कुन पृष्ठभूमिका हुन नयाँ प्रदेश प्रमुखहरु ?

कुन पृष्ठभूमिका हुन नयाँ प्रदेश प्रमुखहरु ?

१८ कार्तिक (काठमाण्डौं)
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश प्रमुखमा सिफारिस गरेकाहरु मध्ये पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भागबन्डा भएको छ । ओली पक्षका चार जना प्रदेश प्रमुखमा सिफारिस भएका छन् भने प्रचण्ड पक्षका तीन नेता प्रदेश प्रमुख बन्ने भएका छन् ।
प्रदेश प्रमुख सिफारिस हुनेमा सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव, गोविन्द कलौनी र विष्णु प्रसाईं पूर्वएमाले हुन् भने अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठी भने पूर्वमाओवादी हुन्।
पृथ्वीनारायण कास्कीका प्यासी २०४३ सालमा जनपक्षीयतर्फबाट राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। २०४८ सालमा एमालेबाट सांसद बनेका उनी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन्।२०७४ को चुनावमा उनी पूर्वएमालेको समानुपातिक सूचीमा थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीनिकट प्यासी त्यागी र लोकप्रिय नेताका रूपमा चिनिन्छन्।
अमिक शेरचन राष्ट्रिय जनमोर्चाका अध्यक्ष थिए। माओवादी १० वर्षे युद्ध छोडेर शान्तिप्रकृयामा आएपछि पार्टी एकता भएको थियो। उनी पूर्वमाओवादीबाट उपप्रधानमन्त्रीसम्म भइसकेका छन्।
ओलीनिकट मानिने गोविन्द कलौनी भने प्राधानाध्यापकको जागिर छोडेर राजनीनीमा आएका हुन्। उनी २०५१ सालमा डडेल्धुराबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग चुनाव लडेका थिए। तर हारे। २०६४ सालमा उनी कञ्चनपुरबाट चुनाव लडेका थिए। तर जितेनन्। उनी धेरैपटक सांसद टिकट पाएर पनि चुनाव हारेका नेतामध्ये पर्छन्।
बाँकेका तिलक परियार प्रचण्डनिकट दलित नेता हुन्। पहिलो संविधानसभामा उनीमाओवादीबाट बाँके १ का सभासद भएका थिए।
झापाका विष्णु प्रसाईं यसअघि जिल्ला विकासको उपसभापति भएका थिए। गएको स्थानीय चुनावमा उनी मेची नगरनगरपालिकाको मेयरमा हारेका व्यक्ति हुन्। उनी झापा संघर्षदेखि नै अध्यक्ष ओलीनिकट हुन्। सिराहाका पुराना नेतामध्ये पर्छन्, धर्मनाथ यादव। पूर्वएमालेका केन्द्रीय सदस्य ओलीनिकट मानिने यादवले पार्टीबाट पाएको सबभन्दा ठूलो अवसर नै प्रदेश प्रमुख हो।
काठमाडौंकी शर्मिला त्रिपाठी पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएकी हुन्। द्वन्द्वकालमा सुरक्षाकर्मीले बेपत्ता पारेका ज्ञानेन्द्र त्रिपाठी उनका पति हुन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares