सेतीका बरिष्ट चिकित्सकद्धारा निशुल्क स्वास्थ्य शिविर

सेतीका बरिष्ट चिकित्सकद्धारा निशुल्क स्वास्थ्य शिविर

२१ मंसिर (धनगढी)
सेती प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलले आप्mनै पहलमा शनिवार कैलालीको फुलबारीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विशेषज्ञ डाक्टर उपलब्ध भएको शिविरमार्फत फुलबारी क्षेत्रका ३ सय बढि विरामीले उपचार सेवा पाएका छन् ।
डा. शर्मा पौडेलले अस्पतालबाट बचेको समयमा साँझ विहान काम गर्दै आएको अस्पताल लाइनस्थित गरिमा क्लिनिकको आयोजनामा शिविर आयोजना गरेका हुन् । शिविरमा निशुल्क स्वास्थ्य जाँच, निशुल्क प्रयोगशाला र निशुल्क औषधी वितरण गरिएको डा. शर्माले बताए । धेरैजसो विरामीहरुमा सुगर, मुटुरोग, सिकलसेल, मृगौला, श्वासप्रस्वास सम्बन्धि रोगका विरामीहरु रहेको उनले बताए ।
डा. शर्मा पौडेलसंगै डा दिपेन्द्र कुमार यादव, डा. राजेन्द्र जोशी, डा युक्ति भट्ट र नेत्र चिकित्सक डा युवराज जोशीले शिविरमा स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । त्यस क्रममा १३९ जनाले आँखाको जाँच तथा उपचार गराएका थिए । लामो समयदेखि छातीको समस्या खेप्दै आएकी फुलबारीकी सितादेवी बिकले शिविरमा जाँच गराउँदा आफुलाई मुटुको समस्या रहेको थाहा पाएको र अब थप उपचार गर्नु अनिवार्य भएको बारे जानकारी पाएको बताइन् । ‘मलाई मुटुरोग छ भन्ने थाहै थिएन’ उनले भनिन्, ‘डाक्टरले अहिलेलाई औषधी दिनुभएको छ र राम्रो अस्पतालमा गएर थप उपचार गर्नु भन्नु भएको छ ।’
सामाजिक सेवामा समेत क्रियाशील सेती प्रादेशिक अस्पतालका ख्यातिप्राप्त बरिष्ट चिकित्सक डा. निराजनदत्त शर्मा पौडेलले यसअघि पनि विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएका छन् । फुलबारी क्षेत्रका विपन्न समूदायका विरामीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा खुसी लागेको डा. शर्मा पौडेलले बताए ।