वारि सुनसान, पारि चहलपहल

वारि सुनसान, पारि चहलपहल

९ कार्तिक (दार्चुला)
सीमावर्ती भारतीय बजार धारचुलामा यतिबेला चहलपहल बढेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पारिको बजारमा किनमेल गर्नेहरूको घुइँचो छ ।
‘सीमावर्ती बजारमा किनमेल गर्न गएकाहरूको संख्या बढेको छ,’ दार्चुलाका स्थानीय सन्तोष निरौलाले भने, ‘चाडपर्वको समयमा त त्यहाँको बजारमा सधैँ चहलपहल बढ्छ ।’ धनतेरसको दिन भनिए पनि जिल्ला सदरमुकामको खलंगा बजार अरु दिनझै सुनसान छ । दैनिक सयौंको संख्यामा गाउँगाउँबाट आएका ग्राहक पारिको बजार गइरहेका हुन्छन् । यतिबेला भारतीय बजारमा जहाँत्यहीँ नेपाली ग्राहकमात्रै भेटिन्छन् । उनीहरू दैनिकउपभोग्य सामानका पसलहरूसँगैभाँडाकुँडा र सजावटका पसलमा ग्राहकहरू झुम्मिएका देखिन्छन् ।
चाडपर्वका बेला किनमेल गर्ने ग्राहकको बाक्लो भीडले भारतीय ब्यापारी ब्यस्त हुने गरेका छन् । ‘नेपाली उपभोक्ताका कारण बजारमा खुट्टा राख्ने ठाउँ छैन,’ स्थानीय व्यवसायी कैलाश भट्टले भने, ‘यो भीड अझै केही दिन जारी रहनेछ ।’
भारतका धारचुला, बलुवाकोट, जौलजीवी, पाङ्ला र गस्कु पुराना सीमा बजार हुन् । यी बोहक नया रौउती, लाली लगायत ठाउमा सीमा जोडिएपछि बजार विस्तार हुने क्रम ह्वात्तै बढेको स्थानीय व्यवसायी भट्टले बताए । यी सबै सीमा बजारहरू नेपाली ग्राहकले धानेका छन् । सबैभन्दा ठूलो धारचुला, जौलजिवी र बलुवाकोट बजारमा धेरै भिड लागेको छ ।
पारि ब्यस्त भए पनि वारि नेपाली बजारका पसलेहरू भने फुर्सिदला देखिन्छन् । उपभोग्य वस्तुको मूल्य अन्तरले ग्राहक उता तानिएका हुन् । ‘पारिको बजारमा केही सस्तो पर्छ’ महाकाली नगरपालिका २ मुल्लाकी हेमा साहुले भनिन्, ‘दुई,चार रुपैया भए पनि सस्तो हुँदा फाइदा हुन्छ ।’
चाडपर्व सुरु भएदेखि बिहानैबाट सीमा नाकाहरूमा नेपालीहरू भारतीय बजारमा सामान खरिदका गर्नका लागि सयौको संख्यामा जान्छन् । भारतसित नाका जोडिएका सबै ठाउँमा भारतीय बजारको ब्यापार फस्टाउदो अवस्थामा छ । तर नेपाली बजार भने सुनसान हुने गरेको यहाँका स्थानीय ब्यापारीहरू बताउँछन् । ‘प्रत्येक नाकाहरूमा नेपालतर्फ बजार भएपनि नेपाली ग्राहकहरूको रोजाई भारतीय बाजरतिरै हुन्छ’ महाकाली नगरपालिका ९ दत्तु बजारका व्यवसायी बिक्रम डांगाले भने, ‘उही मूल्यमा सामान दिँदा पनि ग्राहक फर्काउन सकिएको छैन ।’ दत्तु सीमा क्षेत्रमा भारतको बलुवाकोट बजार विगतदेखि सञ्चालनमा छ ।
सीमा नाकाहरूमा खटिने प्रहरीका अनुसार दैनिक ५र६ हजारभन्दा बढी उपभोक्ता किनमेलका लागि महाकाली तरिरहेका छन् । यति नेपालीहरूले दैनिक न्यूनतम् २५ देखि ३० लाख रुपैयाभन्दा बढी रकम भारतीय बजारमा खर्चिरहेका दार्चुला उद्योग वाणिज्य संघका उपाध्यक्ष इन्द्रदेव पन्तले जानकारी दिए । उनले नेपाली उपभोक्तालाई स्थानीय बजारमै आकर्षित गर्न नसक्नु व्यवसायीको कमजोरी रहेको स्विकार्छन् । ‘पारिभन्दा सस्तोमा सामान उपलब्ध गराउन सक्दा उपभोक्ता पारि तरेर जानुपर्ने थिएन’ उनले भने, ‘यसो गर्दा हाम्रो पैसा बिदेसिने थिएन ।’
पहिले खंलगामा फैन्सी पसलहरूमा राम्रै चहलपहल हुन्थ्यो । अहिले अन्य पसलमा झै फेन्सीको व्यापारमा भारतीय बजारका कारण सुनसान रहेका फैन्सीको व्यापार गर्दै आएका जमन बडालले बताए । पहिले यो बजारका फैन्सी पसलका मुख्य ग्राहक भारतीय थिए । अहिले भारतीय त परको कुरा नेपाली ग्राहक पाउन पनि मुस्किल भएको उनको भनाइ छ । कान्तिपुरबाट

Share This
  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares