बाजुराबाट डाक्टर, बाजुरामै समर्पित डा. रूपचन्द्र विश्वकर्माको संघर्ष कथा

बाजुराबाट डाक्टर, बाजुरामै समर्पित डा. रूपचन्द्र विश्वकर्माको संघर्ष कथा

१२ पुस (काठमाण्डौं)
भेडा बाख्रा, गाईगोरु पालेर, खेतीपाती गरेर मलाई चिकित्सक बनाउने मेरो परिवारको हैसियत थिएन । पशुपालन परिवारको पुख्र्यौली व्यवसाय थियो । समाजमा रहेको चरम जातीय विभेदबाट माथि उठेर मेरो बुवाले पढ्ने अवसर पाउनुभयो। उहाँ बाजुराको पहिलो दलित समुदायको शिक्षक पनि हुनुहुन्छ । छोराले राम्रो गरोस् भन्ने बुवाको पनि सपना थियो। बुवाले आफ्नो हैसियतअनुसार मलाई एसएलसीसम्म सरकारी विद्यालयमा पढाउनुभयो ।
मलाई ६,७ कक्षामा पढ्दासम्म डाक्टर बन्न के गर्नुपर्छ भन्ने जानकारीसम्म थिएन । तर, विभिन्न समयमा अस्पतालमा एक कुरुवाको रूपमा बस्दा मैले त्यहाँ बिरामीहरूको समस्या, डाक्टर र नर्सले बिरामी र कुरुवालाई गर्ने व्यवहार, हुनेखाने र विपन्न समुदायका व्यक्तिहरूबीच गरिने विभेद र असमानतालाई नजिकबाट महसुस गरेको छु । म १० वर्षको हुँदा मेरी बहिनी जन्मिएकी थिइन् । म त्यस बेला तीन महिना आमालाई अस्पतालमा कुरेर बसेको थिएँ । आमा प्रसूति व्यथाले अस्पतालको बेडमा छटपटाइरहनुभएको थियो। तर, नर्सहरू समयमै आउन सकेनन् । आमाले बहिनीलाई जन्म दिनुभयो । बहिनी जन्मेको २०,२५ मिनेटपछि नर्सहरू आएर बल्ल बहिनीको नाभी काटे । त्यसको दुई महिनापछि फेरि बहिनीलाई निमोनिया भयो । श्वासप्रश्वासमै समस्या आयो । तर, नर्सहरूले कुनै ध्यान दिनुभएन । जब आमाले आफैं उठेर मलाई त्यो सिलिन्डरमा भएको खोक्रो बहिनीलाई लगाइदे भन्नुभयो तब बहिनीलाई सहज भयो ।
हुनसक्छ, जनशक्तिको कमी भएर पनि हो कि ? यी घटनाबाट मैले आफू पनि चिकित्सक बन्नुपर्छ भन्ने चेतना पलायो कि ? त्यहीअनुसार शिक्षा मन्त्रालयबाट प्राप्त हुने छात्रवृत्तिमा छनोट भएँ । त्यसले मेरो चिकित्सा क्षेत्रमा आउने सपना पुरा भयो ।
डाक्टरको परिकल्पना गर्दा आउने चित्र तपाईंको भन्दा मेरो पनि बेग्लै छैन । मैले अघि पनि भनिसकेँ, मैले नजिकबाट बिरामीले भोग्ने पीडा के हो ? सम्पन्न र विपन्नले लिने सेवामा कत्तिको सहज हुन्छ भन्ने कुरा नजिकबाट नियालेको छु । यसले मलाई आफ्नै ठाउँमा गएर सेवा गर्न उत्प्रेरित गर्‍यो। मैले त्यस्तो ठाउँबाट पनि चिकित्सक बनेर समाजका लागि केही गर्न सकिन्छ भनेर देखाउनुपर्ने पनि थियो ।
बाजुरामा निजी क्लिनिकको कुरा होइन, सरकारी अस्पतालमा पाइने निःशुल्क औषधि र सेवासमेत लिन नसक्ने अवस्थाका विपन्न र दलित समुदाय हुनुहुन्छ। उहाँहरूको यस्तो अवस्था छ कि त्यहाँ महिलाहरूले आज पनि उपचार गराउन जाँदा पुरुषको अनुमति लिनुपर्ने अवस्था छ । मैले आफूले पनि जातीय विभेद भोगेको छु । तर, म अहिले जुन ठाउँमा छु त्यहाँबाट मैले दिने सेवा यो जात वा त्यो जातलाई होइन । मेरो सेवा कुनै धर्म, वर्ग र लिंगसँग पनि सम्बन्धित छैन । मैले दिने भनेको ‘र्‍यास्नल ट्रिटमेन्ट’ हो। यति हुँदाहुँदै पनि अवश्य पनि मैले सही र समान सेवा दिँदा त्यसबाट सबैभन्दा बढी को लाभान्वित हुन्छ त भन्दा त्यो दलित समुदाय नै हो । अहिले पनि मेरो समुदायमा स्वास्थ्यको पहुँच हेर्नुहुन्छ भने निकै दयनीय छ । त्यो समुदायसम्म स्वास्थ्यको पहुँच पुर्‍याउँदा दलित समुदाय पनि स्थास्थ्यको पहुँचमा आउनुहुन्छ ।
पछिल्लो समय हामी सरकारी क्षेत्रमा दुई जना चिकित्सक छौं । एउटा विपन्न परिवारको दलित पनि नेपाल सरकारको छात्रवृत्ति पाएर आरक्षण कोटाबाट पनि चिकित्सक बन्न सक्छ भन्ने कतिलाई थाहा थिएन । म गइसकेपछि यो प्रक्रियाबाट चिकित्सा सेवा पढ्न सकिन्छ भन्ने माहोल पनि बन्थो। अहिले साइन्स पढ्ने विद्यार्थीको संख्या बाजुरा जिल्लामा पर्याप्त छ । स्टाफ नर्स, अनमी जस्ता स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन् । एउटा उदाहरण मेरो परिवारमा मात्रै हामी दुई जना दाजुभाइ यो क्षेत्रमा छौं। परिवारभित्रै अहिले आठ जना प्रत्यक्ष रूपमा स्वास्थ्य क्षेत्रमा संलग्न छौं । यसले के देखाउँछ भने दलित समुदायले अवसर पायो भने सबैभन्दा सही तरिकाले त्यसको उपयोग गर्छ र आफ्नो समुदायलाई समेत उत्प्रेरित गर्छ। त्यसका लागि शिक्षा, अवसर र त्यसको बाटो देखाउने मार्गदर्शक व्यक्ति पनि महत्वपूर्ण हुँदो रहेछ ।
सबैले समतामूलक स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने ‘युनिभर्सल हेल्थ कभरेज’को जुन अवधारणा छ । त्यहीअनुरूप नेपाल सरकार स्वास्थ्य मन्त्रालयको चिकित्सक भएका नाताले नीतिगत रूपमा ठाउँमा पुगियो भने बनेका जुन नाराहरूलाई मूर्त रूप दिनका लागि दुर्गम क्षेत्रमा पनि समान किसिमको सबैले पहुँच पाउनुपर्छ भन्ने नीतिगत व्यवस्था गर्न मेरो योगदान रहनेछ। सामाजिक न्यायका लागि स्वास्थ्य सेवामा समुदायको अधिकार स्थापित गर्ने उद्देश्यले दुर्गम क्षेत्रमा मैले सुरु गरेको गाउँगाउँमा चिकित्सक भन्ने अभियानलाई अहिले प्रदेश सरकारले पनि कार्यक्रमका रूपमा अघि बढाएको छ । म यस्तै खालको पहल नेपालका अरू क्षेत्रमा पनि गर्न चाहन्छु। र मेरो ठाउँबाट मैले पढेको विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरेको छु । अनाथ असहाय बालबालिकाकोे क्षेत्रमा पनि काम गर्ने अठोट लिएको छु । त्यसले पनि दलित समुदायको सामाजिक न्यायको सपना पूरा गर्न मद्दत गर्नेछ । शिवहरि ज्ञवालीको प्रस्तुति

Share This
  • 2.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.4K
    Shares