गाउँ छाडेर शहर पसेपछि किसान

गाउँ छाडेर शहर पसेपछि किसान

३ पुस (अर्घाखाँची)
गाउँका युवाहरु किन शहर पस्छन् ? खेतीपाती गर्न । किसान बन्न ।
जवाफ सुनेपछि तपाईं ओठ लेब्राएर उपहासको हाँसो हाँस्नुहोला । वा अविश्वासका साथ भन्नुहोला, ‘सुख(सुविधा खोज्न, पढ्न, जागिर खान, व्यापार गर्न, नेता बन्न छाडेर को पस्छन् खेतीपाती गर्न ?’
त्यसो हो भने आउनुहोस्, ललितपुरस्थित गोदावरी खोलाको किनारमा पुगौं । त्यहाँ एक हुल तन्नेरी भेटिनेछन्, कृषि कर्ममा लीन भइरहेका । कोही हाते ट्याक्टरले बाँझो बारी जोतिरहेका, कोही गोडमेल गरिरहेका, कोही घिरौंला टिपिरहेका, कोही मलखाँद तयार गरिरहेका, कोही सिंचाई गरिरहेका, कोही उत्पादित सागसब्जी भण्डारण गरिरहेका, कोही टनेल मर्मत गरिरहेका ।
८० रोपनी उर्वर फाँटमा उनीहरु आफ्नो पौरख र पसिना सिंचित गरिरहेका छन् । त्यो मलिलो माटो, उर्जा्शिल पाखुरा अनि पौरखी हातहरु । अरु के चाहिन्छ ? हराभरा बनाउनलाई ।
तपाईंलाई हामी टनेलभित्र प्रवेश गराउनेछौं । पहिलो टनेल, जहाँ बाँसका भाटाले बनाइएको दुई तहका पलंग देखिनेछ । पलंगमा ओछ्यान । उनीहरु यही रात कटाउँछन् । अब अर्को टनेलमा उक्लौं जो एक कान्ला माथि छ । टनेलको प्रवेशद्वारसँगै बाँसका भाटाले बनाइएका लामो टाँड छ । टाँडमाथि भर्खरै टिपिएका ताजा सागसब्जी छ । दायाँतर्फ बाँसकै टेबल छ, दुईतिर बस्न मिल्ने टाँडको बिचमा । त्यसभित्र ग्यास चुल्हो र चिउरा, अण्डा, प्याज, खुर्सानी आदि थन्को लगाइएको छ । यो उनीहरुको भान्सा हो । थकाई लागेको बेला सुस्ताउने चौतारी पनि । अर्थात उनीहरु यही श्रम गर्छन्, यही थकाई मार्छन्, यही खान्छन्, यही सुत्छन् ।
अब अर्को कान्लामा उक्लदै जाँदा भने गिरिराज कुखुराको खोर, औजार थन्को लगाउने भण्डार भेटिनेछ । त्यसपछि लटरम्म फलेका घिरौला, गोलभेडा, काउलीले आगन्तुकको आँखा लोभ्याउनेछ ।
यी दृश्य नियालेपछि तपाईंको मनमा केही उत्सुकता जाग्नेछ । जस्तो कि, किन उनीहरु कृषि(कर्ममा जाँगर चलाइरहेका छन् ? लगानी कसरी जुटाए ? कति सागसब्जी उत्पादन गर्छन् ? कहाँ बेच्छन् ? नाफा(घाटा के छ ? एउटा कुरा भनिहालौं । यस खेती(किसानीमा ८ जना युवा सम्मिलित छन् । १८ बर्षदेखि २८ बर्ष उमेर समूहका । उनीहरु सबै अर्घाखाँचीका हुन् ।
कथा सुरु गरौं उनीहरुको योजनाको गर्भधानबाट । पढ्न आए, किसान भए । अर्घाखाँचीका रेशमराज आचार्य पढ्ने सिलसिलामा काठमाडौं आए, २०६८ सालमा । जनमैत्री बहुमुखी क्याम्पसमा भर्ना भए । नजिकै डेरा लिए । गाउँबाट पढ्न आएका युवालाई यो शहरले उति न्यानो व्यवहार गर्दैन । रेशमराज यसको अपवाद हुने कुरै भएन । उनले कामठाडौंको डेरामा कष्टका दिनहरु खेपे । यी कष्टबाट पार पाउनका लागि केही गर्नैपर्छ भन्ने लाग्यो । उनीसँगै हातेमालो गर्न आइपुगे, खिब बहादुर थापा र बालकृष्ण पनि ।
तीन जना विद्यार्थी मिले र भक्तपुर बागेश्वरीमा ९ रोपनी जग्गा लिए, भाडामा । बर्षेनी प्रति रोपनी ९ हजार तिर्ने सर्तमा । यसरी भाडाको जग्गामा उनीहरुले टनेल हाले । गोलभेडा, काउली, काक्रा लगाए । कुल लगानी भयो, पाँच लाख रुपैयाँ ।
तीन जनाले जनही एक लाखको दरले घरबाटै पैसा मगाए । बाँकी अपुग पैसा सर(सापट खोजे । त्यसपछि आफै बाँसको भाटा तयार गर्ने, टनेल बनाउने, बारी खन्ने, रोप्ने, गोडमेल गर्ने काममा खटिए । मेहनतको फल खेरो गएन । पहिलो बर्षमै उनीहरुले ९ लाख रुपैयाँ कमाए । लगानी कटाएर चार लाख रुपैयाँ उब्रियो । उनीहरु हौसिए, ‘अहो ! गरे त यही हुने रहेछ ।’
मल र माटोमा लगाव
उनीहरुको लगाव पाठ्यपुस्तकमा भन्दा मल र माटोमा बढ्न थाल्यो । रेशमराज सुनाउँछन्, ‘त्यसपछि हामीले अरु साथीहरु पनि सामेल गर्दै गयौं । किनभने लगानी पनि बढाउने र आम्दानी पनि बढाउने योजनामा थियौं ।’
२०७२ सालमा उनीहरुको समूह बढेर १४ जनाको भयो । कम्पनी दर्ता गरे, एस एन ग्रुप अफ कम्पनिज । सबैले आ(आफ्नो तर्फबाट लगानी गर्ने । सक्नेले पैसा लगाउने, पैसा लगाउन नसक्नेले श्रम । श्रम त सबैका लागि अनिवार्य नै भयो । अघोषित सर्त थियो, लगानी गर्ने जतिले सबै काम पनि गर्नुपर्ने । खन्ने, जोत्ने, गोड्ने, मलजल गर्ने, टिप्ने, बेच्ने । भ्याएजति सबै काम । कसैले घरबाट पैसा लिए, कसैले साथीभाई(आफन्तसँग सरसापट गरे, कसैले सहकारीलाई गुहारे । ३२ लाख रुपैया जुट्यो ।
किसान बन्ने लस्करमा अरु साथीहरु थपिएपछि उनीहरुले थप फराकिलो जग्गा खोजे । ५० रोपनी जग्गा फेला पर्‍यो, किर्तिपुरमा । जग्गा १० बर्षका लागि भाडामा लिए, बाषिर्क ६ लाख रुपैयाँ तिर्नेगरी । जग्गा त मिल्यो तर सिंचाई गर्ने पानी छैन ।
दुई हजार मिटर तल खोलाबाट पानी ल्याउने व्यवस्था गरे, दुई इन्चको पाइपमा ।
किर्तिपुरको पचास रोपनी जग्गा हराभरा भयो । मनग्ये सागसब्जी उत्पादन भयो । आफै रोप्ने, आफै गोडमेल गर्ने, आफै बजारमा पुर्‍याउने । लगानी र श्रम अनुरुप मुनाफा आर्जन भयो । उनीहरुको उत्साह, जाँगर र जोश अनुरुप पचास रोपनी जग्गा साँघुरो भयो ।
थप जग्गा खोज्दै गोदावरीको रचनाटार पुगे । स्थानिय एक साथीलाई टिममा सहभागी गराए । उनैको सहयोगमा ८० रोपनी जग्गा मिल्यो । उक्त जग्गा पनि १० बर्षका लागि भाडामा लिए । बाषिर्क १२ लाख रुपैयाँ तिर्नेगरी । यहाँ सिंचाईको समस्या थिएन । मनग्ये पानी थियो ।
किर्तिपुरमा टनेल बनाउन अर्घाखाँचीबाटै बाँस ल्याएका थिए । तर, बाँसको टनेल टिकाउयुक्त थिएन । गोदावरीमा भने फलामको टनेल बनाउने निधो गरे । एकातिर जग्गाको आयतन बढेको थियो, अर्को्तिर लगानीको आकार पनि ।
चर्को व्याजमा ऋण
यतिबेला उनीहरुको संख्या घटेर ८ जना भएको थियो । रेशमराज आचार्य, खिब बहादुर थापा, दिल बहादुर गैरे, किसान थापा, बलबहादुर थापा, डुकबहादुर झाक्री, विकास आचार्य र श्यामकृष्ण पोखरेल । बाँकी साथीहरु पढ्न र आफ्नो कामधन्दा सम्हाल्नमा लागे ।
‘एक करोड पचास लाख भन्दा बढी लगानी हुने देखियो’ आचार्य भन्छन्, ‘हामी यसैपनि ऋणमा थियौं, अरु ऋण थप्दै गयौं ।’
फेरी उनीहरुले आ(आफ्नो तर्फबाट ऋण खोज्न थाले । कसैले आफन्त, साथीभाईसँग सापट मागे । कसैले शहकारीबाट लिए । ३६ देखि ५६ प्रतिशतसम्म व्याज बोके । कालिमाटी कृषि बजारका व्यापारीसँग पनि गुहार मागे । उनीहरुले ८, १० लाख रुपैयाँको दरले सापटी दिए ।
सबैतिरबा पैसा जुट्दै गएपछि उनीहरुको हिम्मत बढ्यो । गोदावरीको माटो अब उनीहरुको भयो । मलजल गर्ने, बिउ(बिजन लगाउने काममा खटिए । कसैले कुटो कोदालो सम्हाले, कसैले टनेल बनाउने जिम्मा लिए । फलाम वोल्डिङ गर्ने, बाँसको भाटा तयार गर्ने, छाप्रो बनाउने सबै काम उनीहरुले नै गरे । हेर्दाहेर्दै टनेलले भरिए फाँट । सागसब्जीले भरिए टनेल । उत्पादित सागसब्जी बेचेर आर्जन भएको आधा रकम त ऋण र व्याजमै जाने । अब भने एकमुष्ठ ऋण चुक्ता नगरेसम्म व्याजले रुवाउने छाँट देखे उनीहरुले ।
गाउँघरबाट आ(आफ्नो जग्गाको धनीपूर्जा बटुले । सैयौं रोपनी जग्गाको धनीपूर्जा भयो । धनीपूर्जा बोकेर बैंकको ढोका चाहर्न थाले । ‘गाउँको सैयौं रोपनी जग्गा राख्दा पनि २०, २२ लाख भन्दा बढी दिन तयार भएनन्’ आचार्य भन्छन्, ‘त्यसपछि हामी बैंकको ढोका चाहर्नै छाड्यौं ।’
भन्नलाई त कृषिप्रधान देश । युवाहरुले कृषिकर्म गर्नुपर्छ भनेर उपदेश दिइन्छ । तर, व्यवहारिक हिसाबले खेती किसानी गर्नु निकै कठिन छ । उनीहरुको अनुभवले यसै भन्छ । ‘बैंकले जग्गा र गाडी किन्न पैसा दिन्छ’ आचार्य भन्छ, ‘तर, खेतीपाती गर्छु, उद्यम गर्छु भन्यो भने कन्जुस गर्छ ।’
यतिनै बेला उनीहरु आफ्नो गुनासो लिएर राष्ट्रिय युवा परिषदका कार्यकारी प्रमूख माधव ढुंगेलकहाँ पुगे । आफ्नो व्यथा सुनाए । कमाएजति ऋणको व्याज तिर्नै ठिक्क भएको दुखेसो गरे ।
एकदिन उनै माधव ढुंगेलले एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानलाई लिएर कृषि र्फममा आइपुगे । उनीहरुले युवाहरुको कृषिकर्म नियालेपछि ढुक्कसाथ भने, ‘तपाईंहरु तुरुन्तै बैंकमा आउनुहोस्, हामी सहयोग गर्छौं ।’ धितो चाहिएन, विश्वासले पुग्यो । बैंकका अध्यक्षले उनीहरुलाई विश्वास गरे र जनही १० लाख रुपैयाँको दरले । जम्माजम्मी ८० लाख । बैंकमा आवश्यक प्रक्रिया पुरा गरेपछि उनीहरुले सहजै यो पैसा पाए । यत्तिका रकमले उनीहरुको उद्यममा राम्रै भरथेग गर्‍यो ।
छोराको कर्म देखेपछि
काठमाडौं पढ्न पठाएका छोरो जागिरे भएर फर्केलान् । आमाबुबाले यस्तै सोचे होलान् । सुरुवाती दिनहरुमा छोराहरु खबर सुनाउँथे, ‘राम्रोसँग पढ्दैछु । कलेज धाउँदैछु । दुःखसुख चलाउँदैछु ।’
तर, छोराहरु यतिबेलासम्म पढेर जागिरे होइन, मल(माटोसँग खेल्ने किसान भइसकेका थिए । ‘पढ्छु’ भन्दै शहर पसेका छोराहरु किसान बनेर गाउँ फर्किए । छोराहरुले जाँगर चलाएको देखेपछि बुवाआमाको मन पनि हराभरा भयो । बाँझो बारी मलिलो बनाए । छोराले जस्तै खेतीपाती गर्नतर्फ लागे ।
‘अहिले हामी आफ्नै गाउँका सबैलाई उन्नत र व्यवसायिक खेतीपाती गराउने अभियानमा जुटेका छौं’ उनीहरुले उत्साहित हुँदै सुनाए, ‘अब गाउँमा पनि जग्गा लिएर काठमाडौंमा जस्तै कृषि र्फम खोल्नेछौं ।’ अब उनीहरुको समग्र ध्यान खेतीपातीमा लाग्नेछ । उनीहरु पौरखी किसान बन्नेछन् । अनि गर्वसाथ भन्नेछन्, ‘हामी किसान हौं ।’ अनलाइनखबरबाट

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •