गब्बर बिर्साउने आलम आतङ्क

गब्बर बिर्साउने आलम आतङ्क

८ कार्तिक (काठमाण्डौं)
चर्चित हिन्दी चलचित्र हो, ‘सोले’ । यो त्यस्तो फिल्म हो, जसका खलनायक ‘स्टार’ भए । सोलेमा चर्चित भारतीय कलाकार अमजाद खानले खेलेको खलनायक पात्र हो– ‘गब्बर सिंह’ । यो फिल्म हेर्नेले शायदै बिर्सन सक्छ– गब्बरलाई । सन् १९७५ को भारतीय सुपरहिट फिल्म ‘शोले’ आएपछि भिलेन गब्बरको नाम जन–जनमा फैलियो ।
सोलेका गब्बर काल्पनिक थिए । वास्तविक गब्बर सिंह भारतको मध्यप्रदेश राज्यको चम्मल क्षेत्रका डाँकाका कुख्यात सरदार थिए । सन् १९५० को दशकमा उसको अत्यधिक आतङ्क थियो– मध्यप्रदेश, उत्तरप्रदेश र राजस्थान क्षेत्रमा ।
गब्बरको जन्म सन् १९२६ मा मध्यप्रदेशको भिँड जिल्लाको गरीब परिवारमा भएको थियो । बलियो जिउडालका उनी सन् १९५५ मा गाउँ छाडी चम्मलको कुख्यात डाँकु
ल्याणसिंह गुर्जरको ‘ग्याङ’ मा सामेल भएका थिए । त्यसपछि आतंकको पर्याय बनेका थिए । यतिसम्म कि उनी तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको समेत टाउकोदुखाइ बने । सरकारले उसको टाउकोको मोल ५० हजार भारु तोकेको थियो ।
एक जना तान्त्रिकले डाँकु गब्बरलाई भनेका थिए– यदि उसले आफ्नो परिवारकी देवीलाई ११ जना मान्छेको नाक–कान चढाएमा उसलाई प्रहरी वा अरु कसैको गोलीले केही गर्न सक्दैन । त्यही विश्वासमा गब्बरले सयौँ व्यक्तिका नाककान काटे र देवीलाई चढाए ।
आतङ्क अचाक्ली भएपछि मध्यप्रदेश सरकारले गब्बरविरुद्ध प्रहरी अधिकारी राजेन्द्रप्रसाद मोदीको नेतृत्वमा ‘स्पेसल टास्कफोर्स’ बनायो । पूरा तयारीसाथ चम्मल क्षेत्रमा घेराबन्दी गरी प्रहरीले कारवाही थाल्यो ।
सन् १९५९ मा पुलिस र गब्बरको ‘ग्याङ’ बीच दोहोरो भिडन्त भयो । यो भिडन्त बस र रेलको छतमा बसेर टाढा–टाढाबाट मान्छेले हेरेका थिए । भिडन्तमा गब्बरलाई गोली लाग्यो तर उनी भाग्न सफल भए । यसपछि उनको ‘ग्याङ’ कमजोर हुँदै गयो । अर्को ‘इन्काउन्टर’ मा उनी मारिए ।
वास्तविक गब्बरको यो कहानी त धेरैलाई थाहा छैन तथापि शोले फिल्मका खलनायक गब्बरको आतंक भने सबैको मानसपटलमा ताजै छ । डाँकु गब्बर सिंहका कथाहरू तत्कालीन आईपीएस अधिकारी केएफ रुस्तमजीले डायरीमा लेखेका थिए । पछि रुस्तमजी मध्यप्रदेश प्रहरीका महानिरीक्षक पनि भए।
शोलेका पटकथा सहलेखक सलिम खानका पिता मध्यप्रदेश प्रहरीमा काम गर्थे । यसै कारण पनि हुनसक्छ– उनले गब्बर सिंहलाई शोलेका खलनायकका रूपमा जस्ताको तस्तै उतारे ।
नेपाली गब्बर अर्थात् आलम
शोले फिल्मपछि क्रुरता र आतंकको पर्याय नै बनेको छ– ‘गब्बर सिंह’ । अहिले उठाउन खोजेको प्रसंग चाहिँ चम्मलका गब्बरको हैन, गब्बरकै अर्को अवतार बनेका सांसद् मोहम्मद अफ्ताब आलमको हो । उनका अपराधका पर्दा एकपछि अर्को खुल्दै गएका छन् । आम चासो छ– आलम को हुन् ? उनी कसरी नेपाली राजनीतिको सिँढी चढ्न सफल भए?
अपराधको सिँढीबाट राजनीतिक उकालो चढ्दैगरेका उनी गम्भीर अपराधको १२ वर्षपछि कानूनको दायराभित्र प्रवेश गरेका छन् । अपराध गर्दा सकेसम्म प्रमाण नछाड्ने उनी भन्दै छन्, ‘त्यो घटना भएकै छैन ।’ तथापि उक्त घटनाको जीवित साक्षी पनि प्रहरीमा पुगिसकेकाले अब अपराधका पर्दा क्रमशः खुल्दै गएका छन्, खुल्दै जाने छन्।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २०६४ चैत २७ गते राती अर्थात् मौन अवधिमा बम विष्फोट गराएर त्यहाँका घाइते २२ जना आफ्ना विरोधीलाई चिम्नीमा जिउँदै जलाएको अभियोगमा उनी कारवाही भोग्दै छन्।
मोहम्मद अफ्ताब आलम रौतहटको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वा्चित प्रतिनिधिसभा सदस्य हुन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । काठमाडौंको समावेश लोकतन्त्रको आँखीझ्यालबाट हेर्दा त उनी अल्पसङ्ख्यक मुस्लिम समुदायका नेता हुन् । संघीय संसद्ले बनाएको भिडियो प्रोफाइलमा उनले भनेका छन्, ‘मलाई गाउँघरका दुःखीको सेवा गर्न मन लाग्छ ।’
काठमाडौंमा देखिने उनको यो अनुहार रौतहटमा भने फरक छ । उनका काका शेख इद्रिसको मृत्युपछि रिक्त सीटमा ०५३ सालको उपचुनाव लडेपछि संसदीय राजनीतिको सिँढी चढ्न थालेका उनको सफलताका तीन कारण छन्– बाहुबल, धनबल र सत्ताबल । अर्थात्, उनको राजनीतिक सफलताका कारण छज– अपराध, अपराध र केवल अपराध । आफ्नै पार्टीको सभापति शेरबहादुर देउवा पक्षधरमाथि उनले जिल्लामा चरम दमन गरेका छन्।
को हुन् आलम?
मोहम्मद अफ्ताब आलम नाताले कांग्रेस नेता शेख इद्रिशका भतिजा र छोरीज्वाइँ हुन् । उनको जन्म ०१९ सालमा रौतहटको राजपुर फरहदवामा भएको हो । ठूलोबुवा शेख इद्रिशकै कारण उनी सुरुदेखि नै नेविसंघको राजनीतिमा लागे । ०३९ सालमै आफू नेविसंघको जिल्ला सभापति र ०४५ सालमा केन्द्रीय उपाध्यक्ष भएको उनले बताएका छन्।
०४८ र ०५१ सालको संसदीय चुनावमा उनको क्षेत्रबाट ठूलो बुवा कांग्रेसका पुराना नेता इद्रिश लडे । उनैले जिते । ०५३ सालमा इद्रिशको मृत्युपछिको उपनिर्वाचनमा उनले टिकट पाए । उनको निर्वाचन क्षेत्रमा पर्ने मुस्लिम बहुल क्षेत्र राजपुर फरहदवा, अकोलवा, बैरिया, लौकाहा, नरकटिया, जटहरा बुथका मतदाताले ०६४ सालसम्म आफैँ कहिल्यै भोट हाल्न पाएनन् । बिहान ८ बजे नै उनले बुथ कब्जा गरिसक्थे । ०७० सालमा ‘मधेशी जनअधिकार फोरम’ ले आलमकै परिवारभित्रबाट नातामा उनकै मामा पर्ने मुस्ताक राजालाई उठायो । अनि एकपटक उनी पराजित भए ।
कोइरालाका प्रिय, लगातार मन्त्री
०५३ सालकै उपचुनावमा मतदानपछि नै उनी र प्रतिस्पर्धी एमालेका उम्मेद्वार अब्दुल कलाम आजाद पक्षबीच रातभर दोहोरो गोली हानाहान भएको थियो । प्रतिनिधिसभा सदस्य भएपछि उनलाई इद्रिसको भतिजा भनेर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले काखी च्यापे । ०५४ सालमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा सरकारमै उनलाई सहायक मन्त्री बनाइदिए । उपचुनाव जितेकै वर्ष उनी श्रम सहायक मन्त्री भए ।
थापापछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले ०५५ सालमा वन सहायक मन्त्री बनाए । ०५६ सालको आम चुनावमा फेरि सांसद् भए । अनि सन्तनेता कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्मा स्थानीय विकास राज्यमन्त्री बने।
भट्टराई हटाएर फेरि गिरिजाप्रसाद नै प्रधानमन्त्री बने । यो सरकारमा कोइरालाले उनलाई क्याबिनेट स्तरको मन्त्री बनाए । फेरि कोइराला सरकारमै ०५८ सालमा आलमले भूमिसुधार मन्त्री बन्ने मौका पाए । उनी चुनाव जितेदेखि नै लगातार मन्त्री बन्ने सौभाग्य पाए, जो अरुका लागि दुर्लभ अवसर हो । पछि आलम सुजाता निकटस्थ भए । गिरिजाबाबु रहेसम्म अवसरले उनलाई कहिल्यै छाडेन।
०६४ सालको संविधानसभा निर्वाचनमा उनी चुनिए । त्यो चुनाव कसरी जितेका रहेछन् भन्ने त अहिले उनी पक्राउ परेको सामूहिक हत्या काण्डले नै पुष्टि गरेको छ । संविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बने । नौ महिनामै उनले राजीनामा गरे । त्यसपछि रौतहटकै नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने ।
एमाले अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै दुई क्षेत्रबाट चुनाव हारेका नेपाललाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मुख्य भूमिका थियो । नेपाल नेतृत्वको सरकारमा आलम श्रम तथा यातायातमन्त्री भए । कोइरालाले सिफारिश गरेपछि आफ्नै गृहजिल्लामा यति ठूलो हत्याकाण्ड मच्चाएको थाहा हुँदाहुँदै पनि आलमलाई नेपालले चूपचाप मन्त्री बनाए।
०७० सालको दोस्रो संविधानसभा निर्वाचन भने उनले हारे । उनकै परिवारभित्रबाट ‘मधेशी जनअधिकार फोरम’ ले उम्मेद्वार उठायो । आलमका मामा पर्ने मुस्ताक राजा उनको कडा प्रतिरोध गरे र चुनाव जिते । ०७४ सालको चुनावपछि एमाले प्रवेश गरेका राजाको हृदयाघातका कारण मृत्यु भइसकेको छ । आलम भने ०७४ सालमा फेरि संघीय संसद्मा निर्वा्चित भए ।
हरेक चुनावमा हत्या
आलमको गाउँ राजपुर फरहदवा मुस्लिम बहुम क्षेत्रमा हो । त्यो भेग सुरक्षाका हिसाबले यत्ति संवेदनशील मानिन्छ जहाँ ‘राष्ट्रिय मानवअधिकार आयोग’ को अनुसन्धान टोली समेत जान डराउँछ ।
०५३ सालमा उनी संसदीय चुनाव लडेदेखि आलम चुनाव लडेको निर्वाचन क्षेत्र यस्तो हुन्थ्यो, जहाँ हरेक निर्वाचनमा मान्छे मारिँदै आए । बुथ कब्जा र जबर्जस्तीको प्रयास पनि जारी रह्यो । चुनावअघि र चुनावको दिन मात्र हैन, चुनावपछि निस्कने विजय जुलुशका क्रममा पनि मान्छे मारिन्थे । कोही उनको विरुद्ध बोल्यो भने गाउँमा ऊ सकिन्थ्यो । त्यसबेला आलमका मान्छेले तत्कालीन एमालेका जिल्ला नेता रामकुमार भट्टराईलाई अपहरण गरेका तर पहिले पञ्चायतविरुद्ध सँगै राजनीति गरेका एकजना कांग्रेसकै कार्यकर्ताले मोटरसाइकलमा हाली उनलाई भगाएर गौर पुर्‍याएका थिए, जतिबेला गौरमा भट्टराईलाई आलमका मान्छेले मारेको हल्ल चलिसकेको थियो।
०५६ सालको आमचुनावमा नर्क्टियाको बुथमा भोट हाल्न गएको युवक मारिएको थियो । त्यहाँ गरिएको बुथ कब्जाको विरोध गरेपछि उनलाई आलमका मान्छेले कुटी–कुटी मारेका थिए ।
०५६ सालमा तत्कालीन विद्रोही माओवादीले उनको घरमा आक्रमण गर्‍यो । तर, उनले क्षतिभन्दा बढी सरकारबाट क्षतिपूतिर्त असुले । त्यसबेला उनले राज्यबाट ४० लाख रुपैयाँ बुझेको स्रोतको दाबी छ।
आलमको स्वभाव कसैलाई पनि आदर नगर्ने, सबैलाई डोमिनेट गर्ने खालको छ । उनका सामु कोही पनि स्थानीय बोल्ने आँट गर्दैनन् । रौतहटका एक स्थानीय नाम नलेख्न आग्रह गर्दै भन्छन्, ‘उनले आफैँलाई पढाएको स्कुलको हेडसरलाई पनि नमस्कार गर्दैनन् । भेट भैहाल्यो भने भन्छन् क्या बात है माड्साप !’
उनी एकलकाटे स्वभावका छन् । उनी कसैसँग घुलमिल हुँदैनन्, चुरोट तानेर एक्लै बस्न रुचाउँछन् । ०६२÷६३ को आन्दोलनमा उनी गौरमा थुनिए । हिरासतमा रहँदा पनि उनी अरु राजनीतिक थुनुवासँग नबसी एक्लै चूपचाप बस्थे ।
आलम पेशेवर जुवाडे हुन् । ०५३ सालपछि सांसद् सुविधामा लिएको ‘प्राडो’ जीपसमेत ०५९ सालमा याक एण्ड यती क्यासिनोमा जुवा खेल्दा हारे । उनमा स्त्री मोह पनि बढी नै रहेको नजिकबाट चिन्नेहरू बताउँछन् । गाडी त्यहीँ बुझाएर उनी अर्काको मोटर चढेर घर गएका थिए ।
एक स्थानीयले दिएको जानकारीअनुसार, उनले भारतीय बैंक खाता चलाउँछन् । ‘चुनाव आएपछि गाउँमै हतियार बनाउने कारखाना चलाउने उनले के–के काम गर्लान्, आफैँ अनुमान गर्नुस्’, ती स्थानीयले भने । सांसद् विकास कोषको पैसा पनि ‘कुनै वर्ष दमारचोकदेखि राजपुरसम्म’, कुनै वर्ष ‘राजपुरचोकदेखि दमारसम्म’ करिब डेढ किलोमीटर ग्राभेल गरेको भनेर नै पचाइदिने उनले बताए ।
आलमको नाम लिँदै थर्कमान हुने स्थानीयले अहिले लामो सास फेरेका छन् तर कथम् उनी छुटेर आइहाले भने के होला भन्ने त्राश कायमै छ । ०६४ सालको हत्याकाण्डमा छोरो मारेको भन्दै मुद्दा हाल्ने रुपसना खातुनको लाश घर गएको बेला उखुबारीमा भेटिएकोबाट पनि आलमविरुद्ध बोल्नेको हालत अनुमान गर्न सकिन्छ ।
अहिले रौतहटबासीको हालत चम्मलघाँटीका डाँका सरदार गब्बर सिंह व्यहोरेका त्यस क्षेत्रका बासिन्दाको भन्दा कम छैन । गब्बरको आतंक भारतीय प्रहरीले चार वर्षमै अन्त्य गरेको थियो तर गब्बरका नेपाली संस्करण सम्झाउने आलमलाई कानूनी दायरा ल्याउन दुई दशक लागेको छ । अपराधलाई सिँढी बनाएर राजनीतिको भर्‍याङ चढ्ने ‘नेपाली गब्बर सिंह’ को अन्त्यबिना लोकतन्त्रले जरा हाल्न सक्दैन । -काठमाण्डु प्रेसबाट

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares