सुदूर पहाडमा बाक्लो हिमपात, राजमार्ग अवरुद्ध

सुदूर पहाडमा बाक्लो हिमपात, राजमार्ग अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न ठाउँमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । डडेल्धुरा, बैतडी, डोटी, बझाङ, बाजुरा र दार्चुलाका उच्च लेकाली भेगमा बाक्लो हिमपात भएको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा बिहानैदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ। हिउँ परेपछि पहाडका जिल्ला अवतजावत गर्ने सवारीका साधन राजमार्गमै रोकिएका छन्। जनजीवन कष्टकर भएको छ ।
बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो। यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो। भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे रमहाकाली राजमार्गको भालुमारे अनारखोली सडक क्षेत्रमा हिमपात भएको स्थानीय भिम देउवाले बताए। शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको उनले बताए।
सडक क्षेत्रको हिउँ पन्छाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकबाट हिउँ पन्छाउने काम गरिए पनि सवारी साधन चालककले दुर्घटनाको जोखिम भन्दै सवारी साधन सञ्चालन गर्न मनेका छैनन्।
डडेल्धुरा सदरमुकामको अहिलेको तापक्रम ३.२ डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्युन हो। अहिलेसम्म ७.० मिलिलिटर वर्षा भएको हावापानि फिल्ड कार्यालयले जनायो। जल तथा मौसम विभागले जारी गरेको विज्ञप्ति अनुसार शनिबार दिनरात वर्षाको सम्भावना रहेको छ भने आइतबार मध्यान्ह १२ बजेपछि मोसम खुल्ने सम्भावना रहेको हावापानि फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारले बताए।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

Share This
  • 194
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares