स्वर्ण विजेतालाई ९ लाख पुरस्कार

स्वर्ण विजेतालाई ९ लाख पुरस्कार

२५ मंसिर (काठमाण्डौं)
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कार घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।
त्यस्तै, ’टीम इभेन्टमा’ स्वर्ण पदक जित्नेलाई प्रतिखेलाडी पाँच लाख र प्रशिक्षकलाई पनि पाँच लाख रूपैयाँ पुरस्कारको घोषणा गरेका प्रधानमन्त्री ओलीले रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ पुरस्कार घोषणा गरे ।
“हाम्रो जस्तो गरीब देशमा सरकारले खेलाडीलाई उचित सम्मान गरेको छ,“ उनले भने।
“कुनै बेला ५१ खेलाडी सहभागिता जनाउने हैसियत नभएको देशले आज ५१ स्वर्ण पदक जितेको छ,” प्रधानमन्त्री ओलीले भने, “हामी सातै प्रदेशमा नयाँ रंगशाला बनाउने छौं।”
पुर्खाले बहादुरीका साथ देशको रक्षा गरेकाले नेपाली खेलाडीले मैदानमा खेल्दा दर्शकले गोर्खा–गोर्खा भन्दै चिच्चाइरहेको ओलीले बताए। “हामी कहिल्यै उपनिवेश बनेर बस्नु परेन। बिना अक्सिजन सगरमाथा चढ्ने नेपाली मात्र हो। त्यसैले नेपालीले चाहनु मात्र पर्छ।”
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ। पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा छ। नेपालले सागमा यति धेरै स्वर्ण पदक जितेको यो पहिलो हो ।
राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदक विजेतालाई तीन लाख र कांस्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ ।
त्यस्तै समूहगत प्रतिस्पर्धातर्फ भने प्रत्येक खेलाडीले स्वर्णतर्फ दुई लाख, रजततर्फ एक लाख ५० हजार र कांस्यतर्फ एक लाख रूपैयाँ नगद पुरस्कार दिइनेछ।
यसअघि १० मंसीरमा पदक जित्ने नेपाली खेलाडीलाई प्रधानमन्त्री ओलीले विशेष प्याकेजसहित पुरस्कार घोषणा गर्ने कार्यक्रम तय भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •