‘हाइप्रोफाइल’ २५ जुवाडेको सम्पत्ति छानबिन हुने

‘हाइप्रोफाइल’ २५ जुवाडेको सम्पत्ति छानबिन हुने

१७ कार्तिक (काठमाण्डौं)
दरबारमार्ग क्षेत्रका ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनाविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत आर्जनमा छानबिन थाल्ने भएको छ ।
गत १० गते जुवा खालबाट समातिएका २५ जनाको सम्पत्तिमाथि विभागले अनुसन्धान थाल्न अनुसन्धान अधिकृत तोकिसकेको हो ।
विभागका महानिर्देशक रुपनारायण श्रेष्ठले ‘बले’सहित २५ जनाको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकेको र काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट छुट्नेबित्तिकै उनीहरूलाई नियन्त्रणमा लिएर बयान थालिने बताए ।
‘जुवा अखडामा अस्वभाविक रुपैयाँ कारोबार भएको र त्यसको सम्पत्तिको स्रोत खुल्न नसकेकाले छानबिन गर्न भनी महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पत्र लेखेसँगै अनुसन्धान अधिकृत तोकिएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने ।
नारायण गोपाल चोकको साम्बाला होटल पछाडि रहेको विक्रम गौतमको घरमा जुवा खेलिरहेका बलेसहित २५ जना जुवाडेलाई प्रहरीले दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको चेक पनि बरामद गरेको थियो ।
उनीहरूमाथि प्रहरीले जुवा ऐन अन्तर्गत कारबाही गरिरहेको छ ।
जुवा ऐन अन्तर्गतको मुद्दा सकिनेबित्तिकै उनीहरूलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ।
महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार उनीहरूमाथि अहिले जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ। यो मुद्दामा प्रहरीले २५ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्न पाउँछ ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग समन्वय भइरहेको छ, विभागले सम्पत्तिको स्रोतमाथि छानबिन गर्नेछ,’ लम्सालले भने ।
नेकपा नेतानिकट मानिने सापकोटा दरबारमार्ग क्षेत्रमा ‘क्यासिनो किङ’ले चिनिन्छन्।
उनी चक्रवर्ती ‘मिटरब्याज’मा क्यासिनोमा लगानी गर्ने गर्छन्। उनको भारत, नेपाल र श्रीलंकामा क्यासिनो रहेको प्रहरी स्रोत बताउँछ ।