गणेशकाँडामा ‘चोतो’

गणेशकाँडामा ‘चोतो’

१३ मंसिर (डोटी)
वरपर क्षत्री, बाहुन, ठकुरी र दलितहरूका गाउँ । बीचैमा झन्डै २२ सय मिटरको उचाइमा केआईसिंह गाउँपालिका १, गणेशकाँडाको ओझा खर्क पर्छ । ओझा खर्कबाट चारैतिरका गाउँहरू नियाल्न सकिन्छ । त्यही डाँडाभरी मगर समुदायका झन्डै ८० परिवार बसेका छन् ।
तिनै मध्येका हुन्– ५५ वर्षीय किस्ने मगर । किस्नेको जोडी बिहान ४ बजे उठ्छ । मुटु कमाउने जाडो छ । दुवै बुढाबुढी मिलेर चुलोमा आगो सल्काउँछन् । किस्ने उज्यालो भएपछि वस्तुभाउका लागि घाँस काट्न नजिकैको लेकतिर लाग्छन् । उनकी पत्नी सीतादेवी भने बारीतिर लाग्छिन् । बारीमा भएका काँक्रा, मकै, मुला (चोतो) लगायत तरकारी गोडमेल गर्छिन् । छिप्पिएका मकै अँगालोभरी टिपेर ल्याउँछिन् । सूर्य झुल्को आँगनमा आइपुग्दा दुवैजना आ–आफ्नो काम सकेर घर फर्किसक्छन् । सँगै बसेर खाजा खान्छन् । त्यसमा प्रायः दूध–रोटी छुट्दैन । ‘जाडो बढेका दिन भने हल्का घरेलु मदिरा पनि पिउँछौं,’ किस्ने भन्छन्, ‘रक्सीले ज्यान तताउँछ, फुर्तिलो पनि बनाउँछ ।’
उनका छिमेकी पूर्णबहादुर मगर भने बेग्लै योजनामा छन् । शनिबार परेकाले गाउँका दुई युवा लगेर सिकार खेल्ने तयारीमा छन् । उनी घरेलु हतियार, जालहरूको बन्दोबस्तीमा जुटेका छन् । मगरहरू प्रायः पिउरा नामको पक्षीका सौखिन हुन्छन् । घरनजिकै ठूलो लेक पनि छ । ‘फुर्सदका बेला गाउँलेहरू मिलेर ४र५ दिनसम्म जंगलमै बिताउँछौं,’ पूर्ण भन्छन्, ‘नत्र रहरका लागि १र२ छाक बनाउन पिउरा छोपेर ल्याउँछौं ।’ वन्यजन्तुको सिकार खेले पनि तस्करी भने नगर्ने उनीहरू सुनाउँछन् ।
गणेशकाँडाका अधिकांशको दैनिकी यसैगरी सुरु हुन्छ । खेतीपाती, वन्यजन्तुको सिकार र स्थानीय मदिराको आनन्द लिनु दैनिकी नै हो । युवाहरू गाउँमा भेटिँदैनन् । कतिपय गाउँ छोडेर कामका लागि भारत पसेका छन् । केही तराई छिरेका छन्, मजदुरीकै लागि । कोही लेकमा वस्तुभाउ चराइरहेका भेटिन्छन् । कोही खेतकान्लामा काम गरिरहेका हुन्छन् । हिउँदमा खारो (तुसारो) पर्छ । अन्न उत्पादन धेरै हुन्न ।
लेकका कारण चिसो हुने भए पनि साँझ अबेरसम्म घाम झुल्किरहन्छ गणेशकाँडामा । पारिलो घाममा सिरसिरे बतास चल्ने भएकाले मौसम रमाइलो हुने शिक्षक भरतबहादुर मगर बताउँछन् ।
उनीहरूको मुख्य आय भनेको कृषि र मदिरा बिक्री हो । प्रायस्का घरमा घरेलु मदिरा बनाइन्छ । घरमा अतिथि आए यही घरेलु मदिराले नै सत्कार गर्ने चलन छ । उनीहरूले बनाउने मदिरा गाउँपालिकाका विभिन्न गाउँहरूसम्म पुग्ने गर्छ । युवा पुस्ताभन्दा अघिल्लो पुस्ता मदिरा बनाउन बढी सक्रिय छ । ‘अहिले नयाँ पुस्ताले खासै बनाउँदैनन्, केही सकारात्मक सन्देशहरू गइरहेको छ,’ शिक्षक भरत मगरले भने, ‘तर बुढापाकाले आफू खानलाई भए पनि बनाउने गरेका छन् ।’ घरेलु मदिरालाई सरकारले अवैध मान्दै आएकाले उनीहरू लुकीछिपी बिक्री गर्छन् । ‘घरेलु मदिरा बनाउने कुरा मगर समुदायको संस्कृतिसंँग पनि जोडिएकाले पूर्ण रुपमा निषेध गराउन कठिन छ,’ गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘खुला बिक्रीमा भने रोक लगाएका छौं, यद्यपि कतिपयले लुकीछिपी अझै बिक्री गर्छन् ।’
डोटीको गणेशकाँडामा रोल्पाबाट बसाईसराई गरी आएका ९२ वर्षीय नरबहादुर मगर भन्छन्, ‘जाडो छल्न हिमालबाट तल सर्दै जाने क्रममा गणेशकाँडा आइपुगेको हुँ ।’ उनका अनुसार यहाँ हाल बसोबास गरिरहेका मगर समुदाय ४र५ पुस्ताअघि रोल्पाबाट बसाइ सरेर आएका हुन् । ‘रोल्पा कुन ठाउँबाट आएका हौं र कहिले आएका हौं भन्नेबारे मलाइ पनि ठ्याक्कै थाहा छैन,’ उनले भने । अहिले पनि कतिपय परिवारले गणेशकाँडामा भेडा पाल्दै आएका छन् ।
वरपर रहेका अन्य जातिको बाहुल्यताले मगर समुदायमा पनि प्रभाव परेको छ । उनीहरू आफ्नो खाम भाषा बोल्न छोडेर डोटेली बोल्न थालेका छन् । आफ्नो सांस्कृतिक लुगाकपडा पनि आफूहरूसंँग नभएको उनीहरू बताउँछन् । केआईसिंह गाउँपालिका १, डुम्राकोटस्थित ठकुरीहरूको नापी जग्गामा अहिले पनि धेरै मगरको बसोबास छ ।
पढाइमा उनीहरूको खासै रुचि छैन । गाउँमै आधारभूत विद्यालय भए पनि कक्षामा निकै कमको उपस्थिति हुने रामेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वर ओझा बताउँछन् । ‘पढ्दा पढ्दै विवाह गर्ने, कामका लागि भारत जाने प्रवृत्ति बढी छ,’ उनले भने, ‘कक्षा ८ पछि पढ्ने औंलामा गन्ने होलान्, परिवारमा पनि पढने वातावरण छैन ।’
स्थानीय जातको उत्पादन
गणेशकाँडाको मुला (चोता) डोटीमै प्रख्यात छ । ठूलो गाना भएका चोतोको तरकारी स्वादिलो हुन्छ । सबैको बारीमा स्थानीय चोतो लगाउने गरिएको नरबहादुर बताउछन् । मकै, कोदो, फापर, उखु, पिँडालु सिमि, काँक्रालगायत स्थानीय उत्पादनमा गणेशकाँडा धनी मानिन्छ । उनीहरू बारीमा रसायनिक मल प्रयोग गर्दैनन् । अर्ग्यानिक उत्पादन मानिने भए पनि ती कृषि जन्य वस्तु ढुवानी समस्याले बजारसम्म नपुग्ने नरबहादुरले बताए । धान नफल्ने हुनाले अधिकांशले मकै लगाउने गरेका छन् । सिन्कीको झोल, सिस्नोको साग, कोदाको ढिँडो अझै पनि गणेशकाँडामा खान पाइन्छ ।कान्तिपुरबाट

Share This
  • 113
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares