सुदूरपश्चिमा चुनावी दौड-वडाध्यक्ष जिताउन अन्तिम दौड
११ मंसिर (धनगढी)
नेकपा र कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन जिल्लादेखि केन्द्रका नेताहरु घरदैलो अभियानमा व्यस्त छन् । उनीहरुले घरदैलो अभियानलाई पनि तिब्र पारेका छन् । डोटीको आदर्श गाउँपालिका वडा २ को अध्यक्ष पदका लागि भइरहेको उप–चुनावमा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र पारिरहेका छन् । नेकपा र कांग्रेसका उम्मेदवारहरू जिल्लादेखि केन्द्रका नेताहरूसंँगै घरदैलो अभियानमा जुटेका छन् ।
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाबाट रामबहादुर बोहरा चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसबाट महादेव साउँद भिडेका छन् । त्यस्तै राप्रपाका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्का पनि प्रचारमा खटेका छन् । स्वतन्त्र उम्मेदवार खड्काले नेकपा र कांग्रेस दुवैका मत काट्ने भएकाले उनलाई रिझाएर मत आफ्नो पोल्टामा पार्ने रणनीतिमा मुख्य दल छन् । उनले नेकपा र कांग्रेस दुवैलाई चुनौती बढाएका छन् ।
नेकपाका उम्मेदवार बोहरालाई जिताउन प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगर आदर्श गाउँपालिकाको साउँदकाँडामा छन् भने कांग्रेस उम्मेदवार महादेव साउँदलाई जिताउन पूर्व–भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायर वडाको कोटान्जलमा घरदैलो गरिरहेका छन् ।
कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का पनि विभिन्न गाउँहरूमा घरदैलो गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य गौरी ओलीलगायत नेता पनि नेकपा उम्मेदवारलाई मत माग्न व्यस्त छन् ।
तत्कालीन एमालेबाट प्रेमबहादुर बोहराले वडाध्यक्षमा जितेका थिए । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो । अहिले नेकपाबाट उनका दाइ नाता पर्ने रामबहादुर बोहरा नेकपाका उम्मेदवार छन् । बोहराले भाई प्रेमको चुनावी एजेण्डा पुरा गर्ने आफ्नो सपना रहेको भन्दै मतदातालाई भोट मागिरहेका छन् । ‘भाईले बिद्युत, सडक, खानेपानी र बिद्यालय ब्यवस्था गर्छु भन्ने एजेन्डा लिएर वडाध्यक्ष भएको थियो,’ बोहराले भने, ‘तर ती अधुरै छन् । अब उनको सपना म पूरा गर्छु ।’
प्रेमबहादुर बोहरासँग कांग्रेसबाट भिडेका महादेव साउँद पुनस् प्रतिस्पर्धामा उत्रेका छन् । साउँदले गाउँपालिकामा ब्याप्त भ्रष्टाचार र बेथिती रोक्न उम्मेदवारी दिएको भनाइ छ । साउँद जनतालाई अहिल्यै खोक्रा आश्वासन र सपना नबाँडी मागमा आधारित योजना बनाएर काम गर्ने बताउँछन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका भूमीसिंह खड्काले दलहरूको जस्तो ठुलाठुला एजेण्डा र सपना आफुसँग नभएको बताए । ‘समाजसेवा गर्ने मेरो इच्छा हो, म निर्वा्चित भएपछि कुनै पनि सेवा सुविधा नलिई काम गर्नेछु,’ उनले भने, ‘हाल ब्याप्त भ्रष्टाचार रोक्ने र वडाको विकास गर्ने मेरो लक्ष्य हुनेछ ।’
केन्द्रीय नेताको लर्को
अछामको मेल्लेख गाउँपालिका ५ मा वडाध्यक्षको उप–चुनाव हुँदै छ । यसअघि वडाध्यक्ष रहेका कांग्रेसबाट निर्वा्चित रामबहादुर बोहराको हृदयाघातबाट मृत्यु भएपछि पद रिक्त भएको थियो ।
उप–चुनावमा नेका र नेकपाको प्रतिस्पर्धा छ । कांग्रेसबाट यसअघि वडाध्यक्ष विजयी भएका रामबहादुरका दाजु वीरबहादुर बोहरा उम्मेदवार छन् । नेकपाबाट यसअघि पराजित रमेशबहादुर खड्का पुनस् मैदानमा उत्रेका छन् । चुनाव प्रचार पनि तीव्र भएको छ । नेकपाका स्थायी कमिटी सदस्य भीम रावल चुनावी सभालाई सम्बोधन गर्न मेल्लेख पुगेका छन् । नेकाका पूर्वमन्त्री एनपी साउँद, प्रदेशसभा सदस्य रणबहादुर रावल, धनगढीका मेयर नृप बडलगायत चुनाव प्रचारमा खटेका छन् ।
मतदाताहरू भने पुरानै माग दोहोर्याइरहेका छन् । उनीहरू गाउँमा सडक, बिजुली, खानेपानीको माग गर्दै छन् । नेकपाका नेताहरूले पार्टी एकताको सन्देश दिनुपर्नेमा जोड दिइरहेका छन् । कांग्रेस नेताहरू नेकपाले राम्रो काम नगरेकाले कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताइरहको छन् । चुनावको तयारीपूरा भएको निर्वाचन अधिकृत गजेन्द्रप्रकाश थारूले बताए ।
यसैगरी बाजुराको त्रिवेणी नगरपालिका १ मा पनि उप–चुनाव हुँदै छ । कांग्रेसबाट निर्वा्चित भएका वडाध्यक्ष खम्म दमाईको जिप दुर्घटनामा मृत्यु भएपछि पुनस्चुनाव भएको हो ।
अहिले नेकपाबाट मिलन बुढा र कांग्रेसबाट खग्रेन्द्र चँदारा प्रतिस्पर्धामा छन् । राप्रपाबाट मीनबहादुर ढोली चुनावी मैदानमा छन् । यहाँ पनि कांग्रेस एमालेका नेताहरू चुनावी प्रचारमा खटेका छन् ।
सुदूरपश्चिममा डोटीको आदर्श २, अछामको मेल्लेख ५, बाजुराको त्रिवेणी नगरपालिका १ बाट ४ हजार ३ सय ३६ मतदाता छन् । यस्तै डोटीको आदर्श गाउँपालिका २ बाट २ हजार ४ सय ५९ मतदाता छन् । अछाममा १ हजार ९ सय ४ मतदाता छन् । यस्तै बाजुरामा १ हजार ३९ र कञ्चनपुरबाट १ हजार १ सय ९९ मतदाता छन् । सुदूरपश्चिमका यी ५ जिल्लाबाट १० हजार ९ सय ३६ मतदाताले उप–चुनावमा भाग लिने बताइएको छ ।
यता उप–चुनाव हुने दिन नजिकिदै जाँदा बैतडीमा पनि राजनीतिक दलहरूले प्रचार तीव्र बनाएका छन् । बैतडीका ३ स्थानीय तहका ३ वटा वडामा उप–चुनाव हुँदै छ । पुरचौडी नगरपालिकाको वडा ४, दोगडाकेदार गाउँपालिकाको वडा ४ र सुर्नया गाउँपालिकाको वडा १ मा उप–चुनाव हुन लागेको हो ।
सुर्नया १ का अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । यहाँ नेकपाबाट धनबहादुर चन्द र कांग्रेसका गजेन्द्रबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा यहाँ कांग्रेसका उम्मेदवार बिजयी भएका थिए ।
यस्तै दोगडाकेदार गाउँपालिका ४ का वडा अध्यक्ष मानबहादुर विष्टको हृदयातका कारण मृत्यु भएपछि उप–चुनाव हुन लागेको हो । अहिले यो वडामा मा ३ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राष्ट्रिय प्रजातन्त्रका देवसिंह खत्री प्रतिस्पर्धामा छन् । यो वडामा नेकपाका उम्मेदवार अघिल्लो चुनावमा विजयी भएका थिए ।
पुरचौडी नगरपालिका ४ का वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । त्यहाँ नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी रहेका उप–चुनावमा प्रतिस्पर्धामा छन् । चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ पनि अघिल्लो चुनावमा नेकपाकै उम्मेदवार विजयी भएका हुन् ।
उप–चुनावको चहलपहल विगतभन्दा बढी देखिएको छ । जिल्लाका चुनावी वडाहरूका दिनहुँजसो प्रचारका कार्यक्रमहरू चलिरहेका छन् । शीर्ष नेताहरू वडाका टोल–टोलमा पुगेका छन् । चुनावी प्रचारका लागि भोट माग्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सह–इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य विक्रम शाही, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, पूर्वसांसद एवं जिल्ला सह–इन्चार्ज पुरनसिंह दयाल, पूर्वसांसद रेणु चन्दलगायत नेताहरू दौडधुप गरिरहेका छन् ।
यस्तै बैतडीबाट निर्वा्चित संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसदहरू लिलाधर भट्ट र प्रेमप्रकाश भट्टसमेत प्रचारप्रसारका कार्यक्रमहरूमा ब्यस्त छन् । ‘नेताहरू खटिएका छन्,’ नेकपाकी जिल्ला सदस्य सरस्वती नेपालीले भनिन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, विकासको सहज पहुँच चुनावी ऐजेण्डा र मतदाताका मुख्य माग देखिएका छन् ।’
यस्तै कांग्रेसका शीर्ष नेताहरू पनि चुवानी अभियानका वडा–वडामा छन् । पूर्व सिँचाइमन्त्री एवं कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँद, पूर्वमन्त्री एवं केन्द्रिय सदस्य रमेश लेखक, पूर्व सांसद विनयध्वज चन्द, नरबहादुर चन्दलगाय शीर्ष नेताहरू आफ्ना उम्मेदवारलाई जिताउन मतदाताको घरदैलोमा छन् । उनीहरू नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै उनीहरूले अब आफ्ना उम्मेदवार जिताउनु पर्नेमा जोड दिइरहेका छन् । ‘लोकतन्त्रको संस्थागत विकास कांग्रेबाट मात्रै सम्भव छ,’ तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टले भने, ‘लोकतन्त्र र विकासका सवालहरू लिएर मतदातामाझ गएका छौं ।’
नेकपामा नेताहरू पहिलेको चुनावी माहोल उप–चुनावमा पनि देखाउन कस्सिरहेका छन् । कांग्रेसका नेताहरू अहिलेको सरकार असफल भएको आरोप लगाउँदै आफ्नो जित पक्का भएको दावी गरिरहेका छन् । पहिला जस्तो सबै ठाउँमा चुनाव नभएकाले फुर्स्दिला शीर्ष नेताहरू गाउँमा आएका स्थानीयको बुझाइ छ ।
मतदाताका माग भने अझै खानेपानी, सडक, स्वास्थ्य, शिक्षा नै मुख्य छन् । पार्टीभन्दा काम गर्नेलाई भोट दिने उनीहरू बताउँछन् ।
मतदातासामु पुरानै एजेन्डा
उप–चुनावको मिति नजिकिदै छ । मतदान हुन ३ दिन मात्र बाँकी छ । उम्मेद्वारहरू प्रचारमा जुटेका छन् । कञ्चनपुरमा पनि एक वडामा उप–चुनाव हुँदै छ । वडाध्यक्ष पदका लागि हुने उक्त चुनावमा उम्मेद्वारहरूले पुरानै एजेन्डा अघि सारेका छन् । पुनर्वास नगरपालिका ३ को वडाध्यक्षका लागि उप–चुनाव हुने भएको हो ।
उम्मेद्वारहरूले सडक खानेपानी र सिँचाइकै विषयलाई प्राथमिकतामा राखेका छन् । यहां नेकपा, नेपाली कांग्रेस, समाजवादी र राप्रपा पार्टीबाट उम्मेद्वारी परेको छ । उनीहरूले शैक्षिक सुधार, सिँचाइको व्यवस्था र सडक पुर्वाधारलाई विशेष जोड दिने प्रतिबद्धता गरेका छन् । उक्त वडामा नेकपा र कांग्रेसबिच नै प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ मा भएको स्थानीय तह चुनावमा उक्त वडाबाट तत्कालीन एमालेका फैरु तामाङ निर्वा्चित भएका थिए । तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि अध्यक्षको पद खाली भएको हो । ११ सय ९९ मतदाता रहेको उक्त वडामा उप–चुनावमा पनि नेकपा र कांग्रेसबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाबाट पूर्व एमालेका कृष्ण तामाङ र कांग्रेसबाट डीबी तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरू स्थानीय स्तरका नेतादेखि केन्द्रीय स्तरका नेतालाई बोलाएर मतदाता रिझाउन लागिपरेका छन् ।
नेकपाका सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लेखराज भट्टदेखि स्थानीय स्तरका नेताहरू प्रचारका लागि पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रय सदस्य एनपी साउँद पनि आफ्ना उम्मेद्वारको प्रचारका लागि पुगेका थिए ।
‘विद्युत, सिंचाई, सडक निर्माण र शैक्षिक सुधारमा मेरो विशेष जोड रहनेछ,’ नेकपा उम्मेदवार कृष्ण तामाङले भने, ‘यो वडा नगरपालिकाको मुटुमा पर्छ, यहांँ सडक बत्ती जडान गर्नेछु ।’ ४८ वर्षिय कृष्ण लामो समय शैक्षिक क्षेत्रमा रहेका उनी राजनीतिमा आएका हुन् । ‘अहिले सडक, खानेपानी तथा तटबन्धको ठेक्का आफन्तलाई दिने चलन छ’ कांग्रेसका उम्मेद्वार डिवि तामाङले भने, ‘यसमा पारदर्शिता गरेर विकास निर्माणलाई सहि गतिमा लैजानेछु ।’ ४६ वर्षिय डिवि युवा अवस्थादेखि नै कांग्रेस राजनीतिमा सक्रिय छन् ।कान्तिपुरबाट