१६ वर्षका किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर दुई दिनमा केन्याबाट नेदरल्याण्ड पुगे, जिउँदो भेटिएकोमा डाक्टरसमेत चकित

१६ वर्षका किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर दुई दिनमा केन्याबाट नेदरल्याण्ड पुगे, जिउँदो भेटिएकोमा डाक्टरसमेत चकित

केन्याको नैरोबी विमानस्थलबाट एउटा कार्गो विमान टर्की र बेलायत हुँदै नेदरल्याण्ड पुग्यो अर्थात् कूल ८ हजार किलोमिटरको यात्रा गर्यो । विमानको ल्यान्डिङ गियरमा १६ वर्षका एक किशोर लुकिरहे । अब उनी नेदरल्याण्डको मास्त्रिख्त शहरको एक अस्पतालमा छन् र स्वस्थ छन् ।

विश्वास गर्न मुश्किलः

स्टफ डट को डट एनजेडले एक रिपोर्टमार्फत् यो घटनाबारे जानकारी दिएका हुन् । रिपोर्टका अनुसार बुधबार केन्याको नैरोबीबाट एयरबस ए३३० कार्गो विमानले उडान भर्यो । एक १६ वर्षका केन्याली किशोर विमानको ल्यान्डिङ गियरमा लुके । यो विमान टर्की र बेलायत रोकिएको पनि थियो । 

बेलायतपछि यो विमान शुक्रबार दिउँसो नेदरल्याण्डको मास्त्रिख्त विमानस्थल पुग्यो । यहाँ जब इन्जिनियरले विमान परीक्षण गरे तब ल्यान्डिङ गियरमा यी किशोरलाई देखे । उनलाई बाहिर निकालियो र स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइयो । 


जिउँदो भेटिँदा सबैजना चकितः

रिपोर्टमा यी किशोरको नाम उल्लेख गरिएको छैन । स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै उक्त रिपोर्टमा ती किशोर लामो यात्राका कारण हाइपोथर्मियाको शिकार भएको जानकारी दिइएको छ । हाइपोथर्मिया त्यो अवस्थालाई भनिन्छ जब शरीरको तापक्रम खतरनाक स्तरमा कम हुने गर्छ । यसले नसा जाम गराउन सक्छ जसका कारण मृत्युको सम्भावना अधिक रहन्छ ।   उनी जिउँदो भेटिँदा डाक्टरसमेत चकित भएका छन् । 

नेदरल्याण्डका उड्डयन विज्ञ उनी विमानसम्म कसरी पुगे भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । यति लामो यात्रामा ती किशोर विमानभित्र लुकेका छन् भन्ने कुरा कसरी थाहा पाउन सकिएन ? उक्त विमान धेरैजसो ३८ हजार फिटको उचाईमा थियो । यो उचाईमा अक्सिजनको स्तर निकै कम हुन्छ । यस्तोमा जिउँदो हुनु लगभग असम्भव नै हो । अर्को मुख्य कुरा के हो भने  – जब विमान अवतरण हुन्छ तब पाङ्ग्रा खोलिने गर्छ, यस्तो अवस्थामा कोही लुकेकै छन् भने पनि खसेर मृत्यु हुने सम्भावना हुन्छ । 

यी किशोरले शुक्रबार भने, ‘म पूर्ण रुपमा ठिक छु । केन्यामा आफ्नो परिवारसँग कुरा गर्न चाहन्छु ।’

यसअघि दुई पटक यस्तो भएको थियो तर दुबैको शव भेटियोः

सन् २०१९ मा केन्या एयरवेजको एउटा विमानमा यस्तै प्रकृतिको घटना भएको थियो ।  साउथ वेस्ट लण्डनमा एक व्यक्ति आफ्नो घरको बगैंचामा घाम तापेर बसिरहेका थिए । अचानक उनी नजिकै ठूलो आवाजमा एक व्यक्ति विमानबाट खसे । उक्त विमान  लण्डनबाट हीथ्रो एयरपोर्ट जाँदै थियो । 

विमानबाट खसेका ती व्यक्ति पनि विमानको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका थिए ।
 
यस्तै, सन् १९९७ मा पनि यस्तै भएको थियो । त्यतिबेला विमान नैरोबीबाट आइरहेको थियो । यो बेलायतको गेटविक विमानस्थलमा अवतरण गर्यो । विमानको अगाडिको ल्यान्डिङ भाग (नोज–ह्विल बे) मा एक केन्याली नागरिकको शव भेटिएको थियो ।