संकटमा सेती

संकटमा सेती

५ मंसिर (बझाङ)
सेती नदीको सम्पूर्ण जलाधार क्षेत्रको जाँच गरिएको छ । जाँचको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । बझाङको साइपाल हिमाल र राक्सियो हिमाल उदगम भएर कर्णाली नदीमा समाहित हुने यस नदीको मुख्य जलाधार क्षेत्रको लामो अध्ययन र अनुसन्धान पछि पानी परियोजनाले ‘हेल्थ रिपोर्ट’ (प्रतिवेदन) प्रकाशन गरिएको हो ।
करिब ३ वर्ष लामो अध्ययन र परिक्षण पछि उक्त प्रतिवेदन सार्वजनिक गरिएको परियोजनाले जानकारी दिएको छ । विभिन्न वैज्ञानिक परिक्षण, सामाजिक, आर्थिक र वातावरणिय अवस्थाको विश्लेषण गरेर तयार गरेको उक्त स्वास्थ्य प्रतिवेदनले सेती नदीको जलाधार क्षेत्रको अवस्था दिन प्रतिदिन विग्रदै गएको उल्लेख गरेको छ । नदीको स्वास्थ्य विग्रदै जाँदा पानी भित्र हुने जलचरहरूको जीवन संकटमा परेको, थुप्रै जलचरहरू लोप भएको तथा यसको असर मानव जीवनमा पनि पर्न थालेको छ । पछिल्ला वर्षहरूमा सेती नदीको पानीको गुणस्तर विग्रनुका साथै यसको वहावमा पनि उल्लेखनिय परिवर्तन आएको प्रतिवेदनको निष्कर्ष छ ।
स्थानीय बासिन्दाको लागि स्वस्थ पारिस्थितिकीय सेवा दिन त्यहाँको भू–आकृति सक्षम छ कि छैन ? भनेर विभिन्न पक्षहरू जाँच्नको लागि यो जलाधार क्षेत्रको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रतिवेदनमा जलाधार सुचकहरूको प्रयोग गरिएको थियो । बहु–सरोकारवाला परामर्शमा सहभागिहरूलाई जलाधारको स्वस्थता परिक्षण गर्नका निम्ति मूख्य सुचकहरूलाई प्राकृतिकस्रोत, भौतिक संसाधान र सुशासन जस्ता मुख्य ३ वटा विषयगत क्षेत्रमा बिश्लेषण गरिएको अध्ययनमा सहभागी बैज्ञानिकहरूले बताएका छन ।
यस अन्तर्गत प्राकृतिक स्रोतमा जल, वर्षा, पानीको उपलब्धता तथा पहुँच, नदी र तालको पानीको गुणस्तर, जैविक विविधता र प्राकृतिक वासस्थान, भू–उपयोग तथा भू–परिवेश, मत्स्य विविधता र माछाको बासस्थानका जोखिमहरूका बिषय समावेश गरिएको थियो । यस्तै भौतिक संशाधनमा पूर्वाधार तथा उत्खनन, जलविद्युत , माछा मार्ने प्रचलित विधिहरू, दिगो कृषि, ढुंगा गिट्टी उत्खनन, सडक, सिँचाइ, जलवायु उत्थानशीलता तथा प्रकोप जोखिम न्यूनिकरण, पूर्व–सूचना प्रणाली जस्ता बिषय समेटिएको थियो भने सुशासन अन्तर्गत स्थानीय सरकार र संस्थाहरू भित्रको समावेशीता तथा कानुनी रूपरेखा, नीति, तथा नियमहरू अवस्थाको अध्ययन गरिएको थियो ।

यस क्रममा १ हजार ४० घरधुरी सर्वेक्षण र २ सय ५० जना भन्दा बढी विभिन्न क्षेत्रका स्थानिय, जनप्रतिनिधीहरूसँग छलफल गरिएको थियो । स्वास्थ्य परिक्षणका क्रममा सेती नदीको उपल्लो तटीय क्षेत्र (बझाङको साइपाल देखी देउरा सम्मको खण्ड) भित्रको १ हजार ४८८ बर्ग्किलोमिटर क्षेत्रफलमा रहेका साना ठुला खोला तथा सेतीका सहायक नदीहरू र यस भित्र बसोवास गर्ने मानिसहरूले गरेका आर्थिक सामाजिक र वातावरिण क्रियाकलापको अध्ययन, परिक्षण र विष्लेशण गरिएको थियो ।
जलाधार क्षेत्र र यसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने खालका मानविय गतिविधीहरू बढ्दै जाँदा समग्र जिल्लाको वातावरण नै खल्बलिन थालेको र समय मै यस्ता गतिविधीहरूलाई नियमन र नियन्त्रण नगर्ने हो भने ठुलो क्षती व्यहोर्नु पर्ने खतराको बारेमा समेत प्रतिवेदनले सचेत गराएको छ । ‘सेती नदीको स्वास्थ्य अवस्था दिन प्रतिदिन विग्रदै गएको छ । अव्यवस्थित विकास पद्दति र मानविय गतिविधी यसका लागि जिम्मेवार छन । यसलाई बेलैमा व्यवस्थापन गर्न सकिएन भने निकट भविश्य मै ठुलो क्षती व्यर्होनु पर्ने छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा अव्यवस्थित सडक तथा अन्य पुर्वाधार निर्माण, वन विनास, अवैज्ञानिक तरिकाले नदी जन्य पदार्थ (ढुङा, गिट्टी, बालुवा) को संकलनका कारण जलाधारको स्वास्थ विग्रदै गएको उल्लेख छ । यस्तै ठोस फोहोरको अव्यवस्थित विर्सजन, अवैज्ञानिक भु उपयोगका कारण सेती जलाधारको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख छ । प्रतिवेदनले पछिल्लो समय जथाभावी बन्दै गरेका सडकले सबै भन्दा ठुलो खतरा पैदा गरेको जनाएको छ ।
‘भू–वनावट अत्यन्त भिरालो भएकाले, देशका अन्य भूभागहरूको तुलनामा यस क्षेत्रमा सडक निर्माण कार्यले पहिरोको संख्या बढाएको छ । यी पहिरोहरूले घरधुरी, वनजंगल, विनाश गर्नुका साथै पानीका स्रोतहरूमा क्षति पुर्‍याएको छ । त्यसबाट उत्पन्न थेगरले नदी तथा खोलामा रहेका जलचरको वासस्थानमा पनि पुरेको छ’ प्रतिवेदनमा भनिएको छ ।
हाल सेती नदीको जलाधार क्षेत्र रहेको बझाङ जिल्लाका ११ वटा स्थानिय तहले करिब २ हजार वर्ग्किलोमिटर क्षेत्र भित्र १ सय ७८ वटा सडक निर्माण गरिसकेका छन । यि सबै सडकको लम्बाई १ हजार २६६ किलोमिटर छ भने सडकको संख्या र लम्बाई अझै बढ्ने क्रम जारी छ ।

पानीको उपलब्धता र गुणस्तर घट्यो
स्वास्थ्य प्रतिवेदनमा पिउने पानीको उपलब्धता र गुणस्तर घट्दै गएको, पानीका मुहानहरू सुक्नेक्रम बढेको र यसले कृषि क्षेत्रको उत्पादनमा पनि गिरावट आउन थालेको उल्लेख छ । ‘पानीका स्रोतहरू दिनप्रतिदिन घट्दै जाँदा ११ प्रतिशत मानिसहरूले पानी लिन एक घण्टा भन्दा टाढा जानु पर्ने अवस्था छ’ प्रतिवेदनमा भनिएको छ, ‘नदी तथा खोलाहरूको सतह गहिरिदै जाँदा धेरै जसो परम्परागत कुलोहरू बन्द भएका छन ।’ प्रतिवेदनले पानीका स्रोतहरू समेत सुक्दै गएका कारण यसको सोझो असर सिँचाई र जलविद्युतमा पर्न थालेको तर्फ सचेत गराएको छ ।
अध्ययनका क्रममा सेती नदीको मुलप्रवाह रहेको विभिन्न ठाउँका साथै जलाधारका प्रमुख नदीहरूमा बाहुलीगाड, तारुगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, र लिस्नीगाडको पानी पनि परिक्षण गरिएको थियो । यस्तै जलाधार क्षेत्रमा रहेका दह ताल र खप्तड स्थित खापरदह ताल लगायत २३ स्थानको पानीको परिक्षण गरिएको थियो ।
संकटमा माछा
जलाधारको स्वास्थ्य अवस्था विग्रदै जाँदा सबै भन्दा बढी संकट जलचर प्राणीहरूमा पर्न थालेको छ । यसको असर सबै भन्दा बढी माछालाई परेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य प्रतिवेदन तयार गर्ने क्रममा गरिएको मत्स्य संकटासन्नता मापनले केही बर्ष पहिला सम्म प्रशस्त मात्रामा पाइने स्वादका हिसाबले प्रख्यात असला र चिँउ माछाको संख्यामा हाल उल्लेख्य गिरावट आएको देखाएको छ ।
सेती र यसका सहायक नदीमा पाइने गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउँटे, थाले, चिम्टी लगायतका माछाहरू पनि केही बर्ष यता हराउन थालेको प्रतिवेदनमा उल्लेख छ । सेतीमा पाइने तौलका हिसाबले पनि ठुलो मानिएको सट्टो (सहर) माछा लोप नै भैसकेको छ ।
अव्यवस्थित तरिकाले खोला र नदी किनारमा निर्माण भएका सडकहरूले नदीमा थुपारेको ढुंगा गिट्टीले माछाको बासस्थान अतिक्रमण हुँदा संख्या पनि घटेको छ । पछिल्लो समय नदी र खोलामा जथाभावी फालिने सिसा, प्लाष्टिकले पनि सेती र यसका सहायक खोलाको वातावरण माछाका लागि प्रतिकूल बनेको छ । कान्तिपुरबाट

Share This
  • 156
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    156
    Shares