिबाट बग्दै आएको पहिरोले गाउँका दलित बस्तीका आधा दर्जन घर बगेका थिए। साथै सिंगो गाउँ रहेको जमिन नै बर्से्नि बगिरहेको थियो। अध्ययनका लागि लाप्राक पुगेका भूगर्भ्विद्ले गाउँ रहेको जमिन निरन्तर बगिरहेकाले गाउँका पाँच सय घरधुरी नै अन्यत्र पुनःस्थापित हुनुपर्ने सुझाव दिएका थिए ।
गुप्सीपाखा दुई हजार सात सय मिटर उचाइमा पर्ने खुला ठाउँ हो। हिउँदका बेला तल्लो भेगमा पानी बर्सिन थालेपछि गुप्सीपाखामा हिमपात हुन्छ। भूकम्प गएको नवौं महिना, पुसको पहिलो साता गुप्सीपाखामा भारी हिमपात भयो।
स्याउला र त्रिपालबाट बनेको टहरो हिउँले पुरिन थाल्यो। बर्खाको घामपानीले झुत्रिएको त्रिपाल र स्याउलाको चेपबाट हिउँ पग्लेको पानी चुहिन थाल्यो। सुत्न(बस्न नसक्ने अवस्थामा पुगेपछि लाप्राकवासीको अवस्था दयनीय भयो।
१२ वर्षदेखिको त्रस्त मनोविज्ञानमा बसेका लाप्राकीहरू भूकम्पले साँच्चिकै खेदेपछि पुनःस्थापित हुने ठाउँको व्यग्र खोजीमा थिए। हाल बसिरहेको गुप्सीपाखामा बसोबासको भोगाधिकार पाउन सरकारसम्म कसरत गरिरहेका थिए।
लाप्राकीले हिमपातबाट कष्टकर जीवन बिताइरहेकोबारे पत्रपत्रिकाको फ्रन्ट पेज, टेलिभिजनको हेडलाइन, अनलाइनहरूको ब्यानर समाचार बन्यो। यसले सरकारको ध्यान खिच्यो र २०७२ नेपाल सरकारको पुसको पहिलो हप्ताको बैठकले गुप्सीपाखाको १८.२ हेक्टर जमिनको भोगाधिकार दिई लाप्राकका भूकम्पपीडितलाई घर बनाएर बस्न दिने निर्णय गर्‍यो।
त्यति बेला गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पको केन्द्रबिन्दु बारपाकमा एक हजार घरधुरी बनाइदिने मनशाय व्यक्त गरेको थियो। त्यति बेला एनआरएनएका अध्यक्ष शेष घले थिए। बारपाकमा घले र गुरुङको जाति तथा भाषासम्बन्धी विवाद चुलिएको अवस्था थियो। घले नेतृत्वको एनआरएनको सहयोग छल्न बारपाकका गुरुङहरूद्वारा विभिन्न चलखेल गरिरहेको महसुस भएपछि एनआरएनएले लाप्राकवासीलाई गुप्सीपाखामा एकीकृत बस्ती बनाउने निर्णय गरेको थियो।
२०७३ साल वैशाख १२ गते भूकम्प दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बारपाक र गुप्सीपाखामा पुगेको मौकामा एनआरएनए(राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भई गुप्सीपाखामा लाप्राक बस्ती पुनर्निर्माणको काम सुरु भएको थियो। गुप्सीको एकीकृत नमुना बस्ती पुनर्निर्माण सुरु भएको तीन वर्ष पूरा हुँदै छ। घरहरू प्रायः निर्माण सम्पन्न भइसकेर अहिले तला छाप्ने र शौचालय निर्माण गर्ने चरणमा छन्।
लाप्राक हर्मीपछिको गोरखाको सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो। फाटेको त्रिपालभित्र बर्खाको झरी र हिउँको सिरेटो तीन वर्षसम्म खपेर बस्न सम्भव नभएपछि लाप्राकीहरूले धमाधम पुरानै थलोमा घर उभ्याउन थाले। कसैले नयाँ बनाए, कसैले पुरानैलाई मर्मतसम्भार गरे। भूकम्पको ५७औं महिनामा लाप्राकका शतप्रतिशत बासिन्दा पुरानै थातथलोमा बसोबास गरिरहेका छन्। परिवार संख्या, उब्जनी हुने अन्नबालीको परिमाण सबैलाई पर्याप्त हुने गरी नापजोख गरेर मौलिक ढंगढाँचाको घर बनाएर बसोबास गरिरहेका छन्।
एनआरएनएले घर बनाएर हस्तान्तरण गर्ने भएकाले त्यसरी घर बनाउन सरकारले लाप्राकवासीलाई राहत अनुदान दिएको छैन। उनीहरूले सरकारी अनुदानको अपेक्षा र प्रतीक्षा पनि गरेका छैनन्।
एकातिर पुरानै थलोमा रगत पसिना बगाएर निर्माण गरेको मौलिक घर, अर्का्तिर एनआरएनएले तीन वर्ष लगाएर निर्माण गरिदिएको शौचालयसहितको दुईतले घर कुन रोज्ने ? लाप्राकी अहिले द्विविधामा छन्। यद्यपि एउटा रोजेमा अर्को छोड्नुपर्ने बाध्यकारी व्यवस्था छैन। त्यसैले उनीहरूले स्वतः दुइटा घर पाउनेछन्।
उसोभए कुन घरमा बस्छन् त ? अथवा नबसेको घर केका लागि प्रयोग गर्छन् ?
आफ्नो बारी नजिकको घर, पुस्तौंदेखि मानिआएको सिमेभूमेले रुचाएको ठाउँ। मौलिक परम्परा, रीतिथिति, संस्कार संस्कृति छोडेर जानु हुँदैन। यहीँ जन्म्यौं, यहीँ मर्छौं भन्नेको संख्या पनि छ। अर्का्तिर एनआरएनएले करोडौं खर्च गरेर निर्माण गरेको बस्ती उत्तिकै सुन्दर छ।
गुप्सीपाखा धार्चे गाउँपालिका प्रवेशद्वारमा रहेको छ। दुई हजार सात सय मिटर अग्लो पहाडको १८ हेक्टर जमिनमा एउटै रङका पाँच सय ७३ घर छन्। कान्लाकान्लामा लहरै मिलेर बनेको बस्ती हेर्दा कम्ती सुन्दर देखिँदैन। सरकारी तथा गैरसरकारी संस्थाका विभिन्न कामले धार्चे गाउँपालिका पुग्ने जोकोही यहाँ पुगेपछि टक्क अडिन्छन् वा गाडी रोकेर यहाँको दृश्य हेरेर मोहित बन्छन्। तस्बिर खिच्छन्, सेल्फी खिच्छन् अनिमात्र अघि बढ्छन्।
प्राविधिक परीक्षण गरी निर्माण गरेको पक्की संरचना, सुन्दर योजनाबद्ध बस्ती देखेपछि जोकोही मुग्ध बन्छन्। बस्तीभित्र चोकचोकमा सडक र सबै घरमा शाखा सडक पुगेको छ। गुरुङ बस्ती जनाउने गरी सेतो भित्तामा रातो गेरु लगाएको, नीलो जस्तापाताको छानो छाएको गुप्सी बस्ती बास्तवमै सुन्दर देखिन्छ।
हेर्दा सुन्दर छ, तर बस्ती निर्माण भइसक्दा पनि लाप्राकवासी न खुसी, न दुःखी छन्। किनभने यहाँ बसोबास हुन्छ कि हुन्न भन्नेमा अन्योल छ। यही दोधारे अवस्थालाई ध्यानमा राखेर गणेश हिमाल एसोसिएसनले स्थानीय मणिकामदेवी माविको भवन पनि दुवै बस्तीको मध्य भागमा पर्ने गरी निर्माण गरेको छ। घर हस्तान्तरण नहुन्जेल यो प्रश्नको व्यावहारिक जवाफ पाइँदैन।
धार्चे गाउँपालिका ग्रामीण पर्यटनका लागि प्रचूर सम्भावनायुक्त छ। काठमाडौं बसेर पर्यटन व्यवसाय सञ्चालन गर्ने लाप्राकीको संख्या पनि दुई दर्जनभन्दा बढी छ। यसपटक गण्डकी प्रदेशले धार्चे गाउँपालिका र जिल्ला समन्वय समिति गोरखाको सिफारिसमा प्रदेशस्तरको पर्यटकीय स्थलका रूपमा गुप्सी बस्तीलाई सूचीकृत गरेको छ। त्यसैले पाँच सय ७६ घरधुरी एकैठाउँमा भएको गुप्सी बस्ती विश्वकै ठूलो होमस्टे हुनसक्ने परिकल्पना पनि छ।
यसको सुन्दरतालाई विश्व बजारमा बेच्न सके गुप्सीको मात्र होइन, सिँगो धार्चे गाउँपालिका र गोरखा जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन्। गुप्सीबस्तीसम्म सडकको पहुँच छ। बस्तीमा खानेपानीको व्यवस्था छैन। स्वास्थ्यचौकी, प्रहरीचौकी छैन।
जीविकोपार्जनका लागि यहाँका बासिन्दालाई स्वरोजगार गराउन विभिन्न अवसरको खाँचो छ। मकै, कोदो र आलुका लागि अति उपयुक्त छ। जडीबुटी खेती, अर्गा्निक खेती, भेँडाबाख्रा पालन, राडीपाखी बुनाइका लागि पनि सशक्तीकरण गर्नु यहाँका बासिन्दालाई खाँचो छ। कृषि तथा पशुपालनका लागि पनि यो ठाउँ धेरै नै उपयुक्त भएकाले यहाँका बासिन्दालाई त्यसतर्फ उद्यत गराउनुपर्ने देखिन्छ । अन्नपूर्णबाट

Share This
  • 831
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    831
    Shares