एकतिरबाट लुट्दै अर्कोतिर दान दिँदैछन् ह्याकरहरू, अनौठो घटना देखेर साइबर विज्ञहरू चकित

एकतिरबाट लुट्दै अर्कोतिर दान दिँदैछन् ह्याकरहरू, अनौठो घटना देखेर साइबर विज्ञहरू चकित

ह्याकरहरूको एउटा समूहले आफूले लुटेको रकम परोपकारी संस्थालाई दान गरेपछि यस्तो नयाँ खालको घटना देखेर विज्ञहरू नै छक्क परेका छन्।

डार्कसाइड भनेर चिनिने समूहका ह्याकरहरूले विभिन्न कम्पनीबाट दशौँ लाख डलर धुतेका छन्। तर आफूहरू ‘विश्वलाई राम्रो स्थान’ बनाउन भएको उनीहरूको दाबी छ।

सञ्चालकको पहिचान नखुल्ने हिसाबले चलाइएको वेबसाइटमार्फत् उनीहरूले दुईवटा परोपकारी संस्थामा १० हजार डलर बिटक्वाइन चन्दा दिएको रसिद सार्वजनिक गरेका छन्।

त्यसमध्ये एउटा चिल्ड्रेन इन्टरन्याश्नलले आफूले उक्त रकम स्वीकार नगर्ने बताएको छ।

उक्त कदमलाई नैतिक र कानुनी दुवै रूपमा आश्चर्यजनक र समस्याकारी घटनाक्रमका रूपमा लिइएको छ।

अक्टोबरको मध्यमा राखेको ब्लग पोस्टमा ह्याकरहरूले आफूहरूले धेरै नाफामा रहेका कम्पनीहरूलाई मात्रै तारो बनाउने बताएका थिए। उनीहरूले त्यस्ता संस्थाका आईटी प्रणाली फिरौती नपाएसम्म अवरुद्ध गरिदिने गरेका थिए।

उद्देश्य के हो?

उनीहरूले लेखेका थिए, “हामीलाई लाग्छ कम्पनीहरूले तिरेको केही रकम परोपकारमा जानु उपयुक्त हो।”

“तपाईँहरूले हाम्रो काम जति खराब भएको ठान्नूस्, हामी कसैको जीवन परिवर्तन हुनेगरी सहयोग गर्न पाएको थाहा पाउँदा प्रसन्न छौँ। आज हामीले हाम्रो पहिलो चन्दा दियौँ।”

चन्दाको रसिद

ती साइबर आक्रमणकारीहरूले दुईवटा परोपकारी संस्था द वाटर प्रोजेक्ट र चिल्ड्रेन इन्टरन्याश्नललाई ०.८८ बिटक्वाइन पठाएकोमा प्राप्त करको रसिद पनि पोस्ट गरेका थिए।

चिल्ड्रेन इन्टरन्याश्नलले बालबलिका, परिवार र समुदायलाई भारत, फिलिपिन्स र संयुक्त राज्य अमेरिका सहित १० वटा देशमा काम गर्छ। उक्त संस्थाका प्रवक्ताले बीबीसीसँग भने, “यदि उक्त चन्दा ह्याकरहरूसँग जोडिएको छ भने त्यसलाई स्वीकार गर्ने इच्छा हाम्रो छैन।”

‘रबिन हुड’ बन्ने इच्छा

साइबर सुरक्षा कम्पनी इम्सीस्फटका विश्लेषक ब्रेट क्यालो भन्छन्, “यी दानमार्फत् अपराधीहरू के प्राप्त गर्न खोजिरहेका छन् त्यो प्रष्ट छैन। सम्भवत: यसले उनीहरूलाई आफ्नो पश्चात्तापका लागि सहयोग गर्छ। अथवा अहंका कारणले उनीहरू विवेकशून्य फिरौती लिने व्यक्तिभन्दा पनि आफूलाई रबिन हुडजस्ता पात्रका रूपमा हेरियोस् भन्ने चाहन्छन्।”

उनी थप्छन्, “उत्प्रेरक जे भए पनि यो एकदमै असाधारण कदम हो र मलाई लाग्छ यो पहिलो पटक फिरौती उठाउने साइबर आक्रमणकारीको समूहले आफ्नो नाफाको अंश परोपकारी संस्थालाई दान गरेको घटना हो।

साइबर हमला

डार्कसाइड तुलनात्मक रूपमा नयाँ समूह हो। तर क्रिप्टोकरेन्सी बजारको विश्लेषणले उनीहरूले सक्रिय रूपमा पीडितहरूबाट रकम असुलिरहेको देखाउँछ।

गएको ज्यानुअरीमा ट्राभलेक्ससहितका नाम चलेका कम्पनीहरू साइबर आक्रमणको निसानामा परेका थिए। ती लक्षित आक्रमणसँग जोडिएका साइबर अपराधीहरूसँग उनीहरूको सम्बन्ध भएको हुनसक्ने प्रमाण भेटिएका छन्।

ह्याकरहरूले परोपकारी संस्थाहरूलाई रकम दिएको विषयले सुरक्षा निकायहरूलाई पनि चिन्ता थपिदिएको छ।

आक्रमणकारीहूले विश्वका ६७ वटा गैरनाफामूलक संस्थाहरूको अमेरिकामा रहेको सेवा प्रदायक द गिभिङ ब्लकमार्फत् चन्दा दिएका हुन्।

चन्दाको रसिद

सेभ द चिल्ड्रेन, रेन फरेस्ट फाउन्डेशन र सीइज द फर्स्ट आदि संस्थाहरूलाई पनि सेवा दिने उसले आफूलाई क्रिप्टोकरेन्सीलाई स्वीकार गर्ने एक मात्र गैर नाफामूलक समाधान रूपमा अनलाइनमा चिनाएको छ।

परिचय नखुलाई गरिने दानको जटिलता उजागर

द गिभिङ ब्लकले साइबर अपराधीहरूले दिएको चन्दाबारे आफू बेखबर रहेको जनाएको छ। उसले भनेको छ, “हामी अझै पनि ती रकम वास्तवमा चोरिएका थिए कि थिएनन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छौँ। यदि चोरिएको पत्ता लागे हामी त्यसलाई वास्तविक धनीसमक्ष फिर्ता गर्ने प्रक्रिया अघि बढाउनेछौँ।”

उसले उक्त रकम अपराधीहरूलाई फिर्ता गर्छ वा कुन चाहिँ पीडितलाई कसरी रकम सोधभर्ना गरिनेछ भन्ने खुलाएको छैन।

द गिभिङ ब्लकले दाताबाट उसले सङ्कलन गरेका विवरणबारे पनि खुलाएको छैन। बिटक्वाइनजस्ता डिटिजल मुद्रा किनबेच गर्ने कम्पनीहरूले प्रयोगकर्ताहरूले आफ्नो पहिचान पुष्टि गर्नुपर्ने व्यवस्था गरेका छन् तर यहाँ त्यस्तो गरिएको छ कि छैन भन्ने प्रष्ट छैन।

यो ट्वीट अहिले मेटिएको भए पनि यसमा ह्याकरहरूले चन्दा दिएको कुरा उल्लेख छ
तस्बिरको क्याप्शन,यो ट्वीट अहिले मेटिएको भए पनि यसमा ह्याकरहरूले चन्दा दिएको कुरा उल्लेख छ

प्रयोगका लागि बीबीसीले गोप्य रूपमा द गिभिङ ब्लकको अनलाइनमार्फत् चन्दा दिने प्रयास गर्दा कुनै पनि थप प्रमाणीकरण सम्बन्धी प्रश्नहरू सोधिएको थिएन।

विज्ञहरूले यो घटनाले नाम नखुलाई गरिने दानको जटिलता र खतरालाई उजागर गरेको बताइरहेका छन्।

द गिभिङ प्रोजेक्टमार्फत् चन्दा स्वीकार गरिरहेको सीइज द फर्स्ट परोपकारी संस्थाले नाम नखुलेका र सम्भवतः आपराधिक स्रोबाट प्राप्त रकम लिन आफूहरूले असहज महसुस गर्ने जनाएको छ।

उक्त संस्थाले भनेको छ, “खराब पात्रहरूले अवसरको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि क्रिप्टोकरेन्सी चन्दा दिनु लाजमर्दो हो र हामी अपेक्षा गर्छौँ कि परिचय खुलाउन नचाहने हाम्रा दाताहरूले हाम्रो मूल्य र मान्यतालाई सम्मान गर्नेछन्।”