सेनाले ६ करोडमा किनेको २८ हजार पीसीआर किट काम नलाग्ने !

सेनाले ६ करोडमा किनेको २८ हजार पीसीआर किट काम नलाग्ने !

१० असार (काठमाडौ)
नेपाली सेनाले खरिद गरेका पीसीआर परीक्षण किट नेपालका कुनैपनि प्रयोगशालामा प्रयोग गर्न नमिल्ने भएको छ। सेनाले चीनबाट खरिद गरेको २८ हजार परीक्षण किट देशभरका प्रयोगशालामा प्रयोग गर्न नमिल्ने देखिएको हो।
‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स सेनाले खरिद गरेको थियो।
तर, ती पीसीआर किटको प्रयोग टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत देशभरका २२ वटै पीसीआर मेसिनमा प्रयोग नहुने भएको छ।
‘सेनाले खरिद गरेको झण्डै २८ हजार पीसीआर किट अहिले नेपालमा भएका कुनैपनि पीसीआर मेसिनमा नमिल्ने परेछ,’ मन्त्रालयका एक उच्च अधिकारीले काठमाडौं प्रेससँग भने, ‘हामीसँग कुन मोडलको पीसीआर मेसिन छ र त्यो अनुसार कस्तो पीसीआर किट चाहिन्छ भनेर म्याचिङ गरेर खरिद गर्नुपर्नेमा हचुवामा खरिद गर्दा २८ हजार किट काम नलाग्ने भएको छ।’
सेनाले खरिद गरेको ती पीसीआर किट वीर अस्पतालको प्रयोगशालामा परीक्षण गर्ने प्रयास गरिएको थियो। तर, वीर अस्पतालमा रहेको मेसिनमा किट म्याचिङ भएन। सो किट देशभरनै काम नलाग्ने भएको हो।
स्वास्थ्य मन्त्रालयले भने कुन मेसिनमा मिल्छ भन्ने परीक्षण गर्ने काम भइरहेको दाबी गरेको छ। ‘कुनै रिएजेन्ट कुनै मेसिनमा मिल्छ, कुनैमा मिल्दैन। कुनै रिएजेन्टको अर्को मेसिनमा मिल्छ। त्यसैले ती किट जुन मेसिनमा मिल्छ त्यसमै राखेर परीक्षण गर्छौ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘सेनाले ल्याएको किट कामै नलाग्ने भन्ने होइन। तर त्यसको लागि त्यही खालको मेसिन चाहिन्छ। त्यस्तो मेसिन हामीसँग पर्याप्त छ, मिलाएर परीक्षण गर्ने हो।’
प्रवक्ता गौतमले सेनामार्फत खरिद गरिएका परीक्षण किट देशभरका २२ प्रयोगशालमा मध्ये कहाँ–कहाँको पीसीआर मेसिनमा प्रयोग गर्न मिल्छ? भन्ने प्रश्नमा भने स्पष्ट जवाफ दिन सकेनन्। ‘त्यो त मलाई थाहा छैन, हेर्नुपर्ने हुन्छ। तर, एक खालको मेसिनमा मिलेन भने अर्कोमा मिल्छ,’ उनले भने, ‘यसमा दुई वटा सिस्टम हुन्छ। एउटा ओपन सिस्टम हुन्छ। यो सिस्टममा जुनसुकै रिएजेन्ट जुनसुकै मेसिनमा मिल्ने हुन्छ। कुनैमा भने पार्टिकुलर रिएजेन्ट चाहिन्छ। त्यसलाई जुन मेसिनमा फिट हुन्छ, त्यही मेसिनमा राखेर परीक्षण गर्ने हो। सेनाले ल्याएका किट प्रयोग हुन्छन्।’
स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा एकपछि अर्को विवादमा फस्दै आएको सरकार सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामाग्रीलाई लिएरसमेत विवादमा तानिएको छ। सेनाले स्वास्थ्य सामाग्री महँगो मूल्यमा खरिद गरेको आरोप लागिरहँदा परीक्षण किट नै प्रयोग गर्न नमिल्ने देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले सेनाले खरिद गरेका परीक्षण किट प्रयोग नगरिएको बताइन्। ‘सेनाले खरिद गरेका किट अहिलेसम्म प्रयोग गरेका छैनौं। ती किट हाम्रो प्रयोगशालामा भएका मेसिनमा फिट हुँदैनन्,’ उनले भनिन्, ‘सेनाले ल्याएको किटबाट स्याम्पल संकलन गरिएको स्वाबको परीक्षण गर्न छुट्टै मेसिन प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तो मेसिन हाम्रो प्रयोशालामा नभएकाले यहाँ प्रयोग गर्न नमिलेको हो।’
महँगो मूल्यमा स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै विवादमा मुछिएको सेनाले भने प्रयोग गर्न नमिल्ने भनिएका परीक्षण किट स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसअनुसार किनेको दाबी गर्दै आएको छ।
सेनाले उक्त पीसीआर किट प्रति गोटा २१ सय ५० रुपैयाँका दरले चीनबाट खरिद गरेको हो। पीसीआर किट काम नलाग्ने भएपछि उक्त किट किन्न सरकारले खर्च गरेको ६ करोड १० लाख २७ हजार ७ सय ५० रुपैयाँ खेर गएको छ।
गत चैतमा ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको थियो। तर, बजारभाउ भन्दा महँगोमा सामान खरिद गरेर अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि ओम्नीसँगको खरिद सम्झौता रद्द गरेर सेनालाई सामान ल्याउने जिम्मा दिइएको थियो। चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई ‘जिटुजी’ प्रक्रियामा समान खरिदको जिम्मा दिइएको थियो। सोही निर्णयपछि चैत २० गते ओम्नीसँगको खरिद सम्झौता रद्द गरिएको थियो।
मन्त्रालयका अनुसार अहिले देशभरका प्रयोगशालामा औसतमा दैनिक ६ हजार पीसीआर परीक्षण भइरहेको छ। अब ५५ हजार मात्रै परीक्षण किट मौज्दात रहेको र १ लाख ५० हजार किट खरिद गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म १ लाख ८६ हजार ३७७ पीसीआर परीक्षण भएको छ। मंगलबारसम्म १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ। २ हजार २२४ निको हुँदा २४ जनाको निधन भएको छ। काठमाण्डौं प्रेस डट कमबाट