९ महिनामा टेलिकमको नाफा झण्डै ६ अर्ब, गत वर्षभन्दा २८.६% कम

९ महिनामा टेलिकमको नाफा झण्डै ६ अर्ब, गत वर्षभन्दा २८.६% कम

काठमाडौँ : नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपाल टेलिकमको नाफा २८.५६ प्रतिशतले घटेको छ । गत वर्ष तेश्रो त्रैमाससम्म नेपाल टेलिकमको नाफा ७ अर्ब ५६ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षमा कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण व्यवसायमा असर परेको नेपाल टेलिकमले जनाएको छ । यसका साथै अघिल्ला वर्षको तुलनामा नेपाल टेलिकमको मुद्दती निक्षेपमा प्राप्त हुने ब्याज आम्दानी पनि घटेको र महामारी लक्षित गरी सस्तो मूल्यमा डाटा प्याकेज बेच्दा डाटा खपत बढेपनि नाफा घटेको टेलिकमले उल्लेख गरेको छ । 

नेपाल टेलिकमले आफ्नो नाफामा कमी आउनुको अर्को मुख्य कारणमा अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धले रोमिङ सेवामा पनि कमी आएको बताएको छ । ओभर द टप (ओटीटी) को बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय अन्तरआवद्धता सेवामा पनि ठूलो कमी आएको छ । 

‘चालु आवमा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा वृद्धि, मर्मत सम्भार खर्च वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन र फोजी/एफटीटीएच जस्ता नयाँ प्रविधि जडानमा गरिएको ह्रास कट्टीको प्रभाव नाफामा देखिएको’ नेपाल टेलिकममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् । 

नेपाल टेलिकमको तेश्रो त्रैमाससम्मको वासलात अनुसार टेलिकमले उक्त अवधिमा सेवा विक्रीबापत् २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा नेपाल टेलिकमको सेवा बिक्री बापतको आम्दानी २.२९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधि (साउन–चैत) मा नेपाल टेलिकमको आय २६ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।  सेवा बिक्रीबाट हुने आम्दानी बढेपनि उल्लेखित विविध कारणले कुल आम्दानी भने गत आर्थिक वर्षको पहिलो नौ महिनामा ३२ अर्ब २७ करोड रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा ३१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।