हिउँदे अधिवेशन ढिलाई

हिउँदे अधिवेशन ढिलाई

८ पुस (धनगढी)
सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन सकिएको चार महिना बिते पनि हिउँदे अधिवेशनको अझै टुंगो लागेको छैन । भदौमा बजेट अधिवेशन सकिएको थियो ।
प्रदेशसभा सचिवालयले पर्याप्त विधेयक नभएकाले रोकिएको जानकारी दिएको छ । हालसम्म एउटा विधेयक पनि दर्ता नभएको प्रदेशसभाका सचिव रामसिंह धामीले बताए । सत्तारुढ नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारले आफूसँग कुनै सल्लाह नगरेको बताए । ‘ठ्याक्कै कहिले सुरु हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पुसको दोस्रो सातापछि बैठक सञ्चालन गर्नेबारे छलफल भइरहेको बताए ।
हालसम्म प्रदेशसभाबाट ३२ वटा विधेयक पारित भएका छन् ।
प्रदेश सरकारका कानुनी सल्लाहकार रहेका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले सरकारले आगामी अधिवेशनका लागि ७ वटा विधेयकको मस्यौदा तयारी गरिरहेको बताए । सिँचाइ, प्रदेश स्वास्थ्य सेवा, महिला हिंसा,प्रदेश खेलकुद, प्रदेश सञ्चार, एफएम, टेलिभिजन व्यवस्थापन र प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए ।