एचआइभी संक्रमितका पीडा- रोग लाग्यो, परिवार टाढियो

एचआइभी संक्रमितका पीडा- रोग लाग्यो, परिवार टाढियो

१८ कार्तिक (अछाम)
अछामको मंगलसेन नगरपालिका ४ की शारदा आउजीलाई पति भारत भएका बेला एचआईभी देखापर्‍यो । शारदा संक्रमित भएको हल्ला गाउँभरी फैलियो घर परिवारले छिमेकीसँग सल्लाह गरे । उनका पतिलाई तुरुन्त घर आउन चिठी पठाए । पत्नीलाई एचआईभी भएको थाहा पाउने वित्तीकै शारदाका पति घर आए । यता शारदालाई मान्छे जम्मा भएका ठाउँमा अनुहार देखाउनसमेत रोक लगाइएको थियो । घर परिवार सबै शारदालाइ गाउँ निकाला गर्न उनका पति बोलाएका थिए ।
शारदालाई माइतीघरमा जान पनि दिइएन् । उनले गाउँ समाज छोडेरै जानुपर्ने परिवार र गाउलेले दबाब दिएका थिए । ‘श्रीमान घर आएपछि मलाई कुटपिट गर्न सुरु गरे, नानाथरी आरोप लगाए मैले सहनुको विकल्प थिएन’ शारदा भावुक हुँदै भन्छिन् ,‘म घर छोडेर जान सकिन्, श्रीमान् र परिवारले कुटपिट गर्न छोडेनन्, शरीर कुटेर धुलो जस्तै बनाए ।’ परिवारका यातना सहेर एचआईभी संक्रमण पछिका ३ वर्ष उनले यसै गरी भोगिन्न। यता श्रीमानलाई पनि रगत जाँच गर्न उनले पटकपटक आग्रह गरेकी थिइन् । तर श्रीमानले उनका कुरा सुनेनन् । शारदालाई एचआईभी देखा परेको ३ वर्षपछि मात्रै उनका श्रीमानले रगत चेकजाँच गरे । उनलाई पनि एचआईभी संक्रमण देखियो ।
‘पछि श्रीमानले पनि रगत जाँच गरे, उनलाई पनि देखियो । त्यसपछि पनि मलाई नै सारेकि हो भन्ने आरोप लाग्यो । गाउँलेको पनि कुटाई खाएँ’ उनले भनिन् ‘म माथि लागेको आरोप अहिलेसम्म मेटिन सकेको छैन । तर, श्रीमानलाई एचआईभी देखिएपछि मलाई गर्ने व्यवहार बदलियो ।’ त्यतिखेर गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम, बैठक लगायत सबै ठाउँमा जान उनलाई बन्देज गरियो । ‘पहिले मेलपातसंँगै जाँदा जेठानी देवरानी छोए नै सर्छ भनेर अलग हुन्थे । अहिले केहि व्यवहार बदलिएको त छ तर हामीलाई हेर्ने नजर पुरानै छ ।’ एचआईभी संक्रमित पुरुषभन्दा महिलालाई समाजमा घुलमिल हुन र अरु जस्तै जीवनयापन गर्न अझै अप्ठ्यारो छ । तुर्माखाँद गाँउपालिका १ रहफकि धनसरा विष्ट कलिलै उमेरमा एकल भइन् । श्रीमानले सदाका लागि छोडेर गएपछि जीवनमा दुस्खका दिन सुरु भए । २५ वर्षको उमेरमा श्रीमान गुमाएकि उनि हाल ४२ वर्ष्कि भइन । श्रीमानको मृत्यु पछि जेतनेत १ छोरा र १ छोरीको लालनपालन गरीरहेकि उनले जिल्ला स्वास्थ्य कार्यालय अछामको स्वास्थ्य शिवीरमा रगत परीक्षण गर्दा एचआईभी देखियो । श्रीमानको मृत्यु भएको ६ वर्षपछि एभआइभि संक्रमित हुँदा उनलाइ गाउँमा बस्ने वातावरण नै बनेन् । नानाथरी आरोप लागे । गाउँमा उनको बारेमा बोलि दिने कोहि भएन ।
रगत परीक्षण गर्दा एचआईभी संक्रमित भएको सुन्दा विश्वास नलागेपछि धनसरा २ दिन हिँडेर सदरमुकाम मंगलसेन पुगीन । जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्टमा पनि एभआइभि संक्रमित भएको देखिएपछि उनी आफुलाइ सम्हालेर घर फर्किन् । ‘श्रीमान विरामी भइराख्नु हुन्थ्यो । ३ वर्ष भारतमा पनि बस्नु भएको हो । धामी झाँक्रीको विश्वासमा परेर जता झाँक्री उता पुर्‍याइयो’ उनले भनिन्, ‘अहिलेको जस्तो अस्पताल पनि थिएनन्। जानेबुझेका मान्छे पनि थिएनन् । मेरो श्रीमानलाइ नै एचआईभी संक्रमण भएको हुन सक्छ । रगत परीक्षण नै नगरी मृत्यु भयो ।’
उनको जीवनमा खपिनसक्नु दुस्खका दिन सुरु भए । कस्तोसम्म दिन आयो भने एचआईभी संक्रमित भएको अवस्थामा औषधि त परको कुरा, पेटभरि खानासमेत खान पाइनन् । यी समस्याका बाबजुद उनले बाच्ने कोसिस गरिन् । सासु ससुराले घरमा बस्न दिएनन् । आफन्तको काम गरिन् । माइतिघरबाट सहयोग मागिन् । आफ्नो छुट्टै घर बनाएर बसिन । अहिले उनका छोराछारीको पढाइ पनि राम्रो छ । तर, समाजले उनलाई हेर्ने दृष्टिकोण भने बदलिएको छैन ।
यस्तै तुर्माखाँद गाउँपालिका १ रहफकी धर्मा विकको पीडा पनि उस्तै छ । ७ वर्ष अगाडि धर्माका श्रीमान्को मृत्यु भएको थियो । ७ वर्ष देखि नै उनी र उनकि ७ वर्ष्कि छोरी निर्मला एचआईभी संक्रमित भएका हुन् । लामो समय भारतमा काम गरेका उनका श्रीमानको एचआईभी संक्रमित भएकै कारण ज्यान गएको हो । ‘उसो त महिलालाइ कमजोर ठान्ने समाजमा एकल महिला मात्र नभइ एचआईभी संक्रमित भएका महिलालाइ बाच्न धेरै गाह्रो पर्दो रहेछ’ धर्माले ७ वर्षअघिका दिन सम्झदै भनिन्, ‘भर्खर जन्मिएकि छोरीलाइ पनि एचआईभी रहेछ । त्यो बेला सासु, ससुरा, जेठानी देवरानीले गरेको व्यवहार सम्झिदा अझै पनि आफु मान्छे भएर जन्मेकोमा पछुतो लाग्छ ।’ एकरदुइ एभआइभि संक्रमित भएको ठाउँमा विभेद बढि र धेरै संक्रमित भएको ठाउँमा विभेद कम हुँदै गएको उनी सुनाउछिन् ।
श्रीमान र श्रीमती दुवैलाई एचआईभी भए मात्र समाजमा आफ्नै ढंगले बस्न सक्ने अवस्था छ भने महिलालाई मात्र एचआईभी देखा परेमा नानाथरी यातना र आरोपहरू खेप्नु पर्ने अवस्था छ । अझै यसको मारमा र एभआइभि संक्रमित बालबालिका छन् । जसलाई समाजले मात्र टाढा बनाउँदैन विद्यालयमा समेत उनीहरूले पढ्ने वातावरण पाउँदैनन् । यसैको एक उदाहरण हुन साविकको सान्तडा गाविसकी ४५ वर्षीया इन्द्रसरा साउँदका २ छोराहरू ।
उनले छोराहरूको नाम बताउन चाहिनन् । दस्ुख भने पोखिन् । श्रीमानको पनि एचआईभी संक्रमणका कारण १३ वर्षअघि निधन भएको थियो । श्रीमानको मृत्युपछि उनले पनि समाजमा थुप्रै भेदभाव र लाञ्छना सहेर बाच्नुपर्‍यो । ‘एचआईभी संक्रमितको छोरा हो भनेर मेरो छोरालाई त विद्यालयले पढ्नै दिएनन’ इन्द्रसराले आफ्नो जीवनमा भोगेका भेदभावको अनुभव सुनाउँदै भनिन्, ‘सक्रमितले समाजमा भोग्नुपरेको भेदभाव र लाञ्छनाको त कुरा गरेर साध्य छैन ।’ उनको परीवारले २ छोरा र उनलाई घरबाट निकालि दिए । ‘श्रीमानको एचआईभी संक्रमित भएर निधन भयो । मलाइ पनि एचआईभी देखियो । त्यती सम्म त ठिकै थियो । परिवारको दबाब गाउँका मान्छेका बचन सुनेरै बसेकी थिएँ । जब आफ्ना दुइ छोरालाइ पनि एचआईभी देखियो तब मेरो साह्रै विचल्ली भयो’ इन्द्रसराले भनिन् ,‘मैले कसरी छोराहरू हुर्काएँ, कति दुख पाएँ । मेरो जीवनमा केके भयो म भन्नै सक्दिन ।’
संक्रमितहरूको संघर्षले भेदभाव कम
श्रीमान धन कमाउन भारत जाने र घर फर्कदा एचआईभी बोकेर ल्याउदा धेरै श्रीमतीहरू श्र संक्रमित भएका छन् । गरिबीका कारणले कामको सिलसिलामा श्रीमान् भारत जाँदा उतैबाट संक्रमित भएर आउछन र घरमा श्रीमतीलाई सार्ने समस्याले गर्दा एचआईभीरएड्सको सिकार निर्दोष श्रीमतीहरू भइरहेका छन् । समाजमा विभिन्न भेदभाव र समस्यासँग जुधेर आएका उनीहरू अहिले आफु एचआईभी संक्रमित भएको कुरा सार्वजनिक गर्न केहि अप्ठेरो मान्दैनन् ।
७र८ वर्ष अघिसम्म अछाममा एचआईभी संक्रमित भएका व्यक्तीलाई खुलेर सार्वजनिक ठाउँमा जान छुट थिएन । उनीहरूले गाँउ समाज भन्दा टाढा भएर बस्नु पर्थ्यो । कतिले त एचआईभि संक्रमित भएको कुरा परिवारलाई सुनाउँदा घर निकाला हुनुपर्यो । विशेषगरी एचआईभी संक्रमित महिलाहरूले यस्ता धेरै समस्या सहेर बसे । तर, अहिले अछाममा त्यो परिवेश बदलिएको छ । एचआईभी संक्रमितहरू खुलेर औषधि सेवन गर्छन् । सार्वजनिक ठाँउमा आफ्ना विचार प्रष्टरुपमा राख्न पाउने मात्र भएका छैनन् , निर्णय गर्ने ठाउँमा पनि उनीहरू पछि सर्दैनन् ।
मंगलसैन नगरपालिका ३ कि ३४ वर्षीय कित्थी साउँद गाउँको आमा समूहकी अध्यक्ष हुन् । ८ वर्ष पहिले एचआईभी संक्रमित भएको थाहा पाएपछि उनि त्यही आमा समूहबाट निकालिएकि थिइन् । ‘अब यसले सबैलाई छोएर एचआईभी सार्ने भई भनेर आमा समूहबाट निकाले’ उनले भनिन् ‘त्यहि बेला आफु मान्छे भएर जन्मनु नै ठुलो अपराध हो जस्तो लाग्थ्यो । यसरी बाच्नु भन्दा मर्न पाए नी हुन्थ्यो सोच्थेँ ।’ अहिले सोचे भन्दा धेरै परिवर्तन हुँदा सारै खुसी लागेको उनि सुनाउछिन् । ‘संघर्ष गर्नुपर्छ पछुताउनु हुँदैन । अहिले दिदीबहिनीले पनि बुझे त्यही समूहमा अध्यक्ष बनाए । यसैमा खुसी छु ।’ उनले भनिन् ।
एचआईभी संक्रमित व्यक्ति सबैको माया, हौसला पाएर सम्मान पुर्वक बाँच्न पाए अरु व्यक्ति सरह नै जीवन जिउन सक्छ भन्ने कुरा बान्नीगढी जयगढ गाउँपालिका ४ कि सत्यदेवी ओडलाई राम्रोसँंग थाहा छ । त्यसैले उनले एचाआइभी संक्रमित जेठाजुका १ छोरा १ छोरीलाई आफ्ना छोराछोरी जस्तै समान व्यवहार गरेर हेरविचार गरेकि छन् ।
‘पहिले त गाउँका मान्छे सबै एक भएर मलाई यी छोराछोरीसंँगै राख्दा गाउँभरी एचआईभी सार्छ भनेर एक्लो बनाए’ उनले भनिन् , ‘मेरै आधारमा बसेका २ छोराछोरीलाई मैले नै टाढा राखे कसले हेर्थ्यो र ? सहेरै बसेँ ।’ अहिले एचआईभी सर्ने कारण र चेतनाको विस्तारले धेरै परिवर्तन भएको उनी बताउँछिन् । ‘स्कुल देखि गाउँघर सम्म सबैले राम्रै व्यवहार गर्छन् । सबैको घरमा जाने खेल्ने गर्छन्,’ उनले भनिन् । गैरसरकारी संस्था वाक नेपाल अछामले मंगलसेनमा स्थापना गरेको स्याहार केन्द्रमा औषधि सेवन गर्ने एचआईभी संक्रमितहरू बस्छन् । उनीहरूलाई खाना पकाउने, हेरचाह गर्ने स्याहार गर्ने काम गर्छिन् मंगलसैन ८ कि भगवती बोहरा । उनी आफैं पनि एकल महिला हुन् । श्रीमानको मृत्युपछि छोराछोरीको पालन पोषणमा समस्या आयो । रोजगारीकै सिलसिलामा वाक नेपालले स्थापना गरेको एचाआइभि रएड्स संक्रमितहरूलाई स्याहार गर्ने स्याहार केन्द्रमा पुगिन् ।
सुरुमा संक्रमितलाई खाना पकाउनु पर्ने खुवाउनु पर्ने भन्दा उनि झस्केकि थिइन् । ‘केहि काम नगरौं भने छोराछोरी पाल्न सजिलो छैन । काम गरौं भने एभआइभि संक्रमितको विचमा कसरी बस्नु भनेर सोच्थेँ’ उनले भनिन् , ‘अन्ततस् त्यतै बस्नेगरी जागीर सुरु गरेँ ।’ उनलाई त्यता काम सुरु गर्दा उनका गाउँलेले पनि नानाथरी आरोप लगाएका थिए । अहिले उनी एचआईभी संक्रमित महिलाहरूसँंग नजिक छिन । कसैले आफ्ना सबै सुख दुस्खका कुरा सुनाउछन् । कसैले अझै पनि अप्ठ्यारो र असजिलो महसुस भएको कुरा व्यक्त गर्छन् ।‘ उनका अनुसार पुराना संक्रमितहरू खुलेरै बोल्छन् , नयाँले कुरा गर्न मान्दैनन् । एभआइभि रोग होइन एक अवस्था हो लगायतका थुप्रै कुरा गरेर संक्रमितहरूलाई हौसला दिने गरेको उनले बताइन् ।
पछिल्लो समय यता संक्रमित एकल महिलालाई परिवारबाट नै भेदभाव गरेर घर निकाला गरेको घटनामा बाहिर आएपछि जिल्लामा एचआईभीको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयलका प्रतिनिधि गाउँ गएर छलफल गरी पुनस्र्स्थापना गराउने काममा लागेपछि पहिलेको भन्दा उनीहरूलाइ धेरै सजिलो भएको छ । एकल महिला र संक्रमित महिलाहरू एकजुट भएर समाजमा आफुलाई पुनस्र्स्थापना गर्न तर्फ लागेका छन् ।
जिल्लाका संक्रमितमध्ये ६२ प्रतिशत महिला
स्वास्थ्य कार्यालय अछामको तथ्यांकअनुसार अहिले जिल्लामा १६ सय २२ संक्रमित छन् । गत वर्ष १ हजार ६ सय ११ संक्रमित थिए भने ०७४ चैतसम्म ३ महिला नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए । गत वर्ष जम्मा संक्रमित संख्यामध्ये महिला ६२ प्रतिशत रहेको उनले जानकारी दिए ।
२०६१ साल देखि हालसम्म एआरटि औषधी सेवन गरेका ९ सय ९८ जनामध्ये १ सय ९४ जनाको ज्यान गएको उनले बताए । उनका अनुसार स्वास्थ्य कार्यालयमा आउने महिला र युवाले आफु संक्रमित भएको कुरा गोप्य पनि राखेका छन् । उनीहरूले खुलेर भन्न नसकेको तर औषधि नियमित रुपमा सेवन गरिरहेको ढुंगानाले बताए । कान्तिपुरबाट

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares