देउसी खेल्न बोलाएर ‘बलात्कार’

देउसी खेल्न बोलाएर ‘बलात्कार’

काठमाडौँ — गाउँकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागि ५ महिनाअघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरू हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो ।

दिदीको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्‍यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,’ उनकी दिदीले भनिन् ।
भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राईलाई यो थाहा नहुने कुरै भएन । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् ।
त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । माहौल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो । ‘सुरुमा उसले हग गरौँ भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो,’ उनी सम्झिन्छिन् ।
प्रतिकार गरे पनि उनी उम्किन सकिनन्। ‘मैले मान्दै नमानेपछि गालामा दुई झापड हान्यो, सबैलाई भनिदिन्छु भनें तर तेरो बेइज्जत गरिदिन्छु भनेर धम्क्यायो,’ उनले सुनाइन् ।
राईले मर्‍याकमुरुक पारिदिएको उनको हात अरूले छोए पनि दुख्छ । राईको बलियो घुँडाले थिचेका उनका खुट्टाहरू राम्ररी टेकिन सकेका छैनन् । बुधबार साँझ कान्तिपुरसँगको भेटमा उनले त्यो दिन सम्झिइन्, ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो ।’ उनले जतन गरेर राखेकामध्ये सबैभन्दा राम्रो कुर्था लगाएकी थिइन्, राईले धुजाधुजा पारिदिए । पीडितले यही कुरा प्रहरीमा पनि रिपोर्ट गरेकी छन् । ‘तर मेडिकल टेस्टमा माउथ स्वाब लिइएन, मैले भन्न सक्ने अवस्था पनि थिएन । अहिले त्यही आधारमा प्रमाण पुगेन भनेर उसलाई छाडिदिन्छन् कि भन्ने डर लागेको छ,’ उनले भनिन् ।
त्यस क्रममा राईले धेरै धम्की दिएको पीडितको भनाइ छ । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएको उनले सुनाइन् । ‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस् भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ उनले भनिन् । त्यतिखेर उनको साथमा गाडी भाडा तिर्ने पैसा थिएन, योबारे राई जानकार थिए । राईले उनको हातमा हजार रुपैयाँ थमाउँदै भने, ‘मलाई यो पैसा फिर्ता होला भन्ने आस छैन ।’ ‘तर मैले पैसा उसैलाई फालिदिएँ, गाडी चढें र दिदी (दिदीको साथी) लाई फोन गरें,’ उनले भनिन् ।
दिदी उनलाई लिन कोटेश्वरसम्म आइपुगिन् । घर पुगेपछि उनले सबै कहानी सुनाइन् । घटना बाहिर ल्याउने कि नल्याउने भन्ने विषयमा उनीहरूबीच लामो छलफल भयो । अन्ततः राति १ बजेतिर पुलिसमा जाहेरी दिन उनी तयार भइन् । उनीहरू कौशलटारमा बसिरहेका थिए, १०० मा डायल गर्दा सानोठिमी प्रहरीले फोन उठायो । घटना माकलबारीको हो भनेपछि बौद्धको प्रहरीलाई खबर गर्नु भन्ने जवाफ आयो । उनीहरूले बौद्धको नम्बर पत्ता लगाए र फोन गरे, त्यतिखेरसम्म रातिको साढे १ बजिसकेको थियो । प्रहरीको जवाफ आयो, ‘अहिले धेरै रात परिसक्यो, बिहान ६ बजे आउनू ।’ प्रहरीको हल्काफुल्का जवाफ सुनेर उनीहरू छक्क परे ।‘बलात्कारजस्तो गम्भीर घटनामा पनि यस्तो जवाफ दिने भनेर कराएपछि प्रहरीले त्यसो हो भने तपाईंहरू आफैं आउनुस्, हामी आउन सक्दैनौं भन्यो,’ उनी सम्झिन्छिन् ।
त्यसपछि दिदीबहिनीले केही साथीलाई फोन गरे, साथीहरू पनि कौशलटार आइपुगे र उनीहरू राति साढे २ बजेतिर उजुरी लिएर प्रहरी कार्यालय बौद्ध पुगे । उजुरी दर्ता भयो तर प्रहरी घटनास्थलमा बिहान ६ बजेमात्रै जाने भयो । उनीहरू बौद्ध एरियामै यताउता टहलिएर उज्यालो बनाए ।
भाइटीकाको दिन, बिहानीको सिरेटोले उनको शरीर झन्झन् दुख्न थाल्यो । घटनास्थलमा प्रहरीभन्दा अगाडि नै राई पुगिसकेका थिए । उनले आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै कोठा खोल्न पनि लगाएका थिए, त्यही बेला ठ्याक्कै प्रहरी पुग्यो । राई पक्राउ परे । उनी नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्।
पक्राउपछि राईको परिवारका सदस्यले पीडित किशोरीलाई फोन गरे । सुरुमा सान्त्वना दिए, पछि मिल्नुपर्छ भनेर फकाए। तर उनी कानुनी कारबाहीका लागि दृढ रहिन् ।
काठमाडौंमा अहिले दिदीबहिनी र त्रिभुवन विश्वविद्यालयका केही साथी मिलेर उनलाई काउन्सिलिङ गराउन यताउति धाइरहेका छन् । घटनालाई लिएर उनको मनोबल कत्ति पनि नघटोस् भन्ने उनीहरूको चाहना छ । तर के के कुराको अभाव परिरहन्छ । ‘हामीले काउन्सिलिङका लागि प्रहरीसँग पनि अनुरोध गरेका थियौं तर आफैं गर्नुस् भनेर जवाफ दिए,’ उनकी दिदीले सुनाइन् । ‘यस्तो अप्ठ्यारो परेका बेला इन्द्र दाइलाई भनेपछि सहयोग गर्नुहुन्छ कि जस्तो लाग्छ,’ उनकी दिदीले भनिन्, ‘फेरि झसङ्ग हुन्छु, बलात्कारी त उही पो हो ।’ उनीहरूको अनुहारको बत्ती झ्याप्पै निभ्यो तर उसलाई कारबाही भएको देख्ने चाहना निभिसकेको छैन ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares